बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्ष भन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार ३८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष यहाँ कुल ३४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार ६५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्ला भर २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकोमा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार ३८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।

यस वर्ष जिल्लामा २४ करोड नौ लाखभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उहाँको भनाइ छ । केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रकामा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम अन्तर्गत सुन्तला जोन घोषणा गरेर वर्षेनी सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताउनुभयो ।

भट्टराईले भन्नुहुन्छ, ‘बागलुङ मध्यपहाडी क्षेत्रमा पर्छ, यो क्षेत्र सुन्तला उत्पादनका लागि निकै उत्तम ठाउँ मानिन्छ, यहाँको हावापानी र माटो सुन्तला खेती कै लागि हो जस्तो लाग्छ, कृषक पनि निकै हर्षित हुनुहुहुन्छ, अघिल्लो वर्ष बोटमा किरा लाग्यो, उपचार पाएनन्, त्यसले गर्दा उत्पादनमा केही कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी उत्पादन भएको छ ।’

भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधी, मल र प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय कृषकहरु सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकुल खालको रहेको बताउनुहुन्छ ।

‘सुन्तला खेतीबाट कृषकलाई मनग्य आम्दानी हुन्छ, सुरुमा अलिकति मेहेनत गर्नु पर्छ, विरुवा हुर्के भने धेरै झण्झट गर्नु पर्दैन, फल दिने सुन्लताको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ,’ उहाँले भन्नुभयो, ‘कृषकहरुलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिक तथा परामर्श दिने गरेका छौँ, हरेक वर्ष जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढी रहेको छ ।’

बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले गत वर्ष डेढ लाखको सुन्तला बेचेको भन्दै अहिले साढे तीन लाख बढीको सुन्तला विक्री हुने बताउनुभयो । उहाँले गत वर्ष टिप्ने बेलाको सुन्तलामा किरा लाखेपछि नोक्सान व्यहोर्नु परेको भन्दै अहिले राम्रो भएको बताउनुहुन्छ । अहिले फल पनि पोटिलो र रसिलो रहेको उहाँको भनाइ छ ।

‘सिगानाका कृषकहरुले सुन्ताल धेरै उत्पादन गर्छौँ, तर मूल्य पाउँदैनौँ, आजभन्दा पाँच वर्ष अगाडि पनि सुन्तलाको मूल्य प्रति केजी पचास थियो, अहिले पनि त्यही छ,’ खड्काले भन्नुभयो, ‘कामदारको पारिश्रमिक बढेको बढेछ, कृषकले उत्पादन गरेको सुन्तलाको बढ्दैन, सरकारले बेलामाथि मल पनि दिँदैन, सरकारले केही सौलियत दिए अझै राम्रो गर्न सकिन्छ ।’

उहाँले १० वर्ष अगाडि सिगानामा चालिस हजार विरुवा लगाइएको भन्दै अहिले धेरै बोटहरुले फल दिन थालेको बताउनुभयो । आफ्नो सिगाना सुन्तला गाउँनै बनेको भन्दै यहाँका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी बोटबाटै सुन्तला खरिद गरेर लैजाने गरेको बताउनुभयो ।

स्थानीय कृषक देवबहादुर खड्काले यस वर्ष सिगाना गाउँमा गत वर्षको तुलनामा २५ प्रतिशत बढी सुन्तला उत्पादन भएको बताउनुभयो । उहाँले गत वर्ष सिंगो गाउँले सुन्तला बेचेर दुई करोड भित्राएको भन्दै यस वर्ष दुई करो ५० लाख बढी आम्दानी गर्ने अनुमान गरेको बताउनुहुन्छ ।

खड्का भन्नुहुन्छ, ‘अहिले सिगानामा मात्रै होइन जिल्लाको धेरै ठाउँमा सुन्तला उत्पादनमा वृद्धि आएको पाएका छौँ, एउटै बोटबाट चार÷पाँच क्वीन्टलसम्म सुन्तला फलेको छ, सुन्तला धेरै फलेर मात्रै के गर्नु उचित मूल्य पाउँदैन, तर अहिले गाउँमा साढे दुई करोड बढी सुन्तला विक्री गरेर आम्दानी हुने अनुमान गरेका छौँ, किनकी अहिले टिप्ने र बजारसम्म पु¥याउने काम भइरहेको छ ।’

खड्काले यहाँको सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडौ, पोखरा लगायतका ठूला सहरबाट व्यापारीहरु आउने गरेको बताउनुभयो । व्यापारीले बोटै खरिद गर्ने गरेको उहाँको भनाई छ । उहाँले केही सुन्तला कोल्डस्टोरमा राख्ने र फागुन चैतमा विक्री गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?