मरिणका १०३ घरमा खानेपानीको धारा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-३ चनौटेका स्थानीयबासीको घरघरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका १०३ घरमा खानेपानीको सुविधा भएको हो । वर्षौंदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घरघरमा धार विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दंग छन् । उपभोक्ता तथा स्थानीयवासी बिमला तमाङले अहिले घरको चुल्होमा नै खानेपानी पुगेको महसुस भएको बताउनुभयो ।

‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले वर्षौंदेखिको खानेपानीको प्यास मेटिएको छ ।’ आफँैलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उहाँले सुनाउनुभयो ।

मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घरघरमा पुगेको हो । २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माण कार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो । ६२ लाख १८ हजार ८६८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधाबाट उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार मरिण खोलानजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट घरघरमा खानेपानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको ईनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उहाँले बताउनुभयो । ‘निःशुल्क खानेपानी हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो, ‘त्यहीअनुरूप गाउँपालिकाले काम गरिरहेको छ ।’

उक्त खानेपानीको आयोजना धेरै मिहिनेत र लागतमा निर्माण भएको उहाँले स्मरणसमेत गर्नुभयो । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफँै सचेत रहनुपर्नेमा उहाँको जोड छ । वडा अध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दा मात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाई सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाउनुभयो ।

गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक-पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भए पनि हाल आएर घरघरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी संकलन गर्न दुई घण्टा खर्चिनु पर्दथ्यो । अहिले घरघरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहणी महिलालाई सहज र सुख भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज