सडकले जोड्यो खुसीसँगै समृद्धि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–४ किरी गाउँका ८१ वर्षीय लालबहादुर अर्गेजाको मुहारमा आजभोलि छुट्टै खुसी देख्न सकिन्छ । करिब सात दशकको जीवन यात्रामा अनेकौँ दुःख संघर्ष गर्नुभएका लालबहादुरलाई अहिले सानो कुराले ठूलो खुसी दिएको छ । उहाँ यसरी खुसी हुनुको कारण हो गाउँछेउमै दैनिक दर्जनाँै मोटर गुड्नु । लालबहादुरको गाउँमा अझै मोटरबाटो पुगेको छैन । तर, उहाँ छिमेकी गाउँ सडकले जोडिँदा पनि खुसी हुनुहुन्छ । सोही गाउँ हुँदै आफ्नो घर पुग्न लालबहादुरलाई करिब आधा घण्टा लाग्छ । किरी गाउँ जिल्लाकै दुर्गम गाउँ हो । मुलुक संघीय संरचनामा गएपछि पछिल्लो समय विकासले गति लिन थालेको छ ।

लालबहादुरले गाउँनजिकै सडक नआउँदासम्म निकै दुःख भोग्नुपरेको सुनाउँदै अब दुःखका दिनहरू विस्तारै हट्दै जाने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्षअगाडिसम्म बुटवल, सुनवललगायत शहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उहाँको भनाइ छ । ‘आजभन्दा १५/२० वर्षअगाडि अहिलेको जस्तो सुविस्ता (सुविधा) थिएन, खसौली, बटौली, सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ,’ उहाँले भन्नुभयो, ‘उतिबेला नुन, चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ताचप्पल भन्ने चिज त हाम्रा पालामा पाइँदैनथ्यो ।’

विस्तारै मुलुकमा विकास हुँदै गएपछि गाउँभन्दा केही तलसम्म सडक आएपछि त्यो सुविधा अहिले गाउँमै लिन सकिने उहाँ बताउनुहुन्छ । लालबहादुरले सुनवल, बुटवल, तानसेन, भुवाचिदी, खर्बाङ, भिमगिठे हुँदै बुर्तिबाङबाट लामो समयसम्म आवश्यक सामानहरू घोडाखच्चडमा ढुवानी गरेर गाउँसम्म ल्याएको अनुभव सुनाउनुभयो ।

‘गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०/१२ दिन लगाएर खसौली, बटौली जानुपथ्र्यो, त्यसपछि माथि–माथि मोटरबाटो आउन थाल्यो, पछि खर्बाङ, भिमगिठे र बुर्तिबाङमा पनि गाडी आउन थाले त्यसपछि हामीलाई पनि सहज हुन थाल्यो,’ लालबहादुरले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।’

ADVERTISEMENT

उहाँले आफ्नो जीवनकालमा गाउँमा मोटरगाडी गुड्लान् भन्ने कल्पना नगरेको भन्दै अहिले गाउँमा गाडी गुड्दा खुसी लाग्ने बताउनुभयो । गाउँमा मोटरबाटो पुगेपछि लालबहादुरजस्ता सयौँ बुढापाका र स्थानीय बासिन्दामा खुसी लागेको छ ।

सडकले उनीहरूले भोगेका पुराना दुःख भुलाएको छ । वडा नम्बर ४ कै फलामखानीकी ७६ वर्षीया पानमती विकको अनुभव पनि लालबहादुरकै जस्तै छ । जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिकी चलाउनुभएकी पानमती अहिले घरनजिकैबाट आवश्यक सामान किन्न पाउँदा दंग हुनुहुन्छ । मुस्ताङको थाकखोलाबाट नुन बोकेर ल्याएर उपभोग गर्नुभएकी पानमतीले अहिले नुनमात्रै होइन दैनिक जीविकामा चाहिने सामान घरैनजिक पाउन सक्नुहुन्छ । ‘यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५/२० दिन हिँडेर मुस्ताङ पुग्नुपथ्र्यो, अहिले नुन, सुन जे भने पनि गाउँमै पाइन्छ, गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ,’ पानमतीले भन्नुभयो, ‘तर, अहिले हामीले नसोचेको विकास भयो ।’

उहाँले मोटरगाडीहरू ठूला–ठूला शहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको बताउनुभयो । सडक सञ्जालले गाउँ नजोडिँदा पिठ्युँमा नुनचामल बोकेर उपभोग गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिनहरू कहिल्यै नआउने उहाँले बताउनुभयो । गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गर्दै आएका थिए । अहिले सडक सुविधाले गर्दा गाडीमार्फत् बिरामीलाई अस्पताल लैजान सकिनेछ । ‘पहिले त गाडी भन्ने सुनेका मात्रै थियौँ, गाउँमा कोही बिरामी पर्दा डोकोमा, डोलामा बोकेर अस्पतालसम्म लैजाने गथ्यौँ, समयमा अस्पताल नपुग्दा कतिको बाटैमा मृत्युसमेत भयो,’ उहाँले भन्नुभयो, ‘अहिले त अस्पताल पनि नजिकै छ, कोही बिरामी पर्यो भने तुरुन्तै गाडीमा लैजान सकिन्छ ।’

ढोरपाटन नगरपालिका–४ मा दुईवटा मुख्य सडक छन् । बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडक यहाँका मुख्य सडक हुन् । बुर्तिबाङ–बोङ्गादोभान सडक यस वडामा करिब पाँच किलोमिटर पर्छ भने बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउरालीधारा हुँदै जोड्ने सडक करिब २० किलोमिटर पर्छ । यस सडकलाई वडाको ‘लाइफ लाइन’ का रूपमा लिइन्छ ।

ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनले आफूहरू निर्वाचित भएर आएपछि वडामा धेरै सडक निर्माण गरेको र अझै केही बस्तीमा पु¥याउन बाँकी रहेको बताउनुभयो । बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडक स्थानीय तह गठन नहुँदै खुलेका थिए । यस सडकले वडावासीको मुहार फेरेको अध्यक्ष पुनले बताउनुभयो । बुर्तिबाङ–बोङ्गादोभान सडक र बुर्तिबाङ–हुन्द्राफेदी, धाइबाङ, छोरेगाउँ, खुङ्गा, देउराली धारा हुँदै जोड्ने सडकका केही ठाउँमा आफूहरू आएपछि ट्र्याक फेरेर केही सहज बनाएको र थप सडकहरूको ट्र्याकसमेत खोलेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज