झापा १ मा को थियो ताकतवर ? अब कसले मार्ला बाजी ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

-सुरेन्द्र भण्डारी

झापा । तत्कालीन राजनीतिक विद्रोहको आधारभूमि रहेको झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ। समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिटपुटबाहेक देशको केन्द्रीय राजनीतिमा वर्चस्व जमाउँदै आएका छन्। २००७ देखि २०६२/०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रमोर्चामा रहेको छ। झापा विद्रोहको कर्मभूमि हो। यही कर्मभूमिबाट उदाएका नेता र नेतृत्वले अहिलेसम्म आफ्नो राजनीतिक कौशललाई कायमै राखेको देखिन्छ। २००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान र दुई वटा जनआन्दोलनमा झापा केन्द्रमा नै रह्यो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिककै जाँदा अहिले झापामा चुनावी सरगर्मी बढेको छ। दलका नेता तथा कार्यकर्ताहरूको सक्रियता समेत बढेको छ। केन्द्रीय राजनीतिमा स्थापित केही नेता अहिले मतदाताको घर घरमा छन्। मुख्यगरी सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले एउटा गठबन्धन बनाएको छ भने प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर छुट्टै गठबन्धन खडा गर्दै चुनावी मैदानमा होमिएका छन्।

राजनीति नेतृत्वका शीर्ष नेता केपी शर्मा ओली, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, राजेन्द्र कुमार लिङ्देन, अग्नि खरेल जस्ता नेताको प्रतिनिधि सभाका लागि उम्मेद्वारी रहेकाले झापामा चुनावी प्रतिष्पर्धा रोचक छ नै यहाँको चुनावी प्रतिष्पर्धालाई देशभरबाट नियालिनुले पनि झापामा नेताले चुनावी सरगर्मी बढाएको छ।

झापाका पाँच प्रतिनिधिसभा सदस्य पदका लागि ९४ जना र १० प्रदेश सभा सदस्य पदका लागि ९८ जनाको उम्मेद्वारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो।

झापा क्षेत्र नम्बर १ को कुरा प्रतिनिधि सभा सदस्य तर्फ- २१ जना जनाको मनोनयनदर्ता गर्दा भएको छ भने प्रदेश सभा सदस्य तर्फ १ (१) मा ६ जना र १ (२) मा १० जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो।

प्रतिनिधि सभातर्फ मुख्य प्रतिष्पर्धा गर्ने दल र उम्मेदवार

उम्मेदवारको नाम                    राजनीतिक दल
विश्वप्रकाश शर्मा                      सत्तारुढ गठबन्धन दल
अग्नि खरेल                              नेकपा (एमाले) राप्रपा गठबन्धन

शर्मा र खरेलको पहिलो भेट

प्रतिनिधि सभा सदस्य तर्फको निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ मा २१ जनाले मनोनयन दर्ता गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचमा नै मुख्य प्रतिष्पर्धा हुने देखिएपनि स्वतन्त्र र अन्य दल गरी २१ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो।

ADVERTISEMENT

सत्ता साझेदार दल नेपाली कांग्रेस- नेकपा (माओवादी केन्द्र) का तर्फबाट साझा उम्मेदवारका रुपमा विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ। दुई पटकको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारसँग पराजित बनेका उहाँ यो तेस्रो पटक चुनाव लड्दै हुनुहुन्छ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रबिन कोइरालासँग पराजित बनेका उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र कुमार कार्कीसँग पराजित हुनुभएको थियो।

विश्वप्रकाश यस पटक उहाँ नेकपा (एमाले) नेता अग्नि खरेलसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ। एमाले नेता खरेल पार्टी भित्र ‘हेभि वेट’ का नेताका रुपमा परिचित हुनुहुन्छ। झापा क्षेत्र नम्बर २ बाट निर्वाचनको तयारी गरिरहेका अग्निलाई पार्टीले १ नम्बर क्षेत्रमा टिकट दिएसँगै उहाँको भेट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भएको हो। दुवै नेता अहिले मैदान भिडिरहेका छन्।

नेपाली कांग्रेस यस अघि गुमेको क्षेत्र फर्काउने दाउमा रहेको छ भने नेकपा (एमाले) विरासत जोगाउने दाउमा देखिएको छ। पार्टी भित्र दुवै नेता हेभि वेटका रहेकाले झापा क्षेत्र नम्बर १ मा प्रतिष्पर्धा रोचक हुने निश्चित छ। एमाले नेता खरेलका लागि झापा क्षेत्र नम्बर १ को भूगोल नयाँ भएपनि शर्माका लागि पुरानै मैदान र भूगोल हो।

स्थानीय तह : नेकपा एमालेको बलियो उपस्थिति

झापा क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० पर्छन्।

गत स्थानीय तहको निर्वाचनमा यहाँका कूल २१ वटामध्ये एमाले एक्लैले १४ वटा वडा जितेको छ। स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) ले ३१ हजार २ सय ५२ मत ल्याएको थियो भने नेपाली कांग्रेसले २४ हजार ५९ मात्र ल्याएको थियो। यता माओवादी केन्द्रले ३ हजार ९ सय ५ मत प्राप्त गर्दा एक जना स्वतन्त्र उम्मेदवारले १ हजार ५४ र राप्रपाले ५ हजार ८ सय १ मत पाएका थिए। स्वतन्त्र र राप्रपा छोडेर गठबन्धनको मत जोड्ने हो भने पनि २ हजार ५ सय २ मतले नेकपा (एमाले) अघि छ।

स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई आधार मान्दा यो निर्वाचन क्षेत्रका रहेका वडा मध्ये एमाले एक्लैले १४ वटा वडा जितेको र गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसले ६ र नेकपा माओवादी केन्द्रले एउटा वडामा जित हासिल गरेका थिए।

बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसले सुरक्षित गरेको छ भने उपाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्य नेकपा (एमाले) ले हात पारेको छ। मेचीनगरमा कांग्रेसले मेयर, उपमेयर तथा ११ वटा वडाध्यक्ष पद गुमाएको छ भने नेकपा माओवादी केन्द्रले एउटा मात्रै वडाध्यक्ष पद जित्नुले पनि यहाँ एमाले बलियो शक्तिका रुपमा रहेको प्रष्ट छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज