सिन्धुलीमा जुनार पाकेर पहेँलपुर, किसानलाई भन्दा व्यापारीलाई चटाराे

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 8 mins

सिन्धुली । बारी र बगैँचामात्र होइन, जिल्लाका मुख्य चोक र बजार पाकेका जुनारले पहेँलपुर भएका छन् । किसानलाईभन्दा व्यापारीलाई किनबेच गर्न भ्याईनभ्याई छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनारलाई प्रमुख प्राथमिकताका साथ बिक्रिका लागि राखिएको देखिन्छ ।

वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबार समेत राम्रो भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिनुभयो । जुनार व्यापार गरेको १५ बर्षे अनुभव उहाँसँग छ । उहाँकाअनुसार यहाँ सुन्तला अलिकम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ ।

अघिल्ला बर्षहरुमा भदौँदेखि बेच्ने गरेको भएपनि यसबर्ष स्थानीय सरकारले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि पाकेको जुनार बजारमा आएको उहाँले बताउनुभयो । ‘जुनारबाट बेफाईदा छैन, किन्नेको स्वास्थ राम्रो बन्छ, बेच्नेको व्यवसाय जम्छ,’ व्यवसायी थापामगरले भन्नुभयो, “सकुन्जेल जुनारकै व्यापार गर्ने हो ।’’

पुर्वी तराईबाट बिपि राजमार्ग हुँदै काठमाडौं आवातजावत गर्ने यात्रुहरु जुनारको मुख्य ग्राहक हुन् । यहाँको रसिलो फल जुनारलाई मुख्य कोशेलीका रुपमा किन्ने स्थानीय व्यापारी लक्ष्मी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ विशेषगरी काठमाडौँ जाने यात्रुहरु धेरै जुनार किन्छन् । गाडीमा टाढादेखि आएकोहरु जुनार साँधेर खान्छन् ।’

उहाँले एकैदिनमा पचास हजारसम्मको जुनार बिक्री गर्नु भएको छ । कहिलेकाँही भने पाँच सयमा मात्र चित्त बुझाउनु पर्ने अवस्था हुने उहाँले सुनाउनुभयो । जुनार ठेकेदारसँग किन्दा अलिमहँगो पर्छ, सिधै किसानसँग किन्दा फाइदा हुन्छ । जुनारको राम्रो व्यापार भएको दिन खर्च कटाएर ५–१० हजारसम्म बच्ने उहाँको भनाई छ । कात्तिकदेखि खान योग्य भएर जुनार बजारमा आउँछ । कोल्ड स्टोरमा राखेको जुनार बैशाखसम्म बेच्न सकिने उहाँले बताउनुभयो ।

१६ बर्षदेखि यहाँ जुनार बेच्दै आउनु भएकी रत्नकुमारी मगरले उपभोक्तालाई उद्दृत गर्दै सिन्धुलीको जुनारको स्वाद उत्कृष्ट रहेको दाबी गर्नुभयो । ‘यहाँको जुनार चिन्न सजिलो छ,’ उहाँले भन्नुभयो, ‘बोक्रा पातलो, खाँदा उत्कृष्ट स्वाद पाइन्छ ।’

ADVERTISEMENT

कतिपय विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीमै उत्पादन भएको जुनार भनेर बेच्ने गरेकाले यहाँको मौलिक फलमा असर परेको समेत उहाँले सुनाउनुभयो । जुनार व्यापारी तथा व्यवसायी मगर खाईखर्च कटाएर बर्षको एक लाख बचत गर्नुहुन्छ ।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मुल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारिले ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १२० रुपैयाँ किलोसम्ममा जुनार बिक्री गदैँ आएका छन् ।
गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका किसान नविन हायुले जुनार बेचेर यसबर्ष ७ लाख २० हजार आम्दानी भएको बताउनुभयो । उहाँले एक हजार पाँच सय बोटबाट उत्पादन भएको जुनार बिक्री गरिसक्नुभएको हो ।

‘अन्नबाली लगाउँदै आएको खेतमा जुनार खेती गरेका छौँ, यसैमा फाइदा छ,’ किसान हायुले भन्नुभयो, अर्कोसाल २० लाखको जुनार उत्पादन गर्ने लक्ष्य छ ।’
किसानको बोटमै गएर ठेकेदार तथा व्यापारीले राम्रो मुल्य दिन थालेपछि जुनार खेतीबाट किसानको जिवनस्तर उकासिदै गएको छ । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नु पर्ने झन्झट नभएको उहाँले बताउनुभयो ।

सिन्धुली र जुनार एक अर्काको पर्यवाची जस्तै भएको छ । यहाँका फलफुल पसलमा बाहेक अन्यत्र सडक, चोक र बजारमासमेत जुनार सजाएर बेच्न राखिएको भेटिन्छ । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनार जुसको प्रयोग बढ्न थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुसपनि अत्यन्त स्वादिलो र गुणस्तरीय भएकाले ग्राहकहरु काठमाडौं, जनकपुर र विराटनगरदेखि खरिद गर्न आउने गरेका छन् ।

विगतका वर्षमा जुनारमा फल कुहाउने, औषा पार्ने झिगा ‘चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स’ प्रकोप देखिएको थियो । किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख रमेश हुमागाई बताउनुभयो ।
जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती भइरहेको छ । यहाँबाट ९ हजारभन्दा बढी मेट्रिकटन जुनार उत्पादन हुँदै आएको छ । पुर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती अझ विस्तार गर्नुपर्ने सरोकारवालाहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज