रूपक अलङ्कार अनि विश्रान्त महाकाव्य

डा. नारायण चालिसे

उनको औपचारिक नाम के हो मलाई अहिले पनि थाहा छैन । साहित्यमा रूपक अलङ्कार नाम सुन्दै पहिलो प्रभाव प¥यो । यही नाम पूर्ण लाग्यो पूरा नाम बुझ्ने प्रयासैै गरिन । नाम प्रिय अनि मानिस पनि उस्तै प्रिय । अत्यन्तै थोरै बोल्ने, साँवलो वर्ण, सुकुमार नवयुवक, अत्यन्त स्नेहिल । श्रद्धाले हेरेर मुसुक्क मुस्कुराउँछन् र अघि बढ्छन् । ती युवक त्यसरी नै धेरै वर्ष मेरा दृष्टिमा पर्छन्, आउँछन्, हराउँछन् । उनी कविता, गजल आदि लेख्छन् भन्ने सुनेको छु तर पढेको छैन । वर्षहरू यसरी नै बित्दै गए ।

उनको आफ्नो सर्कल छ त्यसमा उनी अलि बढी खुल्दा हुन् तर म त्यो सर्कलमा छैन अनि मसँग खुलेका पनि छैनन् । क्याम्पस आउँछन्, भेट हुन्छ अत्यन्त छोटो संवादमा उनको र मेरो भेट सकिन्छ । बाहिर खास प्रकट नहुने उनी भित्रभित्रै केही गरिरहँदा रहेछन् । यस्तै चलिरहृयो । उनलाई देख्दा र भेट्दा एक प्रकारको सन्तोष मिलेजस्तो हुन्छ मलाई तर त्यो सन्तोषले धित मार्न पाउँदिन । उनी उठेर कतै हिँडिदिन्छन् म कतैतिर लाग्छु । यस्तैमा एक दिन एउटा निमन्त्रणा पत्र आउँछ म्यासेन्जरमा उनैले लेखेको ‘विश्रान्त’ महाकाव्यको लोकार्पण हुँदैछ एकेडेमीमा आउनुहोला भनेर । म केही छक्क पर्छु ठिटा त महाकाव्य नै लेख्ने भइसकेका रहेछन् ।

महाकाव्य हुन अब प्रख्यात वंशको कथा हुनु पर्दैन तर कथा प्रख्यात भएको राम्रो मानिन्छ । यो महाकाव्य प्रख्यात कथामा आधारित छ । दश वर्षसम्म नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि पक्षलाई गहिरो गरी प्रभाव पारेको विषय, घटना र पात्रहरू यस महाकाव्यको आख्यान हो ।

महाकाव्य भन्ने बित्तिकै यो लर्तरो ज्ञान र प्रयत्नले लेखिने कुरा होइन भन्ने लाग्छ मलाई । कार्यक्रममा जाने रहर हुन्छ । जाने प्रण पनि गरेँ तर संयोग त्यही दिन अर्को उस्तै र अझ मेरा लागि आफैँले भूमिका निर्बाह गर्नुपर्ने कार्यक्रम आइलाग्छ । उनको कार्यक्रममा जान भ्याउँदिन थकथक हुन्छ । सँगै काम गर्ने र सधैँ भेट हुने हो । क्याम्पसमा भेटेर कम्तीमा बधाई दिउँला र पुस्तक पढ्ने इच्छा पनि जाहेर गरुँला भन्ने लागेर चित्त बुझाएँ । क्याम्पसमा भेट भयो मैले आफ्नो असमर्थता प्रकट गरेर बधाई तथा शुभकामना दिएँ र पुस्तक पढ्न पाउनुपर्ने इच्छा पनि जाहेर गरेँ ।

उनले पुस्तक प्राप्तिको स्रोत पनि बताए । कुरा सकिए तर के मिलेन पुस्तक पढ्ने योग जुरेन । केही समयपछि एक दिन भेट हुँदा मैले पुस्तक किनेर पढिन भन्ने जानेरै हो वा कसरी हो उनले ‘तपाईंले त्यति भनेपछि त पुस्तक त दिनै प¥यो’ भन्दै झोलाबाट पुस्तक निकालेर दिए । मैले उपहार भनेर लेख्न अनुरोध गरेँ उनले पनि आज्ञाकारी बालकजस्तो गरी ‘आदरणीय नारायण सरलाई हार्दिक उपहार, रूपक अलङ्कार’ लेखेर दिए । खासमा मैले उनको किताब किनेरै पढ्न सकेको भए पनि हुन्थ्यो । कम्तीमा चिनेको लेखकलाई केही त सहयोग अवश्य हुन्थ्यो ।

तर, खोइ कस्तो मनोविज्ञानले काम गरेर हो हिजोआज यत्तिको लेख्छ भन्ने थाहा पाएकाले एउटा पुस्तक समीक्षार्थ भनेरै दिए पनि त हुन्छ भन्ने लाग्न थालेको छ । उनमा पनि यही चेतनाले काम ग¥यो कि के भयो मैले पुस्तक किन्ने कुरालाई प्राथमिकतामा राखिन । अब पुस्तक पाएको थिएँ पढ्नको निम्ति नैतिक दबाब बढेको थियो । जति मिठो छ नाम त्यत्तिकै मिठो लाग्यो काव्य पनि । लोभलाग्दो शब्दसंयोजन र कवित्व कला रहेछ । अड्कलेर बोलेजस्तै तौलेर शब्द राख्ने र सिँगार्ने कला रहेछ उनमा । यो विज्ञापनको दुनियाँमा पनि पुस्तकमा फोटो राख्ने रहर गरेनछन् झन् राम्रो लाग्यो । अलङ्कारबाट अहङ्कारको चोइटो झारेर उनले आफूलाई दृष्टान्त बनाएछन् ।

अरू धेरै क्षमताहरूका साथमा महाकाव्य पढ्न त्यत्तिकै धैर्य र समय पनि चाहिन्छ । आजको ब्यस्त समयबाट महाकाव्यलाई समय छुट्याउन त्यति सजिलो हुँदैन । त्यसमाथि आदि अन्त्य महाकाव्य छिचोलेर धारणा बनाउनु र लेख्नु दुवै चुनौती नै हुन् । महाकाव्यको शीर्षक विश्रान्त छ । बिसाउनु, आराम लिनु विश्रान्तीमा पुग्नु, थाक्नु वा क्लान्त हुनु आदि अर्थ हुन सक्छन् विश्रान्तका । यत्रो काव्य कुन टुङ्गोमा पुगेर बिसाइए होला ? र के सन्देश दिएर बिसाए होला ? भन्ने जिज्ञासा बढ्दै जानु र महाकाव्यले गति लिँदै जानु सँगै हुन्छ । पढ्न थालेपछि निरन्तर काव्यले तानिरहन्छ । सायद यही नै असल कृतिको गुण पनि हो ।

महाकाव्य हुन अब प्रख्यात वंशको कथा हुन पर्दैन तर कथा प्रख्यात भएको राम्रो मानिन्छ । यो महाकाव्य प्रख्यात कथामा आधारित छ । दश वर्षसम्म नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि पक्षलाई गहिरो गरी प्रभाव पारेको विषय, घटना र पात्रहरू यस महाकाव्यको आख्यान हो । एकजना योद्धाका मुखबाट युद्धको अवस्था र परिस्थितिको बयान भएको यस काव्यमा म पात्र र साधुको भूमिका रहेको छ भने प्रासङ्गिक कथालाई अन्य पात्रहरूले पनि लिएर हिँडेका छन् । महाकाव्यको सैद्धान्तिक मान्यताअनुसार नै मंगलाचरणबाट महाकाव्यको थालनी भएको छ ।

आफ्नै पवित्र मातृभूमिको विराट् आध्यात्मिक, भौतिक, प्राकृतिक, भौगोलिक वैभवगाथा अनि यहीँका अनगिन्ती स्तुत्य तीर्थहरूको बन्दना र अर्चना गरेर थालिएको महाकाव्यमा म पात्र प्रस्तोता रहेको पाइन्छ । प्रजातन्त्रको पुनर्बहालीपछि पनि देशको विद्यमान राजनीतिक परिस्थितिबाट जनताको समस्याको सम्बोधन हुन नसकेको भनी असन्तुष्ट रहेको राजनीतिक पार्टीबाट सशस्त्रयुद्धको थालनी भएको र त्यही अवस्थामा कुनै गाउँको शिक्षित सचेत युवक पनि उक्त युद्धमा सामेल भएको विषयबाट कथावस्तु थालिएको छ ।

र, म पात्रको जिज्ञासामा उसैले यो काव्यको सबै घटनाको वर्णन गरेको छ । नेपालको सन्दर्भमा योद्धाहरूको कोणबाट हेर्दा महान् सशस्त्रयुद्ध वा जनक्रान्ति र अनि तत्कालीन सत्ताका दृष्टिले हेर्दा हिंसात्मक आतङ्क भनेर परिभाषा गरिएको दश वर्षे युद्धका घटना र परिघटनालाई आधार बनाएर यो महाकाव्य लेखिएको छ । सशस्त्रयुद्ध थियो कि हिंसात्मक आतंक भन्ने कुरालाई दुवै पक्षले राम्ररी जस्टिफाइ गर्न सकेका छैनन् अझै । युद्धले जसलाई असर ग¥यो उनीहरूको दृष्टिबाट अझैसम्म पनि हेर्न र परिभाषित गर्न सकिएको छैन ।

एउटा भयानक समय आयो तर्सायो र गयो, अहिलेसम्म सर्वसाधारणले बुझेको यत्ति हो । विनासका कथा र विकासका ललिपप बाँडिदै छन् तर लक्षित वर्ग हिजो पनि टाढै थियो र आज पनि टाढै छ । मात्र उसको कर्तव्य कुर्वानी दिनु हो शरीरले वा मनले उसले दिइनै रहेको छ । कति आकर्षक छन् विकासका नारा अनि त्यत्तिकै हृदयविदारक छन् भोगाइ र अनुभूतिहरू । युद्धलाई पनि सत्ताको सिँढी बनाएपछि क्रान्तिकारीहरू झस्किए । कोही किनारा लागे कसैले रङ्ग बदले गेरु पहिरिए । अझै पनि विश्वासको मझेरीमा सपनाको फूल फुलाउन भने छोडेका छैनन् ।

हामी बिर्सिदिन्छौँ धेरै कुराहरू र अहिलेसम्म शासकहरूले शासन गर्न पाइरहेका छन् हामी माथि । क्रान्तिको दर्शन भनौँ या युद्धको मार्ग जसले सबैखाले समस्याहरूको समाधान देखाएको थियो आज स्वयं किनारा लागेको छ । र, जसले आज शासनमा हिस्सेदारी गरिरहेको छ तिनका बीचमा पटक्कै तालमेल छैन । कसरी विश्रान्ति लिन्छ क्रान्तिले हेक्का हुँदैन । कति सुन्दर थियो माओवादको भाष्य र कति सम्मोहक थियो सशस्त्रयुद्धको भाषा । त्यसै होमिएका कहाँ हुन् र नागरिकहरू । यति छिट्टै आफन्तका अनुहारहरू बिर्सिएर सत्तासीन बनेको छ समय ।

ADVERTISEMENT

शोषित उत्पीडित जनताहरू न क्रान्तिमा अटाए न शान्तिमा अटाए केवल साधनमात्र बने । जनताका समस्या ज्यूँका त्यूँ छन् । युद्ध केका निम्ति भयो शान्तिसम्झौताले के दियो ? जनताले केही बुझेनन् । युद्ध र शान्तिको परिभाषा अवश्य फरक हो तर यति हो सम्झौतापछि गरिखानेहरूले पाखुरो बजार्न पाए । युद्धको अन्त्य अनि शान्ति सम्झौता भनिएको परिस्थिति पछि युद्ध, क्रान्ति, लडाइँ, आन्दोलन वा हिंसा समाप्त भइसकेको अवस्था र त्यसले लिएको गति वा रूपान्तरणको अवस्थापछिको एकजना योद्धाको मनोविज्ञान यस महाकाव्यको मूल विषय बनेको छ ।

म पात्रका सामु एकजना कृशकाय साधु उपस्थित हुन्छ । उसलाई देखेर म पात्रलाई उसका बारेमा केही जान्ने उत्सुकता बढ्छ र उसले उक्त साधुलाई आफ्नो परिचय भन्न आग्रह गरेपछि उक्त साधुले आफ्नो जीवनका यावत् घटना र परिघटना भन्ने क्रममा सशस्त्रयुद्धको वयान गर्न थाल्छ । सशस्त्रयुद्धमा सामेल भएर युद्ध गरेको एकजना सिपाही आज त्यस्तो साधुको भेषमा उपस्थित भएको पाएपछि उसको विषयमा जान्ने अभिलाषा राखेर पुजारीले पटकपटक प्रश्नहरू गर्दै जान्छन् र साधुले आफ्ना विषयका सबै घटनाहरू बताउँदै जान्छन् ।

यस क्रममा सशस्त्रयुद्धमा प्रवेश हुनुपूर्वको आफ्नो अवस्था, पहिरोमा परी बाबुको मृत्यु भएको कुरा, आफू काठमाडौंमा आएर उच्च शिक्षा हासिल गरेको कुरा, गाउँ फर्केर खेतीमा समेल भएको कुरा, प्रेममा परेर प्रभासँग बिहे गरेको कुरा, यस्तैमा सशस्त्रयुद्धले आकर्षण गरेका कुरा, युद्धमा सामेल भएर जोखिमपूर्णयुद्ध लडेका कुरा, युद्धमा घाइते भई उपचार गर्दाका कुरा, त्यही क्रममा सशस्त्रयुद्धमा सरिक एउटी योद्धा चेतनासँग पुनः प्रेममा परेको कुरा, घरमा पहिल्यै बिहे गरेकी श्रीमतीतिरबाट छोरो जन्मिएको कुरा, सरकारी यातना सहेका कुरा, युद्ध समाप्तिपछि पार्टी सत्तामा पुगेको कुरा, सत्ताले स्वार्थको बाटो लिएपछि जनआकाङ्क्षा अनुरूप काम हुन नसक्दा जनगुनासो बढेका कुरा, कतिपय योद्धाहरूले अझै क्रान्तिले उचाइ लिनै बाँकी छ भनेर जंगल नै रोजेको कुरा र तुफानजस्ता योद्धाहरूले पार्टीपंक्ति छाडेर गेरुवा पहिरन बाध्य भएका यावत् कुराहरू काव्यमा गरिएको छ ।

परिवर्तन भयो भनियो पद्धति फेरिएन । क्रान्तियुद्ध सकिए पनि शान्तियुद्ध बाँकी नै रहृयो । मान्छे फेरिए प्रवृत्ति फेरिएन, कुर्सी फेरिए, मानिस फेरिए तर नियत फेरिएन । सशस्त्रयुद्ध लेख्न त गाह्रो छ भने भोग्न त झनै कति गाह्रो होला । युद्ध गर्ने र युद्ध भोग्ने दुवैतिरका घटना दर्दनाक छन् । नेपालको इतिहासमा अत्यन्त गहिरो घाउ छोडेर युद्धले विश्रान्ती लिएको छ । युद्ध बिसाएको साधु क्लान्त छ । उसँग युद्धले मात्र विश्राम लिएको छैन विचार, दृष्टि र दर्शनले पनि विश्राम लिएको छ जुन कुरा त्यति सुखद छैन । यद्यपि साधुले उत्साहका कुरा गर्न छाडेको छैन तर उसको गन्तव्य के हो भन्ने कुरा सर्वथा अनिश्चित भएको छ ।

ऊ निराश छ, व्यथित छ, पश्चातापले ग्रस्त छ । आत्मग्लानीले उसलाई पोल्न थालेको छ । पाउनको निम्ति सारा संसार छ गुमाउनको निम्ति केवल एउटा शरीरमात्र हो भनेर लागेको ऊ अधुरैमा क्रान्तिलाई बिसाएर सत्तारोहणमा सामेल भएको छ । यसरी निष्कर्षमा नपुगी क्रान्तिलाई विसर्जन गराएको भन्ने गुनासो जति प्रिय छ त्यसभन्दा धेरै अप्रिय युद्धको अवस्था र त्यसका परिणाम हुन्छन् भन्ने कुरा त्यत्तिकै चेटिलो छ । युद्धरत पक्षका अत्यन्त मिहिन कुराहरूको बयान काव्यमा गरिनु र युद्धको महिमागान गरिनु यस काव्यका शक्ति र सीमा दुवै हुन् ।

लेखक क्रान्तिका प्रति हदैसम्म सकारात्मक र आस्थावान् हुँदाहुँदै पनि कविले क्रान्तिको रूप फेर्नुपर्ने कुरा गरेर सुरक्षित अवतरणतर्फ सङ्केत पनि गरेका छन् । परिवर्तित परिस्थिति देश र जनताको पक्षमा हुन नसक्नु अवश्य पनि दुःखको कुरा हो । तापनि अझै पनि आशा र विश्वास राखिनु यस काव्यको प्रगतिशील पक्ष हो । काव्यमा युद्धरत पक्षले देखाएको उत्साह, उनीहरूको आत्मविश्वास, उनीहरूले पाएका यातनाका कुरा यति राम्ररी वर्णन गरिहँदा युद्धरत पक्षबाट भएका कतिपय अमानवीय कर्महरूप्रति उदासीनता देखाइएको छ जुन कुरा यस काव्यको सीमा हो ।

निष्कर्षमा काव्यले शान्तिको कामना गरेको छ र रूपान्तरणको निम्ति क्रान्तिको रूप परिवर्तनको कुरा गरेको छ । निश्चय पनि युद्धको अन्त्य पनि छैन, समस्याहरू सनातन छन् । तिनको पनि अन्त्य छैन तर यसो भनेर हामीले हिँड्न छाड्नु हुँदैन । महाकाव्यले केही रैथाने प्रश्नहरूलाई दोहो¥याएको छ । यद्यपि स्रष्टा मनीषी हो । उसले संसारलाई आफ्नै आँखाले हेर्ने अधिकार राख्छ । आफ्नै विचारले रङ्ग्याउने अधिकार पनि राख्छ । तर कहीँ न कहीँ स्रष्टाको अनुहार सिर्जनामा देखिएकै हुन्छ । काव्यले युद्धको कलात्मक वर्णन गरेको छ जसले काव्यकारको वैचारिकी यसैप्रति सहानुभूतिशील हो कि भन्ने पनि लाग्छ ।

शास्त्रीय वार्णिक छन्दहरूको सुन्दर प्रयोग काव्यमा भएको छ । अनुष्टुप, मालिनी, उपजाती, भुजङ्गप्रयात, पञ्चचामर, उपजाति, स्रग्विणी, वसन्ततिलका, शालिनी, तोटक, रथोद्धता, शार्दूृलविक्रीडित र शिखरिणी छन्दको साधिकार प्रयोग काव्यमा गरिएको छ । उपमा, उत्प्रेक्षा, रूपक, स्वभावोक्ति जस्ता अलङ्कारहरूले काव्यलाई सुशोभित गरेका छन् ।

शान्तियुद्ध वा क्रान्तियुद्ध केही त हुनैपर्छ परिवर्तनको निम्ति भन्ने शीर्ष चेतनाले कवि प्रभावित छन् भन्ने बुझ्न भनेँ त्यति गाह्रो पर्दैन । समस्याको सम्बोधन केही भयो होला र केही हुँदै होला तर बन्दुकले विश्राम लिएको यो विश्रान्त समय धेरैका निम्ति सन्तोषको विषय अवश्य बनेको छ । काव्यमा युद्धरत पक्षको मनस्थिति, युद्धप्रतिको विश्वास, परिवर्तनपछिका सपना युद्धमै पनि मानवीय चेतना, प्रेम, अनुराग र समर्पणको भाव जस्ता कुराहरू जसरी देखाइएको छ ती कुनैले पनि चित्तबुझ्दो निकास पाउन सकेका छैनन् जुन कुराले युद्ध नै समाधान थियो त ? भन्ने प्रश्न छोडेर गएको छ ।

युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन् भन्ने कुरा महाकाव्यले देखाएको छ । मानिसको मनले क्रान्ति वा शान्तिलाई पनि बुझ्दैन । प्रेमको भाषा प्रेमीले बुझ्दछ युद्धले बुझ्दैन भन्ने कुरा बडो पेचिलो बनेर आएको छ । धेरै पाएर पनि केही नपाउनुको सरह भएर योद्धाले गेरु पहिरनु यसको ज्वलन्त दृष्टान्त हो । आखिर मानिस, मानिस नै हो । जे जस्ता उपाधिहरूले सजियोस् ऊभित्र पनि कोमल र कमजोर मानिस पनि अटाएकै हुन्छ । जुन समय आउँदा प्रकट हुन्छ भन्ने कुरा पनि काव्यका विभिन्न घटनाहरूले जनाउ दिएका छन् ।

शास्त्रीय वार्णिक छन्दहरूको सुन्दर प्रयोग काव्यमा भएको छ । अनुष्टुप, मालिनी, उपजाती, भुजङ्गप्रयात, पञ्चचामर, उपजाति, स्रग्विणी, वसन्ततिलका, शालिनी, तोटक, रथोद्धता, शार्दूृलविक्रीडित र शिखरिणी छन्दको साधिकार प्रयोग काव्यमा गरिएको छ । उपमा, उत्प्रेक्षा, रूपक, स्वभावोक्ति जस्ता अलङ्कारहरूले काव्यलाई सुशोभित गरेका छन् । सर्गान्तमा छन्दपरिवर्तन र भावी सर्गको कथाको सूचना गर्ने काम पनि काव्यमा भएको छ । जम्मा तेह्र सर्गमा एघार सय चौँतीस श्लोकमा संरचित यस महाकाव्यले नेपाली महाकाव्य विधामा जोडदार उपस्थितिको दावी प्रस्तुत गरेको छ । यति सुन्दर कृतिका लागि महाकाव्यकार रूपक अलङ्कार धन्यवादका पात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?