पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट करिव ४,३८० मिटरको उचाईमा अवस्थित सो कुण्डमा दशहरा र जैनपूर्णिमामा गरि वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । जैनपूर्णिमाका दिन भने श्रद्धालुहरूको बोक्लो उपस्थिति रहने गर्दछ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि। यहाँको प्राकृतिक वनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मनतान्ने गर्दछ ।
धार्मिक दृष्ट्रिकोणबाट गोसाइँ भगवान श्री शिवले समुन्द्र मंथनबाट उत्पन्न कालकुट विषको डाह शान्तपार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशुलले जमिनमा हिर्काउदा गंगाजल (त्रिशुलधारा) उत्पति भएपछि कुण्डमा शयनगरि चिसो पानीद्धारा विषको डाह शान्तपारेको हुँदा गोसाईकुण्डमा त्रिशुलधाराको पानी गोसाई महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दामाथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।
त्रिशुली नदीको उद्गम स्थलत्रिशुलधारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्वा, विभिन्न वन्यजन्तु, चराचुरुङगी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ ।
काठमाडौंबाट विभिन्न बाटो हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ । काठमाडौंबाट धुन्चे हुँदै पैदल यात्राबाट पुग्न सकिने गोसाईकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदलयात्रा पनि निकै आकर्षक रहेको छ। त्यसैगरि सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङफेदीतालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ । त्यसैगरि मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रागरि गोसाइँकुण्ड पुग्न सकिन्छ ।















