दुर्गम गाउँमा १० शैयाको अस्पताल

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा पालिका स्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । केन्द्र सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको छ । अस्पताल आगामी २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा लिएको गौतमको भनाई छ । अस्पताल १० शैयाको निर्माण हुने उहाँको भनाई छ । ‘अस्पतालको सम्झौताको काम पूरा भएर निर्माण सुरु भएको छ, आगामी २०८० पौषसम्म सम्पन्न हुने गरि सम्झौता भएको छ’ उहाँले भन्नुभयो ।

अस्पतालको लागत ठूलो ठूलो भएको हुँदा निर्माण समय लामो भएको उहाँको भनाई छ । केन्द्र सरकारले कार्य प्रगतिको आधारमा बजेट दिने गौतम बताउनु भयो । अस्पताल भवन सुविधा सम्पन्न हुने बताइएको छ । अस्पताल निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा लिइएको छ । भवन दुई तले हुने गौतम बताउनु भयो ।
भवन निर्माणका लागि गाउँपालिकाले केही समय अगाडी नै आठ रोपनी निशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीयहरुले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्षनै अस्पतालको शिलान्यास गरेको थियो । अघिल्लो वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने बल्ल सुरु भएको छ ।
अस्पताल विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ । झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनु भयो । उहाँले वर्षौँदेखि यहाँका नागरिकहरु सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माण पश्चात गाउँ ठाउँबाटै सहज सेवा लिन सक्ने बताउनु भयो ।

ADVERTISEMENT

‘निसीखोलाका दूर दराजमा रहेका नागरिकहरुले वर्षौँदेखि सहज रुपमा स्वास्थ्य सेवा लिन पाइरहेका छैनन्, सामान्य स्वास्थ्य सेवा पाउन नसकेका नागरिकले यहाँ अस्पताल निर्माण पश्चात विशेषज्ञ सेवा पाउने छन् भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘सहज स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख दायिवत्व हो । विगतमा धेरै नागरिकले स्वास्थ्य उपचारका लागि दुःख पाए अब त्यो समस्याको समाधान गर्ने तर्फ हामी छौँ ।’
अध्यक्ष घर्ती मगरले विगतमा यहाँका धेरै नागरिकले स्वास्थ्य उपचार नपाएर अगालमा ज्यान गुमाउनु परेको भन्दैल अब कुनै पनि नागरिकले स्वास्थ्य उपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो । उहाँले सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नु पर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसा समेत बचत हुने बताउनु भयो ।
‘निसीखोलामा अझैसम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुन सकिराखेको छैन, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरु त हामीले स्थापना गरेर संचालनमा छन् तर विशेषज्ञ सेवा भने दिन सकिराखेका छैनौँ, त्यसका लागि ठूला–ठूला अस्पतालहरुमा पुग्नु पर्ने अवस्था यथावत छ,’ उहाँले भन्नुभयो ‘अब त्यो अवस्थालाई पार लगाउनु पर्ने हिसाबले काम सुरु गरेका छौँ ।’

यस क्षेत्रमा स्वास्थ्य चौकीबाट ठूला अस्पतालहरु छैनन् । त्यस कारणले गर्दा यहाँका हजारौँ नागरिकहरु सामान्य बिरामी हुँदा बित्तिकै बुर्तिबाङ जाने गर्छन् । बुर्तिबाङमा उपचार हुन सकेन भने पोखरा, काठमाडौँ, पाल्पा, भरतपुर लगायत देखका ठूलो अस्पतालहरुमा जानु पर्ने बाध्यता छ । निसीखोलामा अहिलेसम्म पनि विशेषज्ञ सेवा प्रदान हुन सकेको छैन । निजी क्षेत्रले पनि यो सेवा उपलब्ध गराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?