सुध्रिएनन् राजमार्गका होटल, अधिकांश मापदण्ड विपरीत सञ्चालनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 10 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । राजमार्गमा सञ्चालित प्रायः होटल सरकारी मापदण्डबाहिर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मलेखु, मुग्लिङ र रामनगरका होटलमा गरेको अनुगमनमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्दा अनुगमन भएकामध्ये ५० प्रतिशतभन्दा बढी होटल दर्ता नभएको भेटिएको छ । धादिङको राजमार्ग क्षेत्रमा सञ्चालित १८ वटा होटल तथा खाजा घरहरूमा अनुगमन गर्दा ११ वटा कारबाहीमा परेको घरेलु कार्यालय धादिङले जनाएको छ ।

राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरूमा पटक–पटक अनुगमन गर्दै जरिवाना तिराएर छाड्ने विगतको चलनलाई निरन्तरता दिँदै यसपटक पनि जिल्ला अनुगमन टोलीले १८ वटा अनुगमन गरी ११ वटा होटल तथा खाजाघरलाई कारबाहीस्वरूप जरिवाना तिराएको हो । भदौ १८ गते शनिबार २६ वटा अनुगमन गर्दा १५ वटा कारबाही परेको जिल्ला घरेलु कार्यालय धादिङले जनाएको छ । सरसफाइमा ध्यान नदिई कानुनी प्रक्रिया पनि पूरा नगरी ती होटलहरू सञ्चालन भइरहेका छन् । वर्गीकरण गर्दा होटलको बाहिरी परिधि सफा तथा फोहोरमुक्त भए÷नभएको, भुइँ, भित्ता र सिलिङ सोस्ने/नसोस्ने, सजिलै सफा गर्न सकिने किसिमले बनाइएको/नबनाइएको र तिनीहरू ठीक अवस्थामा रहे÷नरहेको लगायत आधारमा मूल्यांकन गरेको छ । यी विविध आधारमा अति उत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइन्छ ।

वर्गीकरणका क्रममा कममात्र होटल, रेष्टुरेन्टको अवस्था सन्तोषजनक भेटिएको हो । वर्गीकरण गरिएका होटलले नियम उल्लंघन गरे एक महिनाभित्र सुधार गर्नुपर्छ । छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार भएको नपाइए स्तरीकरण लोगो एक तह घटाउने वा खारेज हुनसक्छ । यसअघि विभागले निर्देशिका जारी भएपछि राजमार्गका होटलको वर्गीकरण गरेको थियो । त्यसबेला मलेखु, रामनगर, मुग्लिङ, मकवानपुर, इटहरी, कोहलपुर, सिन्धुली, खुर्कोटलगायत राजमार्गमा स्टिकर वितरण गरिएको थियो । होटल सञ्चालकले बस चालकलाई खानासहित भत्ता पनि दिने र उपभोक्तालाई बिक्री गर्ने खाद्यवस्तुको गुणस्तरमा भने कम्प्रमाइज गरेको छ ।

नागढुंगा-नौबिसे सडकखण्डको जामले र राजमार्गका होटलमा सडेगलेका खानाले गर्दा यात्रुहरू मारमा परेका छन् । जामकै समयमा होटल सञ्चालकले यात्रुहरूसँग चर्को मूल्य असुली कमाउने माध्यम भएको छ । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएन भन्दा होटलका सञ्चालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेको पाइएको छ । केही दिनअघि काठमाडौंबाट धादिङ आउँदै गर्नुभएकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम माग्नुभयो तर खान सक्नुभएन । खान मिल्ने नै थिएन । खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजाघरमा भेटिनुभएकी अधिकारीले भन्नुभयो, ‘मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । मुखमा हाल्न सक्ने नै थिएन । गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ ।’ राजमार्ग होटलमा हुने यस्तो घटना भने कुनै नौलो होइन ।

ADVERTISEMENT

राजमार्ग होटलले अहिले सादा खानाको दुई सय रुपैयाँ र मटन खानाको तीन सय रुपैयाँ लिने गरेको छ । खाना पनि खानै नसक्ने अवस्थाको हुन्छ । सरकारले मूल्यसूची अनिवार्यरूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन । गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याउने गर्दछन् । खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुव्र्यवहार सहनुपर्छ ।

व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्काे मूल्य असुल्दै आएका छन् । यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ । गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन् ।

दार्चुलाबाट काठमाडौं आउँदै गर्नुभएका तारादत्त भट्ट चढेको गाडी पृथ्वी राजमार्गको खयरघारीस्थित कान्तिपुर होटलमा खाजा र खाना खान रोकियो । भट्टले खाना मगाउनुभयो तर दुई गाँस पनि खान सक्नुभएन । सार्वजनिक यातायात चढेर यात्रामा रहनुभएका उहाँलाई बस जहाँ रोकिन्छ त्यहीं खाना खानुको विकल्प पनि थिएन । भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबरजस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गर्नुभयो । राजमार्गका होटल तथा रेष्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्वीकार्ने गरेका छन् । पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ । अनुगमनमा परेका अधिकांश होटल फोहोरी भेटिएका छन् । बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वी राजमार्गअन्तर्गतको धादिङको चरौंदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजाघर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ । गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन् ।

होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटललाई कारबाही पनि गरिएको छ । स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्यसूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ । मूल्यसूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ । सरकारी निकायले अनुगमन नियमित नगर्ने गरेको गुनासो पनि सुनिन्छ तर सरकारी निकायले भने कर्मचारीको कमी, छोटो समयमा कार्यालय प्रमुख तथा कर्मचारीको सरुवा, भौगोलिक जटिलतालगायतका कारण बजार अनुगमन नियमित हुन नसकेको बताउँदै आएको छ । प्रत्येक दिन अनुगमनमै खटिने जनशक्ति नभए पनि आवश्यकताअनुसार अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?