पश्चिम म्याग्दीमा विकासको बाधक बन्दै घुम्तीगोठ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । पश्चिम म्याग्दीका तीनवटा गाउँपालिकाका ग्रामीण क्षेत्रमा परम्परागत घुम्तीगोठ विकास र समृद्धिका लागि बाधक बनेको पाइएको छ । पश्चिम म्याग्दीमा रहेका खाली जग्गा उर्वर र कृषि, जडीबुटी उत्पादनका लागि अब्बल मानिए पनि त्यस्ता खाली ठाउँहरू घुम्तीगोठले ओगट्ने गरेका छन् ।

परम्परागतरूपमा राखिँदै आएका त्यस्ता घुम्तीगोठहरूबाट स्थानीयले गाउँमा नै आवश्यक पर्ने दूध, दही, घिउ र मासु त उत्पादन गर्ने गर्दछन् तर त्यसलाई बिक्री गरेर आम्दानी गर्न भने सकेका छैनन् । धौलागिरि गाउँपालिका-३ मुनाको हजारौं रोपनी जग्गामा कहीँकतै फाट्टफुट्टरूपमा आलु खेतीबाहेक अरू जमिन बाँझै पल्टिएको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाईभैंसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठका रूपमा प्रयोग गरेका छन् ।

करिब ६ सय घरपरिवारको बसोबास रहेको बाक्लो बस्ती भएको गाउँ हो मुना । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल तथा मालिका गाउँपालिका केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रापछि पुग्न सकिने मुना पाँच वर्षअघिसम्म अत्यन्त दुर्गम मानिन्थ्यो । अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरि गाउँपालिका-३ मुनाका पूर्वअध्यक्ष पुर्म पुन बताउनुहुन्छ ।

पूर्ववडाध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत् यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरू यहाँ रहेका छन् । तर, यी सबै कुराहरू केवल सपनामात्र भएका छन् । किनभने यहाँका स्थानीय बासिन्दाहरू खाली जग्गालाई घुम्तीगोठका रूपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन् । अध्यक्ष पुन भन्नुहुन्छ, ‘घुम्तीगोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँभरि ८० भन्दा बढी घुम्तीगोठहरू रहेका छन्, खेती गर्नुपर्ने जग्गालाई बाँझै पल्टाएर घाँस उमारेपछि खाद्यान्नलगायत अन्य बालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ ?,’ वडाअध्यक्ष पुनले उल्टै प्रतिप्रश्न गर्नुभयो ।

ADVERTISEMENT

जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम त जनप्रतिनिधिहरूको भए पनि स्थानीयहरू परम्परागत चलन र प्रविधिलाई त्याग्न तयार नभएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत कुराहरूलाई छोड्न यहाँका बासिन्दा ज्यान गए तयार छैनन् । प्रविधिको प्रयोग नै गर्दैनन् । सरकारी सेवा सुविधामा विश्वासै छैन अनि कहाँबाट विकास गर्न सकिन्छ ।’
‘हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक) मा लैजान्छौँ, हिउँदमा बेंसी झार्छौं, पशु पाल्छौँ, दूध, मही खान्छौँ, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँती गर्नुपर्‍यो,’ मुनाका ७९ वर्षीय पमबहादुर पुनले भन्नुभयो । ‘खै के-के जाती हो दिन्छ भन्छन्, पशु गोठ दर्ता गरे र पशुपालन गरे अनुदान हो कि के पाइन्छ पनि भन्छन्, पैसा नभए जग्गा धितो राखेर बैंकले पैसा दिन्छ पनि भन्छन् तर यी सबै कुरामा हामीलाई चासो छैन, जे छ त्यसैमा खुसी छौँ,’ अर्का ७४ वर्षीय शेरबहादुर पाइजाले भन्नुभयो, ‘पैसा तिर्न नसके बैंकले जग्गा खाइदिन्छ रे ! गोठ भएका ठाउँमा अरू बाली लगाए हुन्छ, हुँदैन ठेगान छैन, त्यसैले बाजे, बराजुका पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौँ ।’

कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेको गाउँपालिकाका अध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्तीगोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भए पनि स्थानीयहरूको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ छ ।

यहाँका युवापुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बुढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन् । ‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँ न भन्दा पनि मान्नुहुन्न,’ अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरू यहाँ छन् । तर, ती अवसरहरू त्यत्तिकै खेर गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज