खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीहरूलाई अभ्यास पुस्तिका वितरण गरेको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाभरिका सामुदायिक विद्यालयका विद्यार्थीलाई गाउँपालिका आफैंले तयार गरेको अभ्यास पुस्तिका वितरण गरेको हो ।
गाउँपालिकाको कार्यालयमा आइतबार कार्यक्रम गरी गाउँपालिकाभरिका ३७ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत ९४९ जना विद्यार्थीका लागि प्रतिविद्यार्थी चारवटाका दरले मंसिर महिनाका लागि तीन हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरिएको छ ।
अभ्यास पुस्तिका गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले ३७ वटै विद्यालयका प्रधानाध्यापक र प्रधानाध्यापकका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको छ । पृष्ठभूमिमा गाउँपालिकाको प्रशासनिक भवनको फोटो र गाउँपालिकाको भौगोलिक नक्सा राखेर अभ्यास पुस्तिका तयार गरिएकोे छ । अभ्यास पुस्तिकामा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नं., विषय, विद्यालय, विषय शिक्षकको नाम, सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर लेख्ने स्थान छ । प्रधानाध्यापक र शिक्षा शाखाबाट विषय शिक्षक/कक्षा शिक्षकलाई शैक्षिक सुधारका लागि दिइने पाँच÷पाँचवटा बुँदा लेख्ने स्थान राखिएको छ ।
अभ्यास पुस्तिकामा विद्यार्थीहरूले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गर्न लगाउनुपर्नेछ, शिक्षकले दिएको कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्नुपर्नेछ, अभ्यास पुस्तिकाका सम्पूर्ण पानाहरू लेखिसकेपछि अभ्यास पुस्तिका सुरक्षितसँग विद्यालयमा बुझाउनुपर्नेछ । विद्यार्थीलाई अन्य अभ्यास पुस्तिका प्रयोग गर्न दिन पाइने छैन ।
शिक्षकले अभ्यास पुस्तिका प्रयोग गराउँदा प्रत्येक दिन कक्षा कार्य र गृहकार्य अभ्यास पुस्तिकामा दिई रातो मसीको प्रयोग गरी जाँच्नुपर्ने, अभ्यास पुस्तिकाका सम्पूर्ण पेजहरू विद्यार्थीले लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित हुनुपर्नेछ । अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिइएको छ/छैन जाँच गर्नुपर्ने र शिक्षकले आफ्ना छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्यरूपमा गर्न लगाउनुपर्नेछ । त्यसपछि अभ्यास पुस्तिका विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने र नयाँ कापी लिएर पुनः विद्यार्थीलाई दिनुपर्नेछ ।
कुन विद्यालयमा कुन-कुन शिक्षकले कति पढाएको छ भनेर शिक्षा शाखाका कर्मचारीले जनप्रतिनिधिको उपस्थितिमा अभ्यास पुस्तिका जाँच गरिने शिक्षा संयोजक सुरेन्द्र खनालले बताउनुभयो । त्यसपछि अभ्यास पुस्तिकामा प्रअ र शिक्षा शाखाबाट विषय शिक्षक र कक्षा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि पाँच÷पाँचवटा सुझावसहित अभ्यास पुस्तिका विद्यालयलाई नै फिर्ता दिइनेछ । ‘मंसिरका लागि अभ्यास पुस्तिका वितरण गरेका छौँ । अब पुस, माघ र फागुन महिनामा पनि प्रतिविद्यार्थी चारवटाका दरले अभ्यास पुस्तिका वितरण गर्छौँ । ती सबै अभ्यास पुस्तिका गाउँपालिकामा भण्डारण गरेर राखेका छौँ,’ खनालले भन्नुभयो, ‘यो शैक्षिक सत्रका लागि १६ हजार अभ्यास पुस्तिका छापेका छौँ ।’
यसरी कापी वितरण गर्दा कुन विद्यालयको शैक्षिक स्तर कस्तो छ, शिक्षकले गृहकार्य दिए/दिएनन, विद्यार्थीले गृहकार्य गरे/गरेनन्, शिक्षकले गृहकार्य जाँच गरे/गरेनन्, फर्जी विद्यार्थी छन्/छैनन् पत्ता लगाउन सहज हुनेछ ।
गाउँपालिकाले सुरु गरेको अभ्यास पुस्तिका लागू कार्यक्रमलाई सफल बनाउनमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म समय खर्चिने पृथ्वी मावि बाक्सिलाका प्रअ रणबहादुर राईले बताउनुभयो । शिक्षा सुधार्न गाउँपालिकाले गरेको लगानी खेर जान नदिन प्रअहरूको ठूलो भूमिका हुने प्रअ राईको भनाइ छ । अभ्यास पुस्तिकालाई विद्यार्थीको हात-हातमा पुर्याउन र पुस्तिकामा भने नुसार गर्न सबै एकजुट भएर लाग्नुपर्ने जालपा मावि पिपलडाँडा बाक्सिलाका विव्यस अध्यक्ष गोपाल तामाङले बताउनुभयो ।
‘कक्षा १ देखि ३ कक्षासम्मको शैक्षिक स्थिति सुधार्न मुख्यतः लेखाउने र पढाउने नै हो भन्ने हामी निष्कर्षमा पुगेका छौँ । अभिभावकले विद्यार्थीलाई कापी, पेन्सिल नै नपठाएका कारण गृहकार्य गर्न नलगाएको/नदिएको भन्ने छ । अब गाउँपालिकाले दिएको कापीमा शिक्षकले गृहकार्य दिनुपर्छ र पढाउनुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘अभ्यास पुस्तिका वितरण कार्य साधारण जस्तो छ तर यसले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने सबैलाई परिबन्धमा पार्छ । शिक्षा क्षेत्रको बेसलाई स्वतः सुधार गर्छ ।’
आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि विद्यार्थी अभ्यास पुस्तिका निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने योजना छ । अध्यक्ष राईले भन्नुभयो, ‘कार्यक्रम प्रभावकारी देखिएमा कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको अभ्यास पुस्तिका चेक गर्ने कार्यक्रम लागू गरिनेछ ।’ गाउँपालिकाका ३७ विद्यालयमा कक्षा ११ बाहेक तीन हजार ३२४ जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म ९४९ विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, कक्षा ८ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेका बुहारीहरूलाई पढाउनका लागि बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा गाउँपालिका पुगेको छ । बुहारी शिक्षा कार्यक्रमले कक्षा ८ पास गरेका बुहारीहरूलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेसन फारम शुल्क, स्टेसनरीलगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गरिदिनेछ । एसईई उत्तीर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच