हलेसी कात्तिकेमा फस्टाउँदै कपास खेती

चिसाङ शेर्पा खोटाङ, संवाददाता

कात्तिकेमा कपास टिप्दै स्थानीय महिलाहरू, साथमा मेयर विमला राई । तस्बिर सौजन्यः राजकुमार भट्टराई ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित कात्तिकेमा मनग्गेरूपमा कपास खेती फस्टाउँदै गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको अनुदानबाट दुई वर्षअघिबाट सुरु भएको कपास खेती अहिले रहरलाग्दो रूपमा फस्टाउँदै गएको हो ।

महादेवस्थानस्थित साबिकको ६ र ९ नम्बर वडामा करिब ६० घरपरिवारको ८० रोपनी जग्गामा कपास खेती गरिएको छ । त्यहाँको कपास खेतीलाई निरन्तरता दिनकै लागि चालु आर्थिक वर्षमा पनि नगरपालिकाले २० लाख बजेट पनि विनियोजन गरेको छ । कपास उत्पादन गरेर स्थानीयले सिरानी, डस्ना, सिरक, लाखबत्ती बनाउने गरेका छन् ।

पुर्खाको पालामा यस क्षेत्रका धेरै स्थानमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको पुर्खाहरूको भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण/प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व भएकाले बजेट विनियोजन गरेरै कपास खेतीलाई निरन्तरता दिइएको मेयर बिमला राईले बताउनुभयो ।

ADVERTISEMENT

‘म नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा विभिन्न समूहमार्फत् थोरै जग्गामा कपास खेती सुरु गरेका थियाँै । अहिले करिब ८० रोपनी जग्गामा कपास खेती भइरहेको छ,’ मेयर राईले भन्नुभयो, ‘पछिल्लो समय रोजगारी गर्न धेरै मानिसहरू विदेश जान्छन् तर हाम्रो पुख्र्यौली पेशाबाट पनि हामीले जीविकोपार्जन गर्न सक्छौँ भन्ने सोचले पुख्र्यौली पेशाबाट कृषकलाई आत्मनिर्भर बनाउन कपास खेतीलाई प्राथमिकता दिएका हौँ ।’

सुरुमा कपास खेती गर्न नजान्दा रोग लागेर समस्या भए पनि अहिले सहज भएको कपास खेती गरिरहनुभएका गंगा राईले बताउनुभयो । कपास उत्पादन गरेर सिरानी, डस्ना, सिरकलगायतका सामग्री बनाइरहेको जुना राईले बताउनुभयो । विस्तारै खाँडीको कपडा बुन्ने योजना रहेको उहाँहरूको भनाइ छ । नगरपालिकाले पनि खाँडीको कपडा बुन्ने तालिम आयोजना गर्ने योजना बनाएको मेयर राईले जानकारी दिनुभयो ।

उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनेर दौरासुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री गर्दै आएको स्थानीय जुनासरी राईले बताउनुभयो । त्रि-धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउनुहुन्छ । स्थानीयले जति कपास उत्पादन गरे पनि मन्दिरमा पूजाआजका सामग्री निर्माणमा गर्न खपत हुने गिरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?