दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि समान रहेको किसानको गुनासो छ ।

बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका-४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताउनुभयो । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्धि भए पनि दूध भने दशवर्ष अघिकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

चौबीस वर्षीय किसान विष्टले पाँच वर्षदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो,‘‘अन्य वस्तुको बजार मूल्य धेरै बढेको छ । गाईबस्तुलाई खुवाउने दानामा २५ देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । तर दूध भने पहिलाकै मूल्यमा बिक्री गर्दै आएको छु । यसको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ ।’’बजारमा दूधको मूल्य रु ७० देखि १०० सम्म भए पनि आफूले भने रु ४५ देखी ५५ सम्म मात्र पाउने गरेको उहाँको भनाइ छ ।

सरोकारवाला पक्षले दूधको मूल्य वृद्धिमा ध्यान नदिए पनि दुग्धजन्य वस्तुको मूल्यमा वृद्धि गर्न भने लागि परेको उहाँको भनाइ छ । खाने तेल, घ्यु, पनिर, छुर्पीको मूल्य दोब्बरले वृद्धि हुँदा किसानले पाउने मूल्य भने समान रहेको विष्टको भनाइ छ । ‘‘सरोकारवाला पक्षले ध्यान नदिँदा हामी किसान मारमा परेका छौँ’’ किसान विष्टले भन्नुभयो,‘‘अनेक दुःख कष्ट गरेर दूध उत्पादन गर्‍याे । बजारमा मूल्य बढ्ने होइन । एक पोका खाने तेलको मूल्य दोब्बरले बढेको छ । व्यावसायिक किसानलाई दूध बेचेको पैसाले दाना किन्न पनि पुग्दैन । ’’

केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । तर ती किसान पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहजरुपमा बजारसम्म लैजाने वातावरण छैन् । सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरिला, ढुङ्गेलगायत ठाउँका मानिस पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् । तर उनीहरुमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।

ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाई दिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् ।

ADVERTISEMENT

बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउछन् । एक देखि डेढघण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका-५ बोखिमका किसान रुपनारायण फूँयालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘किसानले दूध बेचेर आम्दानी लिने अवस्था छैन । किसानले बजार लगेर बेचेको दूधबाट बनेको परिकारको मूल्य बढ्छ । तर किसानले भने वर्षौँदेखि उही मूल्य पाउने अवस्था छ । दूध बिक्री गरेर घर खर्च धान्न नै समस्या छ ।’’व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाले दही, घ्यु, पनिर, छुर्पी लगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको स्थानीय किसान धनबहादुर थापाको भनाइ छ ।

उहाँले भन्नुभयो,‘‘हामी किसानले उद्योगमा लगेर बिक्री गर्दा ४५ देखि ५५ रुपैँया पाउछौँ । मैले बिक्री गर्न थाल्दा यही मूल्य थियो । उद्योगले प्रति केजी रु ८०० मा बिक्री हुँदै आएको घ्यूको मूल्य रु एक हजार दुई सय र रु ८० मा बेच्दै आएको दही रु ९० पुगेको छ । तर दूधको मूल्य बढाउन व्यवसायी मान्दैनन् । हामी किसान मारमा छौँ ।’’
व्यावसायिलाई दूधको मूल्य बढाउन अनुरोध गर्दा दूधको गुणस्तर राम्रो भएकोलगायत बहाना देखाएर बढाउन नचाहने किसानको दुःखेसो छ । किसानको दूधको मूल्य नबढाए पनि दुग्धजन्य वस्तुको मूल्य भने बर्सेनि बढ्ने गरेको उनीहरुको भनाइ छ ।

दूग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयवासीको भनाइ छ । सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालनन गराउनुपर्ने आवश्यक रहेको उनीहरुको ठहर छ ।

उद्योगको विकास तथा विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकास भन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् । समय/समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन्, तर ती उद्योगले खास उपयुक्त ढङ्गले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयवासीको भनाइ छ ।

बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको स्थानीय किसानको भनाइ छ । यहाँ उत्पादन भएको दूधलाई बजारीकरणको लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने स्थानीयवासीले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *