बागलुङ । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काई साइक्लिङको अवलोकन गरिराख्नु भएको छ ।
दुईपटक त उहाँले बञ्जी जम्प गरिसक्नु भयो । परिवारसहित घुम्न आउनुभएका घिमिरेको अझै केहीदिन यहाँ रमाउने योजना छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यमहरू धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउनुहुन्छ । हेटौँडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ ।
घिमिरे भन्नुहुन्छ, ‘म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जी जम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाग्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ भएको थियो, यहाँ आएपछि रिफ्रेसमेन्ट भएको छ, यो हाम्रो पारिवारीक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँहरू अवलोकन गरेर फर्किनेछौँ ।’
चितवनदेखि बञ्जी जम्प गर्न बागलुङ आउनुभएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जी जम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो, ‘बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदो रहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।’
उहाँले योभन्दा होचो स्थानमा रहेका बञ्जीहरूमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । ‘यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो’ उहाँले भन्नुभयो ।
बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धौलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताउनुभयो । उहाँले यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउनुहुन्छ । उहाँले आफू प्राकृतिक सौन्दर्यमा घुम्न र रमाउन चाहने भन्दै यो क्षेत्र धुम्नका लागि निकै उपयोगी रहेको बताउनुभयो । ‘यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जी जम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धौलागिरि हिमाल देखिँदो रहेछ, यो ठाउँमा साँच्चीकै स्वर्गजस्तै छ,’ उहाँले भन्नुभयो, ‘यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला ।’ यस्तै, पोखरादेखि घुम्न आउनुभएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताउनुभयो ।
बञ्जी जम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जी जम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो । उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ ।
बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काई साइक्लिङलगायत आधा दर्जन बढी संरचनाहरू निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकहरूको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विमिङ, स्काई साइक्लिङ र बञ्जी गर्नेहरूको संख्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार भारत, बंगलादेश लगायतका देशबाट पनि बाह्य पर्यटक आउन थालेका छन् ।
बञ्जी जम्प निर्माण गर्दा सुरुमा २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको र पनि लागत बढ्दै गएपछि अहिलेसम्म ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचनाहरू निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ ।
२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । ५२५ मिटर लामो छ । खोलादेखि पुलको उचाइ २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विमिङ भएको दाबी गर्दै आएको छ । बञ्जी जम्पका कारण बलेवा र कुश्मामा व्यापारसमेत बढ्दै गएको स्थानीय व्यापारीहरू बताउँछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts