गोठाला याम : बेंसी झरे भल्कोटी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

डम्मर बुढा मगर/बागलुङ । हिउँदमा बेंसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरूको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयहरू आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेंसी सुनसानजस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व सुरु भयो भने उनीहरू तबमात्रै बेंसी झर्न सुरु गर्छन् ।

चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नम्बर ६ मा पर्ने भर्कोबाङमा सयौं वस्तुभाउ र मानिसहरूको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयले आफ्ना पशुचौपायालाई लेकबाट झारेका छन् । असोज ५ भन्दा अगाडि कसैले पनि बेंसीमा पशुचौपाया झार्न नपाउने नियम छ । मकै भित्र्याइसकेपछि अहिले यो ठाउँ खुला र हरियाली छ । अब केही दिन स्थानीयका सयौं पशुचौपाया यहीँ हुनेछन् ।

लेकबाट झरेका सयौं पशुचौपायाले भर्कोबाङका पाटाहरू भरिएका छन् । ती पाटाहरूमा सयौंको संख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैंसी र भेडाबाख्राहरू निकै रमाइरहेका देखिन्छन् । गोठालाहरूले पाटाहरूको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरू अब केही दिन यही गोठमा दिनरात बिताउनेछन् । असोज ५ गतेलाई भल्कोटवासीले विशेष दिनका रूपमा पनि लिन्छन् । महिनौंदेखि परिवारसँग छुटेकाहरू पनि अब भेट हुन्छन् ।

स्थानीयले लेक जाँदा महिनौंलाई पुग्ने खर्चपर्च बोकेर जाने हुँदा बेंसी झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौं पशुचौपाया बेंसी झरेपछि दशैँ आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौं पशुचौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरू लेकमा लैजाने गर्छन् । करिब चार/पाँच महिना लेकमा बिताउँदा उनीहरूले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घिउ उत्पादन गर्ने र बेच्ने गर्छन् ।

ADVERTISEMENT

यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरू अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीयले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेंसी झर्न असोज ५ नै कुर्नुपर्ने नियम बनाएका छन् । ‘असोज ५ मा बेंसी झर्ने नियम हाम्रा पितापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौं, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकि यहाँका एकै परिवारले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेंसी झार्नेले यहाँ भएको घाँस एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकै पटक असोज ५ गते बेंसी झर्नुपर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्,’ स्थानीय धनेश्वर बुढाले भन्नुभयो ।

उहाँले असोज ५ भन्दा पछाडि आउँदा जरिवाना नलाग्ने बताउनुभयो । बुढा मगरले धेरैजसो गोठालेहरू असोज ५ मै बेंसी झर्ने र भेडी गोठालेहरू मात्रै अलि पछि मात्रै बेंसी झर्ने बताउनुभयो । उहाँले महिनौंलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय-समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरू लिएर फर्किने गरेको बताउनुभयो । ‘लेकबेंसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशुचौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौं, हिउँदमा बेंसी झर्छौँ,’ उहाँले भन्नुभयो, ‘थोरै चौपाया हुन्थे भने बेंसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या भएको हो, बाउबाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेकबेंसी गर्ने त हाम्रा लागि नौलो कुरा होइन, रहर भनौं कि बाध्यता भनौं, यो त गर्न परिहाल्यो ।’

गाउँका करिब दुई सय गोठालाहरू रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरू गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाईभैंसी गोठालाहरू केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेडाबाख्रा गोठालाहरू चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रूपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेंसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ ।

यस वर्ष भेडापालक तमबहादुर विकले असोज ५ मै भेडा बेंसी झार्नुभएको छ । उहाँले अघिल्ला वर्षहरूमा दशैँको दुई दिनअगाडि झर्ने गर्नुहुन्थ्यो । विकले यस वर्ष केही भेडालाई बजारमा लैजाने हिसाबले बेंसी छिटो झारेको बताउनुभयो । बर्खाको समयमा बेंसीमा भेडाहरू पाल्नै नसकिने हुँदा लेक लैजानुपरेको उहाँको अनुभव छ । स्थानीयको सयौं पशुचौपाया हुने भएकाले गाउँमा घाँस पुर्‍याउन सकिने अवस्था आएपछि आफूहरू लेंकबेसी गर्नु पर्ने अवस्था भएको उहाँको भनाइ छ । निसीखोलाका अधिकांश स्थानीयले पशुपालन नै गर्ने गर्छन् । खासगरी निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयहरू यसतर्फ बढी केन्द्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?