चिसो बढेसँगै बेसी सार्न थालियो चौँरी र भेडीगोठ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौँरी र भेडी गोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौँरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ ।

मुस्ताङको थासाङ, नीलगिरि साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौरी, रघुगंगा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकका न्यानो क्षेत्रमा झारिएको हो ।

मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौंरी र भेडा गर्मीमा लेक र जाडोमा बेँसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौँरी र भेडा पालन गर्दै आएका मुस्ताङको मुली, बतासे क्षेत्रका चौंरी नाउरीकोट, बोक्सी खोलाका चौंरी पालक कृषकहरूले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, नीलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कहरूमा लैजाने गर्छन् भने जाडे सुरु भएपछि बेँसी झार्ने गर्दछन् ।
मुस्ताङका चौँरी पालक कृषक शहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौरीलाई नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

यता, म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीहरूलाई लरेनी क्षेत्रमा ओरालिएको चौँरी पालक कृषक सोभित खोरजाले बताउनुभयो । अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी (लेक) फर्काइने उहाँको भनाइ छ । ‘चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानहरूले गुनासो गरेका छन् । सामुदायिक वन उपभोक्ता समूहले बन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ’ खोरजाले भन्नुभयो, ‘लेकाली क्षेत्रमा चरनको समस्या छैन,तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको संख्या कम हुँदै गएको छ ।’

त्यसैगरी, मुस्ताङको मुली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेसीतिर झार्छाैं गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौं । जाडोले पशुचौपाया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो ।’ गौचन जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन् । यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौँरी तथा गाइभैँसी पाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज