-अनिल पोखरेल
सप्तरी जिल्लामा हालसम्म ७५ प्रतिशत धान रोपाइँ भएको छ । सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर खेतीयोग्य जग्गामा धानखेती हुँदै आएको छ । यसवर्ष असार मसान्तसम्ममा ५१ हजार हेक्टर (७५ प्रतिशत क्षेत्रफल)मा रोपाइँ भएको छ । धानको रोपाइँ अहिलेसम्म सप्तकोसी पश्चिमी नहर, चन्द्रनहर तथा जिल्लाका अन्य ससाना खोला नालाबाट सञ्चालित कुलो (पैनी) बाट र अन्यमा बोरिङबाट धान रोपाइँ भएको हो ।
जिल्लाका अन्य क्षेत्रहरूमा आकाशे पानीको भर पर्ने ठाउँमा भने रोपाइँ हुन सकेको छैन । असार मध्ययता पानी परेकाले त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेका छन् । असारको अन्त्यमा नि पर्ने आशा थियो तर पानी पर्न सकेको छैन । यसपालि अन्नको संकट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।
रोपाइँ भएका ठाउँहरूमा पर्याप्त सिँचाइ नहुदाँ खेतमा धाँजा फाट्न थालेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिभएको छ । मलखादको अभाव झेली रहेका थियौं समयमा वर्षा पनि भएन रोपिएका धानखेतमा समेत धाँजा फाट्न थालेको छ । खेत हेर्न गयो वैराग लाग्ने कञ्चनरूप–९ का कृषक जोगधर यादव बताउनुहुन्छ ।
गत वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी हुँदा करिब ७० हजार ५०० हेक्टर जग्गामा ५९ हजार हेक्टरमा धान रोपाइँ हुँदा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्यांकले देखाएको छ । मधेश प्रदेशको तत्थ्यांक हेदा सप्तरीमा ७५ प्रतिशत, सिरहामा ५५ प्रतिशत, धनुषामा ६० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत, सर्लाहीमा ५५ प्रतिशत, रौतहटमा ५० प्रतिशत, बारामा ६० प्रतिशत र पर्सामा ४२ प्रतिशत रोपाइँ भएको उल्लेख छ ।
जिल्लामा अत्यधिक गर्मीका कारण सर्पको बिगबिगीसमेत बढेको छ । अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले बताउनुभएको छ । सप्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले मानिसहरू बहिर निस्कन छाडेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts