म्याग्दी । म्याग्दी बेनी नगरपालिका-३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनुभयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा बोटबाट किवी खेती सुरु गर्नुभएको थियो ।
‘वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।’ पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाउनुभएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा दुई लाख बराबरको छ सय किलो किवी फलेको बताउनुभयो ।
अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ ।
आय आर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । ‘हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्’, पुनले भन्नुभयो, ‘२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।’
छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताउनुभयो । ‘पोखराका व्यापारीसँग प्रतिकिलो रु २५० का दरले किवी बेच्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।’ पुनको बगैँचाका १३५ किवीका बोट फलेका छन् ।
गत वर्ष २५ वटा नयाँ विरुवा लगाउनुभएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाउनुभएको छ । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गर्नुभएको छ ।
बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई ८१५ वटा किवीका विरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उहाँले बताउनुभयो ।
धेरै पौष्टिक तत्व पाइने किवीको बजारमा माग र खपत पनि दुवै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ ।
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको विरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ ।
आठवटा पोथी विरुवाबराबर एकवटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म विरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts