काठमाडौं । भारतको आइटिसी ग्रुप अफ होटलअन्तर्गतको फर्च्युन होटलले नेपालमा पनि सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमबीच भक्तपुरमा फच्र्युन रिसोर्ट एण्ड वेलनेस स्पा उद्घाटन गर्दै होटलका सञ्चालकहरूले अग्रणी होटल ब्राण्डका रूपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रा थप अघि बढाउने विश्वास व्यक्त गरे । फच्र्युन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भन्नुभयो, ‘नयाँ आर्थिक वर्ष ०८१/०८२ को सुरुवातमै फच्र्युन रिसोर्ट एण्ड वेलनेस स्पा उद्घाटन गर्न पाउँदा हामी निकै खुसी छौँ ।
भारतबाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्युमा पहिलो शाखा सुरुवात नेपालमा गर्न पाउँदा हर्षित छौँ । दक्षिण एसिया र नजिकका अन्य देशमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ । आजको उद्घाटन हाम्रो यात्राको नयाँ कोशेढुंगा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य जस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ । त्यसैले हामी हाम्रो सञ्जाल प्रयोग गर्दै फच्र्युन होटलका सुविधाहरू नेपाल ल्याउन चाहन्छौँ ।’
हिलटेक हेल्थ एण्ड होम्स प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दै गर्दा सांस्कृतिकरूपमा धनी साथै संगीत तथा नृत्य केन्द्रका रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ । विश्वकै अग्लो शिवमूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकको वेल-बिइङ र स्पा अनुभव अझै सुदृढ गर्नेछ ।’







Breaking news with related posts