‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

रासस
रासस
Read Time = 5 mins

चितवन । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी नै पुग्दैनन् ।

पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन् । समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिने गरेको उहाँले बताउनुभयो । ‘पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्’, उहाँ भन्नुहुन्छ, ‘लाज नै यसको मुख्य कारण हो ।’ सानै उमेरमा विवाह गर्ने चलनले गर्दा कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जचाउन लाज मान्ने गरेको उहाँले बताउनुभयो । उहाँले विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने बताउनुभयो ।

वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत नै छ । ‘गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्’, जौगैराकी माया चेपाङ भन्नुहुन्छ, ‘म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।’ उहाँले अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको बताउनुहुन्छ । बेलैमा गर्भ नजचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उहाँले बुझ्नुभएको छ । ‘नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु’, माया भन्नुहुन्छ, ‘समयमै गर्भ जाँच नगराएका कारण मेरा पनि दुईवटा सन्तान जन्मिएर खेर गए । समयमै गर्भ जाँचेको भए समस्या पत्ता लाग्थ्यो कि भन्ने लाग्छ ।’ आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट बचाउन पनि समयमै जाँच गर्नुपर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

उहाँको जस्तै जौगैराकै शिला चेपाङको पनि समयमै गर्भजाँच नगर्दा एउटा वच्चा खेर गयो । स्वास्थ्यमा पटक–पटक समस्या देखिएको भन्दै उहाँले लाजका कारण स्वास्थ्यचौकी नजाँदा अहिले दुःख भोग्नुपरेको बताउनुभयो । उहाँले गाउँमा चेतनाको स्तर कम हुँदा धेरैले यस्तो समस्या भोग्नुपरेको बताउनुभयो । महिलासँगै पुरुषमा पनि प्रजनन स्वास्थ्यबारे जानकारी हुनुपर्ने उहाँको भनाइ छ ।

चेपाङ समुदायमा यो समस्या कायम रहेपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ । समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिनुभयो । ग्रामीण अल्ट्रासाउण्ड सुरू गरिसकेको जनाउँदै उहाँले गर्भ जाँच्न आउने महिलालाई कम्तीमा चार महिनाका लागि निःशुल्क क्याल्सियम उपलब्ध गराउने कार्यक्रम छिट्टै लागू हुने बताउनुभयो ।

गाउँपालिकाबाट टोलटोलमा पुगेर पनि स्वास्थ्य सेवा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा ‘चेपाङका लागि पोषण’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाले बताउनुभयो । सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?