बर्दिया । बर्दिया क्षेत्र न १ को चुनावी प्रतिस्पर्धा निक्कै रोचक देखिने भएको छ । यहाँ २०७४ को आम निर्वाचनमा बामगठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका नेकपा एमालेका नेता बामदेव गौतमलाई नेपाली काँग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले पराजित गरेपछि यो निर्वाचन क्षेत्र निक्कै चर्चामा रहेको थियो ।
यस पटक प्रतिनिधि सभा तर्फ बामदेव गौतम उम्मेदवार नबन्नुभएको भएपनि एमालेले यहाँबाट लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ । भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सञ्जयकुमार गौतम नै प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी राप्रपाबाट सुर्यबहादुर सिंह लगायत यहाँ प्रतिनिधि सभातर्फ १० जना चुनावी मैदानमा हुनुहुन्छ ।
ती मध्ये मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार गौतम र नेकपा एमालेका ज्ञवालीबीच नै हुने देखिएको छ ।
तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार रहेका बामदेव गौतमलाई पराजित गर्नुभएका नेपाली काँग्रेसका सञ्जय गौतमलाई यसपटक माओवादीसंगको गठबन्धनले थप बल पुगेको छ ।
कांग्रेस पार्टी भित्र शेखर समूहका गौतम एक पटक सिंचाई मन्त्री समेत भैसक्नु भएको छ । गएको संसदमा सशक्त र परिणाममुखी आवाज दिनुभएको गौतम स्थानीय रुपमा निक्कै लोकप्रिय र राष्ट्रिय स्तरमा परिचित हुनुहुन्छ । दोस्रो पटक दोहोरिने इच्छा राख्नुभएको गौतमलाई यहाँका मतदाताले कुन रुपमा मूल्यांकन गरेका छन् त्यो आगामी मंसिर ४ को नतिजा कुर्नै पर्ने देखिन्छ ।
उता नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवाली शालिन व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । नाताले बामदेव गौतमका बैनी ज्वाई रहनुभएका ज्ञवाली पहिलो पटक निर्वाचन लड्दै हुनुहुन्छ । अवसर पाउनेले काम नगरेको र अवसर नपाएकालाई काम गर्ने मौका दिनुपर्छ भन्दै उहाँले मत माग्दै हुनुहुन्छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानका क्रममा बर्दियाको समस्या मध्येको एक समस्या वन्यजन्तु र मानव बीचको द्धन्द्ध पनि भएको बताउँदै उक्त समस्या समाधानका निम्ति आफुले पहल कदमी चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरी कान्तिपुरको जागीर छोडेर राजनीतिमा छिरेका ठाकुरसिंह थारु नागरिक उम्मुक्ति पार्टीबाट पहिलो पटक निर्वाचन लड्दै हुनुहुन्छ । विशेषत यो निर्वाचन क्षेत्रमा यिनै तीनबीच प्रतिस्पर्धा हुने भन्ने आँकलन गरिएपनि गौतम र ज्ञवालीबीच प्रतिस्पर्धा हुने छ ।
यसैगरीप्रदेश सभा तर्फ (क) बाट नेकपा एमालेका शालिकराम अधिकारी, गठबन्धनका तर्फबाट नेपाली काग्रेसका भुवनेश्वर चौधरी, नागरिक उम्मुक्ति पार्टीबाट खेमबहादुर थारु, नेकपा एकिकृत समाजवादीका डिलबहादुर केसी चुनावी मैदानमा हुनु हुन्छ । यी मध्ये मुख्यत गठबन्धन, नेकपा एमाले र नागरिक उम्मुक्ति पार्टी विच प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा एमालेबाट निर्वाचन लडेका शालिकराम अधिकारीले बाँसगढी नगरपालिकाको मेयर भएर काम गरिसक्नुभएको छ ।
प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अञ्जु दहित , नेकपा एमालेका भक्तबहादुर वि.क., नेकपा एकिकृत समाजवादीका बखतबहादुर खडका, नागरिक उन्मुक्ति पाटिबाट रामकुमार चौधरी , स्वतन्त्र उम्मेदवार सुभाष पोखरेल लगायत ११ जना चुनावी मैदानमा हुनु हुन्छ ।
ती मध्ये गठबन्धनका उम्मेदवार, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिन्छ । दहितले बारबर्दिया नगरपालिकाको उपप्रमुखको रुपमा पनि काम गरिसक्नुभएको छ । यसपटक उहाँ प्रदेश सभामा चुनाव लड्दै हुनुहुन्छ ।






