गीतिसंग्रह ‘गीतसँग अपेक्षा’ सँगै बस्दा

गीता अधिकारी

गीतकार स्रष्टा गणेश श्रेष्ठ ‘अपेक्षा’ को दोस्रो गीतिसंग्रह ‘गीतसँग अपेक्षा’ पाठकमाझ आएको छ । थुप्रै लोकप्रिय गीतमार्फत श्रोता÷दर्शकको मन मष्तिस्कमा राज गर्न सफल श्रेष्ठले यसअघि ‘मनको आकाश’ गीतसंग्रह पाठकमाझ ल्याउनुभएको थियो । यस्तै उहाँका ‘रहरका फूलहरू’ र ‘बाटो हिँडदा’ गीतिएल्बम श्रोता/दर्शकमाझ आएका छन् । मनको आकाश गीतिसंग्रहलाई गीतकार संघले २०७७ मा वर्ष गीत पुस्तकको पुरस्कारसमेत प्रदान गरेको थियो ।

‘गीतसँग अपेक्षा’ कृर्तिलाई स्रष्टा श्रेष्ठकी श्रीमती यशोदा श्रेष्ठले प्रकाशन गर्नुभएको हो भने यसको आवरणकला रमेश पौडेलले तयार पार्नुभएको छ । आर्कषक कभर रहेको यस कृतिलाई सिद्धकाली अफसेट प्रेस प्रा.लि. पुतलीसडक, काठमाडौंमा मुद्रण गरिएको हो । ११२ पृष्ठको यस गीतिसंग्रहभित्र विभिन्न भाव र प्रकृतिका ७९ गीत समावेश गरिएको छ । कृतिको मूल्य २०० रुपैयाँ राखिएको छ । खाँदबारी-५ माल्टा संखुवासभामा जन्मिनुभएका स्रष्टा श्रेष्ठ विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आउनुभएको छ । उहाँले गीत सँगसँगै कथा, कविता विधामा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ ।

यस संग्रहमा ‘आफैँलाई खोज्दै, चाहेजस्तो हुने भए, दौडिँदै छु, नसकिने भो, रहरका फूलहरू, मेरो मान्छे, बगैँचा र फूल, मीठा भ्रम, नदेऊ फूल मलाई, मनको प्यारो, उदास मनले मनमा देउता भए, पानी झैँ मन, मान्छे चिन्न गाह्रो, जीवनयात्रा, हामी दोभान, पिरतीको लहरा, मभित्रको आकाश, जुनीभरिलाई, माया देऊ, गाउँको सम्झना, डेरा बस्ने, तिम्रै बारे सोचिरहन्छु, तिम्रो चर्चा, के भो अचेल, मलाई बिर्सिदेऊ, मलाई घोच्दै छ, अर्कै मनमा फुल्यौ, किनारा भई, मन जल्दै छ, ठूली भइसकेछु, मनको संसार, राम्रो मान्छे, मायाले जीवन सजाउँछ, बाटो हिँडदा, नजर मेरो, मनको तिर्खा, शुभकामना, माया सुक्यो, पानी माग्दा’ जस्ता शीर्षकमा गीत पस्किनुभएको छ श्रष्टा गणेशजीले ।

यस संग्रहमा बाहुल्य भने प्रेमभावका गीतको नै छ । प्रेमभावका गीतमा उहाँको शालीन प्रस्तुति रहेको पाइन्छ । यस संग्रहमा उहाँले सुगम गीतमा ६०, देशप्रेमका ६, लोकलयका ७ र संग्रहको चौथो वा अन्तिम खण्डमा बालभावनाका ६ वटा गीत समावेश गर्नुभएको छ ।

ADVERTISEMENT

यसैगरी, ‘रित्तो पार्‍यौ, बाँच्न गाह्रो भयो, भुल्न खोज्छु, भीरमा एक्लै, मनको बात, मन बस्यो तिमीमाथि, भेटेँ आफूलाई, मनभरि फूल भए नि, माफ गर मलाई, शरम लाग्छ, मुहानकै पानी, माया चाख्दै, बिर्सूँ म कसरी ?, कोही छैन, महान् सृष्टि मान्छे, कमजोर नठान, चोट पाएँ, सपना–विपना, प्यारो मान्छे, आखिर छुट्नै पर्छ, आफ्नो जन्मभूमि, सिँगार्छौं यो देश, नयाँ घर, सुखदुःख बाँडौं, देशको लागि, पौरख रोपौँ, खाँदबारीमुनि तुम्लिङटार, बसौँ छायाँमा, भन्छन् सबैले, भेट भयो बजारमा, भोजपुर दिल्पा गाउँ, घाँस काट्ने निहुँ गरी, आजको तिथि, मेरो रहर, बनौँ घामजस्तै, विद्यार्थीको कर्तव्य, पानी, हाम्रो स्कुल र मेरा आमाबाबा’ जस्ता शीर्षकमा श्रष्टा श्रेष्ठले विभिन्न परिवेश, माया प्रेम, देश भक्ति, स्थानीय परिवेशका गीत यस संग्रहमा प्रस्तुत गर्नुभएको छ ।

‘दुःखको जत्रै भुंग्रोमा पनि हामी छोराछोरीलाई इमानदार लगनशील हुन व्यावहारिक प्रेरण दिँदै आफ्ना खुशी, सुख जम्मै हाम्रै लागि त्यागेका मेरा सच्चादेवी देउता-बालकुमारी र बुबा काजीमान श्रेष्ठप्रति सादर समर्पित ।’ भन्दै गीतकार श्रेष्ठले पुस्तक आफ्ना बाबा-आमालाई समर्पण गर्नुभएको छ । यस संग्रहमा प्रमोद ढुंगानको ‘गीतसँग अपेक्षाका कुरा’ शीर्षकमा भूमिका प्रस्तुत गरिएको छ भने ज्ञानेन्द्र गदालको विशेष शुभकाना समावेश गरिएको छ । यस्तै, विशिष्ट संगीतकार दीपक जंगम र गीतकार संघका अध्यक्ष शुभ मुकारुङका शुभकाना भनाइ पनि राखिएको छ । स्रष्टा श्रेष्ठले आफ्ना भनाइ ‘मेरो कुरा’मार्फत राख्नुभएको छ ।

पूरा बनोस् आधा यो मन भरिएर तिमीबाटै
तिमीलाई मेरो माया जरुवाको पानीजस्तै
(रहरका फूलहरू)
.....................
अर्को मनलाई खुशी देख्न कहिले आफैँ रुनुपर्छ
जित्नै पर्ने कुनै खेलमा हारेजस्तो गर्नुपर्छ
(बाटो हिँड्दा)
..................
यति सुन्दर संसारभरि महान् सृष्टि मान्छे हामी
अझै सुन्दर बन्छ संसार, मिले सबै मान्छे हामी ।
(महान् सृष्टि मान्छे)
............................
निर्धालाई हेप्छौ तिमी बलियालाई मान्छौ
मन परेको मान्छे मात्रै सधैँ आफ्नो ठान्छौ ।
(चोट पाए)
..........................
हरेक रात हटाई घाम आउँछ बिहान बोकी
सजाउँछ यो धर्तीलाई आफ्नै किरण पोखी
(बनौँ घामजस्तै)
.......................
वि.सं. २०५१ का पहिलो गीत रेकर्ड गराएर नेपाली गीतसंगीतको फाँटमा आफ्ना पाइला बढाउनुभएको गीतकार श्रेष्ठका गीतमा विविधता पाइन्छ । यस संग्रहमा संग्रहीत गीतमा प्रेमका, संयोग-वियोग, देशप्रेम, मानवीयता, जीवन संघर्षका, विकृति-वेथितिका साथै बालबालिकासम्बन्धी गीतहरू समेटिएका छ । यसमा बाहुल्य भने प्रेमभावका गीतमा नै छ । प्रेमभावका गीतमा उहाँको शालीन प्रस्तुति रहेको पाइन्छ । यस संग्रहमा उहाँले सुगम गीतमा ६०, देशप्रेमका ६, लोकलयका सात र संग्रहको चौथो वा अन्तिम खण्डमा बालभावनाका ६ वटा गीत समावेश गर्नुभएको छ ।

उहाँले विविध भावका मालालाई यस संग्रहमा उनेर पाठकमाझ प्रस्तुत गर्नुभएको छ । संग्रहका गीत पढदा स्रष्टा जीवन जगतसँग साक्षातकार गर्दै भोगाइको प्रतिबिम्ब उतार्न उद्यत् देखिनुहुन्छ । गीत संगीत क्षेत्रमा आफूलाई समर्पण गर्नुभएका स्रष्टा श्रेष्ठका आगामी दिनमा यस्तै–यस्तै सिर्जनाहरूको रसास्वादन गर्न पाइराखौँ यही गीताकामना । तमसोमा ज्योर्तिगमय !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?