नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूभाग गुगल म्यापले भारतमा देखाइदिँदा सुस्तावासीलाई बैंकले लगानी गरेका छैनन् । सुस्ताको वडा नम्बर ३ का केही भूभाग, नारायणीपारिको सुस्ताका केही भाग र वडा नम्बर ४ का अधिकांश भूभाग गुगल नक्सामा भारतको बिहारमा देखिएको भन्दै बैंकहरूले कर्जा लगानी नगरेका हुन् ।
भूमि भारतमा देखिएकाले लगानी गर्न नसकिने जवाफ बैंकहरूले दिने गरेको सुस्ता १ का नारायण थारु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेपाली भूमि हो, राजस्व चल्छ, किनबेच चल्छ तर बैंकले कर्जा दिँदैन, योभन्दा अन्याय के हुन सक्छ ?’ गुगल नक्सामा भारतमा देखाएको जमिनको राजस्व सुस्ता गाउँपालिकाले बुझ्ने गरेको छ । जिल्ला मालपोत कार्यालय नवलपरासीमार्फत् किनबेच हुँदा रजिस्टेशन गर्ने काम भने भइरहेको छ । तर, कर्जा प्रवाहका क्रममा गर्नुपर्ने धितो मूल्यांकन गर्न स्थानीय तहका कर्मचारी जान मान्दैनन् भने बंैकहरू कर्जा प्रवाह गर्न मान्दैनन् ।
सुस्ताको वडा नम्बर ३ का केही भूभाग, नारायणीपारिको सुस्ताका केही भूभाग र वडा नम्बर ४ का अधिकांश भूभाग गुगल नक्सामा भारतको बिहारमा देखिएको भन्दै बैंकहरूले कर्जा लगानी नगरेका हुन् ।
अनुदान वा सहुलियतपूर्ण कर्जा केही सीमित व्यक्तिको व्यवसाय हेरेर लगानी गरिए पनि भूमि गुगल म्यापमा भारतमा देखाउँदा कर्जा प्रवाह गर्न समस्या हुने देखिएको एनएमबी बैंक सुस्ता शाखाका ऋण अधिकृत रामानन्द साहु बताउनुहुन्छ । पीडित स्थानीयले पटक-पटक यस विषयमा बैंकिङ नियमावली संशोधन गर्नुपर्ने, सीमा क्षेत्रबाट तीन किलोमिटरसम्ममा उद्योगी व्यवसायीलाई कर्जा प्रवाहको वातावरण मिलाइदिनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् तर हालसम्म पनि माग सम्बोधन भएको छैन । बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकन गरी कर्जा प्रवाह नगरिदिँदा सुस्तावासी साहु महाजन र मिटरब्याजी साहुसँग जान बाध्य छन् । मिटरब्याजका कारण कयांै घरबारविहीनसमेत बनेका छन् ।
बैंकले ऋण नदिँदा कृषि र अन्य व्यवसाय गर्ने किसान, व्यवसायी मर्कामा परेकाले सरकारले दीर्घकालीन रूपमा समस्या समाधान गरी सुस्तावासीलाई राहत दिनुपर्ने बताउनुहुन्छ सुस्ताका समाजसेवी रविन्द्र जैसवाल । उहाँ भन्नुहुन्छ, ‘एक त भूमि भारतमा देखिएको छ, अर्को ऋणदेखि सीमा विवाद सारा समस्या सुस्तामा छ, राज्यले निकै पीडित बनायो ।’
त्यसो त सुस्तामा सामान्य जीविकोपार्जन गर्दै आएका नागरिकको पहुँच अझै पनि बैंक तथा वित्तीय संस्थामा पुग्न सकेको छैन । कर्जा प्रवाह नहुँदा व्यवसाय गरेर जीवनस्तर उकास्नमात्रै होइन, उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीसमेत ऋण नपाउँदा अध्ययनलाई निरन्तरता दिन सकेका छैनन् । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय पनि बैंकहरूले लगानी नगरेको स्वीकार गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नेपाली भूमिलाई गुगल म्यापमा भारतमा देखाएका कारणले बैंकले लगानी नगर्नु दुःखद हो । हामी बंैकहरूसँग निरन्तर छलफलमा छौँ, समस्या समाधानका लागि पहल गरेका छौँ ।’ सीमा विवाद, अतिक्रमणबाट सधैँ सास्ती खेपेका सुस्तावासी ऋणबाट वञ्चित हुनुपर्दा थप पीडित बनेका छन् । त्यसैले सरकारले कूटनीतिक पहल गरी फिल्ड प्रमाणीकरण हुनुपर्ने र गुगल म्याप सच्याउनुपर्ने सुस्तावासीको माग छ ।







Breaking news with related posts