टनेलभित्रै फस्टायो तरकारी खेती

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

झापा । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अर्ग्यानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् ।

पुनम कृषि फार्ममार्फत बिर्तामोड नगरपालिका-७ की पुनम तिम्सिनाले १५ दिनको अन्तरालमा रु एक लाख ५० हजारको बर्खे रायो साग बिक्री गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि फार्मलाई ५० प्रतिशत रकम अनुदान दिएको छ । अनुदान पाएपछि उत्साहीत भएर रायो सागको खेती विस्तार गरिरहेको उहाँले बताउनुभयो ।

बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार हुने बैमौसमी रायो साग प्रतिमुठा रु ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उहाँले बताउनुभयो । “अहिले रायो सागको सिजन होइन, अरुले उत्पादन गरेका छैनन्”, उहाँले भन्नुभयो, “त्यही भएर महँगो दरमा बिक्री हुँदा आम्दानी धेरै भएको हो ।” तिम्सिनाले २० टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

सुरुमा एउटा टनेल बनाएर खेती सुरु गर्नुभएकी उहाँले राम्रो आम्दानी भएसँगै थप २० प्लाष्टिक टनेल बनाएर सागखेती गरेको बताउनुभयो ।

ADVERTISEMENT

ज्ञान केन्द्रले तरकारी खेतीलाई प्रवद्र्धन गर्नका लागि टनेल बनाउन रु ६ लाख १२ हजार रकम ५० प्रतिशत अनुदान दिएपछि उहाँले रु ११ लाख ८८ हजार थपेर रु १८ लाखमा २० आरसिसी पिलरमा प्लाष्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँलाई साग उत्पादनमा उहाँका श्रीमान् शान्तिरामले साथ दिँदै आउनुभएको छ । तिम्सिनाले थप चार स्थानीयलाई समेत रोजगारी दिनुभएको छ ।

मेचीनगर नगरपालिका-२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले पनि माता कृषि फार्ममार्फत बैमौसमी रायो सागको खेती गर्दै आउनुभएको छ । उहाँले दुई सातामा रु दुई लाखको रायो साग बिक्री गरेको बताउनुभयो । जिल्लाकै अति दुर्गमस्थलमा सागको खेती गर्नुभएका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पुृर्‍याउने गरेको बताउनुभयो । विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका भुजेललाई तरकारी खेती प्रवद्र्धनका लागि टनेल निर्माणमा ज्ञान केन्द्रले रु ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरेको छ ।

रायो सागको खेती गर्दा बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय यसको खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनुभयो । उहाँले बेर्ना तयार गरेर लगाएको एक महिनामै सागले राम्रो आम्दानी दिने हुँदा केन्द्रले साना किसानलाई व्यावसायिक अर्ग्यानिक तरकारी खेतीमा प्रोत्साहन गरिरहेको बताउनुभयो । टनेल निर्माणका लागि चालु आर्थिक वर्षमा २० किसानका कृषि फार्मले अनुदान पाएको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *