गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

नवलपुर । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी-९ बर्दघाट(सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् ।

गैँडाकोट नगरपालिका-८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउनुहुन्छ । एक हजार पाँच सय स्थानीय जातका कुखुरा पाल्नुभएका आचार्यले मासिकरुपमा खर्च कटाएर रु ६० हजार बचत हुने बताउनुभयो । “परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ”, आचार्यले भन्नुभयो, “विदेसिनेहरु सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।”

कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने आचार्यलाई कुखुरापालनमा उहाँकी श्रीमती र परिवारको साथ मिलेको छ । कुखुरापालनमा लागेर पाँचजनाको परिवार सहजै पालिएको आचार्य बताउनुहुन्छ । “कुखुरापालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो”, आचार्यले भन्नुभयो, “कुनै पनि काममा निरन्तरता दिँदै र मेहनत गरेमा सफलता मिल्ने रहेछ ।”

यहाँ लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरापालन व्यवसायमा लागेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारमा दुबई बस्नुभएका मध्यविन्दु-३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बन्नुभएको छ । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिकरुपमा कुखुरा, बाख्रा र बङ्गुरपालन सुरु गर्दै स्वरोजगार बन्नुभएको छ ।

दुबईमा रहँदा मासिक रु एक लाखभन्दा बढी कमाई गर्ने उहाँ स्वेदशमै केही गर्ने चाहना बोकेर गाउँ फर्किएको बताउहुन्छ । “दुबईमा मेरो आम्दानी राम्रो थियो, ओभरटाइम गरेर त महिनामै एक लाखभन्दा बढी पैसा कमाउने गरेको थिएँ”, गुरुङले भन्नुभयो, “अहिले घरमै बसेर आफ्नै काम गर्दा पनि राम्रो कमाई भइरहेको छ ।” उमेरले ५२ वसन्त पार गर्नुभएका गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउनुहुन्छ ।

ADVERTISEMENT

“यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि फेरि विदेश जान मन लागेन”, गुरुङले भन्नुभयो, “लकडाउनको समयमा कुखुरापालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बङ्गुर पनि थपेको छु ।” पशुपन्छीपालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि उहाँलाई विदेश जान मन नलागेको अनुभव उहाँ सुनाउनुहुन्छ । “विदेश गएर अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ”, गुरुङले भन्नुभयो, “विदेश गएर अर्काको ठाउँमा मेहनत गर्नुभन्दा स्वदेशमै पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।”

नन्दे गुरुङकै २५ वर्षीय छोरा उत्तम गुरुङ दुई वर्ष दुबई बसेर गाउँमै फर्किनुभयो । अरूको देशमा काम गर्नुभन्दा घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि आफू पहिले गाउँ फर्किएको उत्तमको भनाइ छ । “अर्काको देशमा अरूले भनेकोअनुसार काम गर्नुपर्छ, केही काम बिग्रियो भने तबल पनि काट्छ अझै भएन भनेर गालीसमेत खानुपर्छ”, उत्तमले भन्नुभयो, “यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, बाबा र म मिलेर काम गर्छौं, धेरै सजिलो छ ।” घरमा आएर सुरु गरेको व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको उत्तमको भनाइ छ ।

“सुरुमा हामीले एउटा ठूलो खोर बनाएर पाँच सय ब्वायलर कुखुरा पाल्न सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दुई खोरमा गरी एक हजार पाँच सय जति ब्वायलर कुखुरा पालेका छौँ । कुखुरासँगसँगै बाख्रा र बङ्गुर पनि थपेका छौँ ।” बाबुछोराले पालैपालो कुखुरा, बाख्रा र बङ्गुरको हेरचाह गर्ने गरेको उत्तमको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उहाँहरु बताउनुहुन्छ ।

“हामीलाई बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “कुखुरा, खसीबोका तथा बङ्गुर खरिदका लागि व्यापारी घरमै आउने गरेका छन् ।” पछिल्लो समय कुखुरालाई खुवाउने दाना महँगिएका कारण केही अप्ठ्यारो भएको गुरुङले गुनासो गर्नुभयो । उत्पादन लागत बढेअनुसार बिक्री मूल्य नपाउँदा भने लगानी उठाउनै मुस्किल हुने गरेको गुरुङले दुःखेसो पोख्नुभयो ।

जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरापालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरुको विदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *