विवेक खड्का/दाङ । देउखुरीमा चिरान गरिएको अवस्थामा सालको अवैध काठ बरामद भएको छ । डिभिजन वन कार्यालय देउखुरीले राप्ती गाउँपालिका-९ बाट सालको अवैध चिरान काठ बरामद गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले ९४ थान अर्थात् १०२ दशमलब ५४ क्युफिट चिरान घप्पु बरामद गरेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिनुभयो ।
वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको बारीबाट ४८ थान, स्थानीय मोतीराम ओलीको बारीबाट २९ थान र दुर्याेधन घर्ती मगरको बारीबाट १७ थान घप्पु बरामद गरिएको हो । बरामद गरिएको काठ सब डिभिजन वन कार्यालय गढवामा राखिएको छ । ‘अझै त्यहाँ सालको अवैध काठ भएको अनुमान छ । हाम्रा कर्मचारी पुगेर अनुगमन गर्ने काम चलिरहेको छ,’ सूचना अधिकारी चौधरीले भन्नुभयो, ‘वन क्षेत्रमा कटान भएका रुखका ठुटाहरूको समेत अनुगमन चल्दैछ ।’ अघिल्लो संसदीय निर्वाचनको समयमा पनि झण्डै एक हजार क्युफिट साल काठ कटान गरिएको अवस्थामा बरामद गरिएको थियो । पाँच वर्षपछि पुनः संसदीय निर्वाचनको पेरिफेरीमा सालका काठ बरामद भएको हो ।
‘पाँच वर्षको अन्तरालमा बरामद भएको यो परिमाण अहिलेसम्मकै ठूलो हो,’ चौधरीले भन्नुभयो, ‘घटनाको अनुसन्धान भइरहेको छ । अहिले काठमात्रै बरामद भएको छ । अनुसन्धानका क्रममा जसको बारीबाट बरामद भएको छ, उहाँहरूलाई समेत अनुसन्धानका क्रममा सोधपुछ हुन्छ ।’ बिक्री गर्ने उद्देश्यले बारीमा लुकाएर राखिएको अवस्था थियो । बाटोको नजिक निकासी गर्न ठिक्क पारिएको अवस्थामा वन कार्यालयले छापा मार्दा काठ फेला परेको हो । काँचो सालको रुख कटान गरेर घप्पु तयार पारेर निकासीको तयारी थियो । काठ कटान भएको र निकासी हुँदै गरेको खबर डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीलाई आएको थियो । सूचना पाएलगत्तै क्षेत्रीले छोटेलाल चौधरीको नेतृत्वमा वनरक्षकसहितको टोली सम्बन्धित स्थानमा पठाउनुभएको थियो । मंगलबार दिनभर टोलीले छापा मारेको थियो । बेलुका दुईवटा ट्याक्टरको मद्दतमा काठलाई सुरक्षितरूपमा सब डिभिजन वन कार्यालयमा राखिएको हो । जनप्रतिनिधिकै बारीबाट सालको अवैध काठ बरामद भएको घटनालाई वन कार्यालयले गम्भीरतापूर्वक अनुसन्धान गर्ने जनाएको छ ।
‘जो दोषी हो, उसलाई कानुनी दायरामा ल्याउछौं,’ डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले भन्नुभयो, ‘अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान भइरहेको छ । प्रतिवेदनका आधारमा कारबाही अघि बढ्छ ।’ त्यस्तै, गढवा गाउँपालिकाको गोबरडिहाबाट सात थान चिरान घप्पुसहित एकजनालाई पक्राउ गरिएको छ । ५ दशमलब ८३ क्युफिट काठ बरामद भएको छ । गढवा-५ पर्नाहा निवासी जित चौधरीलाई सालको काठसहित पक्राउ गरिएको र म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । यता, वडाध्यक्ष रिमबहादुर सुनारी मगरले अवैध काठ कटानीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । ‘पहाडका बारी कहाँसम्म हुन्छन् तपाईंलाई थाहा नै होला । भेटिएको काठ मेरो होइन, त्यो बेवारिसे हो,’ उहाँले दाबी गर्दै भन्नुभयो, ‘बेवारिसे भनेर मुचुल्कामा मैले पनि हस्ताक्षर गरेको छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच