वालिङका महिला सामूहिक बाख्रापालनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

वालिङ । यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका-६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् ।

स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताउनुभयो । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्‌मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल गर्‍यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।”

गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाउन महिलाहरु सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।”

ADVERTISEMENT

समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताउनुभयो । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।”

समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरु चलाउने गरिएको सचिव थापाले बताउनुभयो ।

पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०/१० हजार नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *