-बाबुराम श्रेष्ठ
धादिङ । धादिङमा यस वर्ष ६८ प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा साउनको ४ गतेसम्ममा ७ हजार ५८८ दशमलव १२ हेक्टरमा क्षेत्रफल (६८ प्रतिशत) मा रोपाई सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।
धादिङको २ नगरपालिका र ११ गाउँपालिका मध्ये हालसम्म नीलकण्ठ नगरपालिकामा ७५ प्रतिशत, धुनीबेशी नगरपालिकामा ५५, नेत्रावती डबजोङ गाउँपालिकामा ९०, गल्छी गाउँपालिकामा ४०, गजुरी गाउँपालिकामा ७५, गंगाजमुना गाउँपालिकामा ८०, बेनिघाट रोराङ गाउँपालिकामा ७५, सिद्धलेक गाउँपालिकामा ८०, ज्वालामुखी गाउँपालिकामा ८०, त्रिपुरासुन्दरी गाउँपालिकामा ८५, खनियाबास गाउँपालिकामा ८०, रुवी भ्याली गाउँपालिकामा ८५ र थाक्रे गाउँपालिकामा ९६ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।
धादिङ किसानहरुले उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३, खुमल ४, ७, ६ लगायतका धान लगाउँदै आएका छन् । उन्नत जातको धान लगाउँदा बढी फल्ने भएकाले किसानहरु यस धान तर्फ आकर्षित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का किसान विन्दा श्रेष्ठले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘गत बर्ष कृषि ज्ञान केन्द्रले राहतमा वितरण गरेको उन्नत जात सावित्री धान लगाउँदा बाला लगाउने क्रममा बाला नलागि सुकेको थियो, फल भित्र्याउन पाएनौं । मिहनेत त्यत्ति कै खेर गयो । यस वर्ष बजारमा एग्रेभेटबाट लयाएर थोरै लगाएको छु । हेरौँ यो साल कस्तो हुन्छ । '
देशभरको तथ्याङकलाई हेर्ने हो भने यस वर्ष असारमा गतसालको भन्दा १६ प्रतिशत कम धान रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार असार मसान्तसम्म देशभरिमा ६० प्रतिशत धान रोपाई सम्पन्न भएको जनाएको छ । गतवर्ष असारमै ७६ प्रतिशत रोपाइँ भइसकेको थियो । केही स्थानमा ढिलो गरी मनसुन शुरू भएकाले यस वर्ष रोपाईको प्रतिशत घटेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिला गरी शुरू भएकाले रोपाइँ ढिला भएको हो । मनसुन पुनः सक्रिय हुना साथ साउन १५ सम्ममा ती प्रदेशमा सामान्य हिसाबले रोपाइँ भइसक्ने उहाँले बताउनु भयो ।
मन्त्रालयका अनुसार नेपालमा १५ लाख ४४ हजार हेक्टरमा धानखेती हुन्छ । नेपालमा वार्षिक करीव सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि सरकारले हालसम्म २ लाख १९ हजार टनमात्रै ल्याएको छ । यसले गर्दा रोपाईको सिजनमै देशभर मल अभाव भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच