म्याग्दी । हँसिलो अनुहार । गलामा साढे तीन तोलाको सुनको सिक्री । हातमा सुनकै बाला । गाउँ दुर्गम भए पनि शहरका सभ्रान्त परिवारको जस्तो घरको सजावट । बिहान उठेदेखि राती अँध्यारो नहोउन्जेलसम्म सुन्तला बगैंचामा नै व्यस्त ३८ वर्षीया मायादेवी पुनको अब कुनै रहर बाँकी छैन । ‘बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँ’ को अवस्था भोग्नुभएकी पुनको जीवनशैली अहिले सबैलाई लोभ्याउने खालको छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत् करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने दोसल्ले गाउँ ।
शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जंगलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको वसोबास रहेको छ । सबै घरधुरीका साना-ठूला सुन्तलाका बगैंचा छन् । तिनै बगैंचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाहरूको जीवनशैली पत्यारै नलाग्ने किसिमले परिवर्तन भएको छ । ‘हाम्रा लागि सुन्तलाको बगैंचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै बिछट्टै माया लाग्छ हामीलाई यी सुन्तलाका बोटको’ बिहीबार दोसल्लेको सुन्तला बगैंचामा हिमालय टाइम्ससँग मायादेवी पुनले भन्नुभयो, ‘गत वर्ष दुई लाखको सुन्तला बोटबाट नै बिक्री गरेँ, यस वर्ष नयाँ बोटमा पनि फल लागेको छ, उत्पादन पनि राम्रो भएकाले ठेकेदारले चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।’
पुनले मात्रै होइन दोसल्लेका मिलन गर्वुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजालगायतका ५० जना कृषकहरूले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिन सफल भएका छन् । सबै कृषकहरूका बगैंचामा लटरम्मै सुन्तला फलेका छन् । सुन्तला खरिद गर्न बगैंचामा नै आएका ठेकेदारहरूसँग उनीहरू मोलमोलाई गर्न व्यस्त छन् ।
देशमा भर्खरै चुनाव सम्पन्न भएको छ । मत परिणामको संख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरूलाई भने सुन्तलाको हिसाबकिताब गर्न नै भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेतीको लहर सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्व–उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । ‘पहिला अवस्था फरक थियो, बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाहरूको जीवन चल्थ्यो,’ मगरले भन्नुभयो, ‘तर, अहिले अवस्था फेरिएको छ । विदेश गएकाहरू पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैंचामा परिणत भएको छ ।’
यहाँका किसानले बोटमा सुन्तला फलाइदिए मात्र पुग्छ । बिक्रीका लागि कुनै समस्या नै छैन । सुन्तला खरिद गर्न काठमाडौं, चितवन र पोखरादेखि ठेकेदारहरू बगैंचामा नै आएर बोट नै खरिद गर्ने गर्दछन् । ‘बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ,’ दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, ‘अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारीहरू पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।’
गत पाँच ठाउँबाट १७ जना ठेकेदारहरू सुन्तला खरिदका लागि गाउँमा आएको बताउँदै कृषक पाइजाले भन्नुभयो, ‘यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० जना ठेकेदारहरू आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts