वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।

सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँसिएको उहाँको भनाइ थियो ।

“यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ”, खाँणले भन्नुभयो, “वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पुर्‍याउँछौंँ ।” सरुवा रोगको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँको छ ।

ADVERTISEMENT

नसर्ने रोगका बारेमा पनि नागरिकलाई सचेत बनाइने भएको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । उहाँका अनुसार अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन प्रत्येक वडामा नर्सहरु खटाइसएिको छ ।

नर्समार्फत नागरिकमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगका बारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुनसक्छ भन्ने विषयमा सचेतना जगाउने काम गरिने गैह्रेले बताउनुभयो । “सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो”, उहाँले भन्नुभयो, “यहाँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पठाएका छौँ । प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने र बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनेछ ।”

विशेष गरी ग्रामीण भेगमा बस्ने नागरिकले नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । नगरपालिकाले घरघरमा नम्बर प्लेट टाँससँगै घरका सदस्यको स्वास्थ्य अवस्थाको सबै विवरण राखिने भएकाले पनि पहिचान गर्न सहज हुने उहाँको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज