नेताले भोट देखे, चोट देखेनन्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 12 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । दाहिने खुट्टा सुनिएर उचाल्नै नसक्ने भएको छ । घाउ चिलाउने, पोल्ने र दुःख्ने गर्दछ । आँगनलाई छोएको सडकमा धुलो उढाउँदै बिहान गाडी सहर हिँड्छ । थलिएर घरमै बस्नुभएकी गीता सार्कीलाई अस्पताल पुग्ने गाडी भाडा छैन । ग्रामीण सडकको अवस्था बेहाल छ । भाडादर भनिसाध्य छैन । गाउँमा स्वास्थ्य संस्था छ । चाहिएको बेला सिटामोलसमेत पाइँदैन । स्वास्थ्यकर्मी छन्, दक्षशक्ति छैनन् । सामान्य बिरामी हुँदा एकदिन खर्चिएर सिन्धुलीमाडीका स्वास्थ्य संस्थामै धाउनुपर्छ ।

सार्कीलाई सहरका अस्पताल जानैपर्ने बाध्य आईलाग्यो । ‘भरतपुर अस्पतालमा श्रीमान्ले पुर्‍याउनुभयो । ‘डाक्टरले अप्रेसन गर्ने भनेर हाडै देखिने गरी मासु काटेर फालिदिनुभयो । यत्तिकैमा सयकडा तीन रुपैयाँका दरले ब्याज तिर्नेगरी ऋण गरेको एक लाख एकैदिनमा सकियो । त्यहाँबाट छाला सर्जरी गर्न टिचिङ अस्पताल गयौँ । हामीले उपचार गर्दा गर्दै जबरजस्ती यहाँ हुँदैन भनेर हिँड्नुभएको व्यहोरा सिफारिस पत्रमा लेखिएको रहेछ । जुन, कुरा टिचिङका डाक्टरले ‘त्यही हुन्छ भन्दाभन्दै किन यहाँ आउनुभएको ?’ भनेर सोधेपछि थाहा भयो,’ सार्कीले बेलिविस्तार सुनाउनुभयो ।

भरतपुर अस्पतालले काटेर फालिदिएको ठाउँमा टिचिङले तिघ्राको मासु काटेर हालिदिएको छ । ‘मासु नटाँसिदा हड्डी मात्र देखिन्थ्यो । डाक्टरले ठिक हुन्छ भनेर घर पठाएका हुन्, अहिलेसम्म ठिक भएन, दुःख्ने, पोल्ने, चिलाउने झनै बढेको छ,’ उहाँले भन्नुभयो,’ फेरि जचाँउन जान खर्च छैन ।’

तीनपाटन गाउँपालिका-११ चकमकेमा अवस्थित उहाँको घरबाट काठमाडौं पुग्न दुई हजारले पुग्दैन । अस्पताल र धामी-झाँक्रीकोमा गरेर यसअघि नौ लाख खर्च भइसकेको छ । आजभोलि साहुहरू दिनहुँ ऋण चुक्ता गर्न दबाब दिन्छन् । पैसा हुनेले पत्याउँदैनन् । सम्पत्तिको नाममा अहिले बस्दै आएको घर र घडेरी छ । यही बेच्न खोज्दा पनि बिक्री नभएको उहाँले सुनाउनुभयो । गाउँतिरै मिस्त्री काम गर्ने श्रीमान्को कमाईले खानै धौधौ हुने उहाँको भनाइ छ ।

‘म दुई वर्षदेखि यस्तै छु । श्रीमान्लाई गाउँमा सधैँ काम मिल्दैन । उहाँको कमाइले ऋण तिर्नु कि, खानु ?,’ गीताले भन्नुभयो । यसअघि सार्कीले बंगुरपालन गर्नुभएको थियो । कुखुरा, बाख्रा, गाई पाल्नुहुन्थ्यो । मेलापात भ्याउनुहुन्थ्यो । त्यतिबेला घरव्यवहार ठिकैसँग चलेको थियो । श्रीमान्को कमाइले छोराछोरीको पढाइ खर्च धानेको थियो ।

चारो खुवाउने क्रममा बंगुरले दाहिने खुट्टाको गोली गाँठोमा कोतरिदियो । यहाँ, विस्तारै सुनिएर फोका उठ्दै गयो । चिलाउने, दुःख्ने र पोल्ने हुन थाल्यो । हिलोपानी, गोबर सोहोर्नेदेखि घरायसी, बाहिरी सबै काम भ्याउनुपथ्र्यो । व्यथा चर्किँदै गयो । धामीझाँक्री लगाउनुभयो, तर, घाउ फैलिन रोकिएन ।

हिँड्नै नसक्ने अवस्थामा पुगेपछि स्थानीय स्वास्थ्य संस्थामा जचाउन जानुभयो । स्वास्थ्यकर्मीले सुनिएको निको हुने सुई लगाइदिएर औषधि खान दिए । निको भएन । खुट्टा कुहिएर झर्ने अवस्थामा पुगेपछि ऋणको भारी बोकेर सहरका अस्पताल धाउनुको विकल्प रहेन । अहिले गाउँमा ऋण पनि पाउन छाडेपछि पीडा सहेर बस्नुपरेको छ ।

सानैमा बुबाआमा बितेर आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाएर जागिर खुवाउने उहाँको इच्छा अधुरै रह्यो । आफ्नै बेहालतका कारण १७ वर्षीय छोरा काठमाडौं कामको खोजीमा भौतारिनु परेको र १९ वर्षीया छोरीले आफ्नो स्याहार गर्ने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार उम्मेदवारको प्रचारप्रचारका लागि नेता, कार्यकर्ता गाउँ घुमिरहन्छन् । प्रतिनिधि र प्रदेशसभाका उम्मेवारले घरमा पुगेर भोट माग्न छुटाएनन् । ‘नमस्कार ! म फलानो, फलानो चिन्हमा भोट हालिदिनुस्’ दोहोर्‍याई-तेहेर्‍याई अनुरोध गरिरहेका छन् । उपचार खर्च दिएर वा उपचार गराउने सहयोग माग्दा निर्वाचन पछिलाई भाखा सारेर पन्छिने गरेको ३८ वर्षीया सार्कीले भन्नुभयो ।

‘आफ्नो स्वार्थका लागि दिनकै चार, पाँच लाख खर्च गर्न सक्ने उम्मेदवारले मेरो उपचारका लागि चार, पाँच हजार पनि पत्याएनन्,’ उहाँले भन्नुभयो, ‘जसले जिते पनि हाम्रा दुःख आफैँसँग, फर्केर कसैले हेदैनन् ।’

दक्ष चिकित्सक, स्रोतसाधन र प्रविधिको अभावले यहाँका नागरिकले प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ११ वटा वडा रहेको तीनपाटन गाउँपालिकामा १७ वटा स्वास्थ्य संस्था छन् । दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाई र तीनवटा आधारभूत स्वास्थ्य केन्द्र । तर, संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय र सहकार्य नहुँदा मागअनुसार औषधि पूर्ति गर्न नसकिएको तीनपाटन स्वास्थ्य शाखाकी पहेन अञ्जु अधिकारीले जानकारी दिनुभयो । ‘यहाँ औषधिको मागलाई धान्नै गाह्रो छ । स्वास्थ्य क्षेत्रमा बजेट कम, सेवाग्राही बढी हुँदा पनि यस प्रकारका समस्या जटिल बन्दै गएका छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार स्वास्थ्य संस्थाको भवनदेखि औषधि, उपचार लगायतका स्रोतसाधन र दक्ष चिकित्सको अभाव हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवाका लागि अन्यत्र जानुको विकल्प छैन । आम्बोटेका ६२ वर्षीय माधव पोख्रेलले आफूले मत दिएर जिताएका पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम नगरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘असुरक्षित मौसमी सडकले भए पनि सहरसँग गाउँलाई जोडेको छ । झुण्डिएर भए पनि गाडीमा सवार गर्न पाइएको छ । बिजुली बत्ती बाल्न पाइएको छ । देखिएको विकास यत्ति नै हो । बाँकी गाँस, बास, कपासदेखि स्वास्थ्य, शिक्षा, रोजगार, प्रविधि लगायतको क्षेत्रमा हामी धेरै पछाडि छौँ ।’

अबका उम्मेदवारले पनि केही गर्लान् भन्ने उहाँमा आशा छैन । पहिलाको जस्तो पछिल्लो समय नागरिकमा चुनावले उत्साह ल्याउन नसकेको उहाँको भनाइ छ । उम्मेदवारले भोट माग्दा जनतासँग गरेका प्रतिबद्धता निर्वाचित भएर सहर पसेपछि चटक्कै भुल्ने उहाँको बुझाइ छ । यहाँका नागरिकलाई दक्ष चिकित्सकद्वारा गुणस्तरीय स्वास्थ्य सेवा दिनसक्ने र समग्र विकासका कार्यलाई अगाडि बढाउने नेताको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

दुई लाख ९७ हजार २४९ जनसंख्या रहेको सिन्धुलीमा कुल मतदाता दुई लाख आठ हजार ३६९ छन् । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशको चार निर्वाचन क्षेत्रमध्ये तीनपाटन गाउँपालिका प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ र प्रदेश २ मा पर्दछ । यहाँ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा श्यामकुमार घिमिरे र प्रदेशसभा सदस्यमा रामकुमार पहाडी चुनावी मैदानमा हुनुहुन्छ ।

निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी राष्ट्रिय नीति कार्यान्वयन गरिने, प्रत्येक परिवारसम्म स्वास्थ्य बिमाको पहुँच पुर्‍याइने, प्रत्येक स्थानीय तहमा विशेषज्ञ चिकित्सक सहितको १५ शैया सम्मको अस्पताल स्थापना गरिने, जिल्लामा विशेषज्ञ सेवासहितको न्यूनतम एक सय शैयाको अस्पताल निर्माण गर्ने उहाँहरूले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

निःशुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा, कृषिमा क्रान्ति र रोजगारीको ग्यारेन्टी जस्ता मिठा नारा राजनीतिक दल तथा उम्मेदवारहरूको घोषणापत्र र सरकारको नीतिमा मात्र सीमित हुने स्थानीयवासीको आरोप छ । सानैदेखि अपांगता भएर घिस्रिँदै हिँड्ने रीतबहादुर तामाङले अब काम गरेर नदेखाएसम्म नेताको विश्वास नगर्ने बताउनुभयो । ‘चुनावको बेला कुन घरमा कति मत छ ? भनेर नेताले देख्छन् । हाम्रो दुःख बुझ्दैनन्,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?