बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका-५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा यहाँका अधिकांश स्थानीयले अरु पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।
एक परिवारले चार वटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरू परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।
स्थानीय बेदबहादुर घर्ती मगरले बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउनुहुन्छ । घर्तीले भन्नुहुन्छ, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।’
घर्ती मगरले १८ वटा भैँसी र १५५ वटा भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेडाबाख्रा चराउँदै थालेको बताउने घर्ती मगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउनुहुन्छ । उहाँ अहिले ५१ वर्ष हुनुभयो ।
‘बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ’ उहाँले भन्नुभयो, ‘मैले गाईभैँसी हेर्न थालेको ४२/४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन् ।’
स्थानीय ७४ वर्षीय चिरबहादुर बुढा मगरले पनि सानैदेखि भेँडाबाख्र र गाईभैँसी पालन गर्दै आउनु भएको छ । उहाँले आफ्ना पुर्खाहरूले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अङ्गाल्दै आएको बताउनुहुन्छ । बुढा मगर भन्नुहुन्छ- ‘हाम्रो बाउ बाजेहरूले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरे, अरू गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदो रैछ, धेरै कमाउन नसको पनि खान लाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।’
उहाँले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनुभएका बुढा मगरलाई आधुनिक प्रबिधिबारे केही ज्ञान छैन । गाईभैसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफैँ ओखतीमुलो गर्नुहुन्छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् । ‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्राहरूलाई, सिगान छोड्ने काँस्ने गर्छन्, नत्र खास्सै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाही निकै थला परेर एक/दुईवटा भेडा मर्ने पनि गरेका छन्’ उहाँले भन्नुभयो, ‘सामान्य रोगको त उपचार म आफँै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् ।’
आफूहरूले उच्च पहाडी क्षेत्रहरूमा चरीचरन गर्दा पुचौपायहरूले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउनुहुन्छ । ‘यहाँ तल-तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौं, कहिले काहीँ बाघहरूको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।’
स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गर्नुभयो । सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकहरूका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । सुनारले भन्नुभयो– ‘हामीहरूले केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीहरूलाई सजिलो हुन्थ्यो ।’
पशुपालक कृषकहरू विशेष गरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्ने बस्छन् । पछिल्लो समय मान्छेहरू गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउनुहुन्छ । अर्का पशुपालक तुलबहादुर बुढा मगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउनुहुन्छ । उहाँले धेरै भेँडाबाख्राहरू हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु यति धेरैलाई खोरमा बाँध्न संभवनै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ ।’
उहाँहरू जस्ता निसीखोलामा सयौँ पशुपालक छन् । तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन् । गाउँपालिकाले यस्या कृषकलाई नयाँ प्रबिधिसँग जोड्न सके सिंगो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts