बुटवल । अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशमा यस वर्ष भने अन्न उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा यसवर्ष अन्न बाली उत्पादनमा ह्रास आएको हो ।
केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिला ६ महिनाको तथ्याङ्क विष्लेषण गरी राष्ट्र बैंकले “समग्र प्रदेशको कृषि क्षेत्रअन्तर्गत खाद्य तथा अन्न बाली लगाएको भू-क्षेत्र एवं उत्पादनमा ह्रास आएको” बताएको छ ।
प्रदेशका १२ वटै जिल्लाको अध्ययन गरी तयार पारिएको “प्रादेशिक आर्थिक गतिविधि अध्ययन” को अर्धवार्षिक प्रतिवेदन अनुसार प्रमुख बाली धानको उत्पादन ठूलो परिमाणमा घटेका कारण अन्न बाली उत्पादनमा ह्रास आएको देखिएको हो ।
प्रतिवेदनले प्रदेशमा ७ दशमलब ०८ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको छ । अन्य बाली उत्पादनमा ह्रास नआएको भए पनि उल्लेख्य रुपमा नबढ्ने राष्ट्र बैंकको अनुमान छ । यद्यपि, पशुजन्य उत्पादन भने नघटेको प्रतिवेदनमा उल्लेख छ ।






