एक दृश्यका कारण माग्ने बुढाले माफी माग्नुपर्‍यो

Read Time = 3 mins

काठमाडौं । टेलिभिजन र युट्युबमार्फत प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’का निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले शोको एक दृश्यका कारण माफी माग्नुभएको छ । शोको १०औं भागको ट्रेलरमा भगवान् शिवलाई युवतीसँग मस्किएको देखाइएको थियो । ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

आलोचना भएपछि निर्देशक घिमिरेले सामाजिक सञ्जालमार्फत माफी माग्नुभएको हो । उहाँले कमेडी हबबाट शिवको दृश्य हटाएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको ‘कमेडी हब’ कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अञ्जानमा हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष क्षमा माग्दछौं । साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैबाट हटाइसकेका छौं ।’

ADVERTISEMENT

कार्यक्रममा केदारप्रसाद घिमिरेसँगै राजा राजेन्द्र, ‘कमेडी च्याम्पियन सिजन १’ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुनमगर (खबपु), चञ्चल मगर, सुवोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), वेदना राई, सीता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दीपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गरिरहनु भएको छ ।

यो शोले टिमले सोचे अनुरूप चर्चा नपाउँदा निर्माण टिम तनावमा रहेको पनि कलावृतमा चर्चा छ । खर्च बढी तर चर्चा कम हुँदा निर्देशक घिमिरेसहित कलाकारको टिममा तनाव सिर्जना भएको भन्ने चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?