शहरको व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरू काठमाडौं उपत्यका नजिकाका रमणीय स्थलहरुको खोजीमा छन्। डाँडामा हाइकिङदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरू। अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ चन्द्रागिरि नगरपालिकामा पर्ने चन्द्रागिरी हिल्स ।
समुन्द्री सतहबाट झण्डै २ हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडा करिब १२ मिनेट केबुलकार यात्रामा पुग्न सकिन्छ । करिब दुई वर्षदेखि सञ्चालन भइरहेको चन्द्रागिरि केवलकार महत्वपूर्ण आकर्षण बनेको छ । प्राकृतिक मनोरम दृश्य तथा उचाइको मज्जा लिन ठूलो संख्यामा पर्यटक जाने गरेका छन्।
केबलकारमार्फत चन्द्रागिरि जानेहरूको बिदाका साथै अन्य दिनमा लर्को लाग्ने गरेको छ। बच्चादेखि वृद्धासम्मका सबै सुविधा उपलब्ध रहेकाले नै यो स्थान धेरैको रोजाइ बनेको हो । जहाँ रहेको पहाडी स्टेसन पर्यटकका लागि थप आकर्षक बनेको छ ।
काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकास र चन्द्रागिरि केवलकारले महत्वपूर्ण योगदान गरेको छ । चन्द्रागिरिको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ।














