नेपालीहरूका घर आँगनमा चाडपर्वहरू आउनै लागेका छन् । वर्षा ऋतु सकिनै लागेको छ र अब शरद् ऋतु केही दिनमै पदार्पण गर्दै छ । शरद् ऋतुका यिनै दुई महिना असोज र कात्तिकमा हिन्दु धर्मावलम्बी नेपालीहरूका सबैभन्दा ठूला चाड दशैँ र तिहार पर्दछन् । हुन त अरू बेला अरू जातजाति र धर्मावलम्बीहरूका विभिन्न चाडपर्व आउँछन् र तिनका लागि पनि नेपालको वर्तमान राज्यप्रणालीले उत्तिकै सम्मान प्रकट गरेको छ तापनि नेपाल हिन्दू बाहुल्य राष्ट्र भएका कारण नेपालमा चाडपर्वहरूको अभ्यास र अवलम्बन गर्ने समयका रूपमा उम्दा समय यिनै असोज र कात्तिक महिनाले लिने गरेका छन् । यसकारण स्वाभाविक रूपमा मानिसहरूका आशा र उमंग बढ्ने गर्छन् । राम्रो लाउने र मिठो खाने जोहो चाँजो मिलाएका हुन्छन् ।
धनीहरूका लागि त्यति फरक नपर्ला तर गरिबहरूले वर्षभरि मिहिनेत गरी कमाएर परिवारका सबै जनासँगै बसेर चाड मनाउने सपना बोकेका हुन्छन् । व्यापारी व्यवसायीहरूको पनि यही बेला अलिकति बढी आर्जन गर्ने सपना हुन्छ । त्यसका लागि आफ्नो भएको पुँजी लगानी गरेर आवश्यक उपभोग्य सामग्रीहरू ल्याउने प्रयास गरेका हुन्छन् । तर, आपूmले भनेजस्तो नहुँदा उनीहरूको आफ्नै लगानीसमेत डुब्ने सम्भावना रहन्छ । हाल यस्तै भइरहेको छ । एकातिर बजारमा तरलताको कमी भएका कारण विभिन्न सहकारी तथा बैंक अप्ठ्यारोमा परिरहेका छन् । तीमध्ये केही धमाधम मर्ज भइरहेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् ।
यसबाट बचतकर्ताको रकम डुब्ने अवस्था सिर्जना भएको छ । अर्कातिर आयातमा समस्या भएका कारण नेपाली व्यापारीहरूका सामान विदेशी चिनियाँ नाकामा रोकिनाले समग्र नेपाली बजार नै यसबाट प्रभावित बन्ने अवस्था सिर्जना भएको छ । नेपाली बजारमा अत्यधिक मात्रामा चिनियाँ सामग्री खपत हुन्छन् । नेपाली व्यापारीहरूले पनि चिनियाँ सामग्री नै झिकाउने गर्छन् । दशैँ-तिहारको बेला अर्बाैंको व्यापार हुने गर्छ तर चिनियाँ नाकामा मालसामान रोकिनाले चावपर्वहरू प्रभावित हुने भएका छन् । नेपाली व्यापारीहरूको करोडौंको लगानी पनि खेर जाने भएको छ ।
गत वर्ष पनि यस्तो अवस्थाको सिर्जना भएको थियो । जुन समयका लागि मालसामान ल्याइन्छ सो समयमा व्यापार र प्रयोग गर्न नपाउने हो भने त्यसको उपयोगिता कम हुन जान्छ । नेपाली व्यापारीहरूले सोही कारणले गत वर्ष व्यापार घाटा व्यहोर्नु परेको थियो । अहिले त्यही अवस्थाको पुनरावृत्ति हुनेभएको छ । केही व्यापारीले यस्तै कारणले आत्महत्या गरेका समाचारहरू समेत सुनिएको छ । २०७२ सालको भुइँचालोदेखि खासा नाका पनि प्रभावित भएको थियो । यसरी अर्डरका सामग्रीसमेत व्यापारीहरूले ल्याउन नपाएपछि बजार महँगो हुने नै भयो । अझै नियतवस महँगी बढाउने कालाबजारीका लागि यो राम्रो मौका हुनसक्छ । त्यसैले चाडबाडका बेला महँगी अत्यधिक बढ्छ । निम्न वर्गीय धेरै नेपालीहरूका लागि चाड मनाउँनै नसक्ने अवस्थाको सिर्जना हुन्छ ।
यसबाट सिर्जित अनेकौँ नकरातमक परिणामसमेत नेपाली समाजले व्यहोर्नुपर्ने हुन्छ । यो व्यापारीहरूको मात्र समस्या होइन न त उपभोक्ताको मात्र, यो सबैको साझा समस्या हो । सरकारको पनि समस्या हो र यसको समाधान खोज्नु सरकारको पहिलो दायित्व हो । सरकारी स्तरबाट दिपक्षीय वार्ता गरी सकेसम्म छिटो यस समस्याको समाधान खोज्नुपर्छ । चीन सरकारका लागि आफ्ना व्यापारिक सामग्री रोकेर कुनै प्रकारको फाइदा त हुँदैन । त्यो कुरा चिनियाँ सरकारलाई पनि बुझाउन सक्नुपर्छ । त्यसैले समस्या कहाँनेर छ त्यो थाहा पाउन दुवै पक्ष एक ठाउँमा बस्नुपर्छ र वार्ताबाट समाधान खोज्नुपर्छ । यसो भएका खण्डमा नेपाली व्यापारीहरूको करोडौँको लगानी डुब्दैन र नेपाली उपभोक्ताहरूले समय सन्दर्भका सुलभ प्रकारले उपभोग्य सामग्रीको उपभोग गर्न पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच