दाङका किसानलाई मलजलकै चिन्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-विवेक खड्का

दाङ । कृषि ज्ञान केन्द्र दाङ र पालिकाका कृषि शाखाले बुधबार विभिन्न ठाउँमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन् । तर यस वर्ष अहिलेसम्म दाङमा १३ प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ । समयमै वर्षात् नहुँदा गत वर्षको तुलनामा करिब असार मध्यसम्म आइपुग्दा जिल्लामा ४७ प्रतिशत धान रोपाइँ भएको हो ।

गत वर्ष असार १५ गतेसम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सकिएको थियो । वर्षात् कम हुँदा यस वर्ष असारको मध्यसम्ममा न्यूनमात्रामा धान रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिनुभयो ।

‘जिल्लामा अहिले करिब १३ प्रतिशत धान रोपाइँ गरिएको भए पनि देउखुरी क्षेत्रमा बढी रोपाइँ भएको छ,’ उहाँले भन्नुभयो, ‘समयमै वर्षात् भएको भए देउखुरी क्षेत्रमा शतप्रतिशत धान रोपाइँ सकिएको हुन्थ्यो ।’ दाङ उपत्यकाको तुलनामा देउखुरी क्षेत्रमा धान रोपाइँ समयमै बढी हुने गरेको छ । पानी समयमै नपरेका कारण यस वर्ष अहिलेसम्म धान रोप्न सुरु नभएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडरका विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

‘सरकारले मल दिएन, आकाशले पानी दिएन,’ उहाँले भन्नुभयो, ‘मल र जल नपाएपछि धानखेती सोचेजस्तो हुँदैन  ।’ उहाँले आफूलाई एक क्विन्टल मल आवश्यक भए पनि अहिलेसम्म १० केजी मल पाएको गुनासो गर्नुभयो । ‘पैसा हुँदा पनि सामान किन्न नपाउने कस्तो व्यवस्था हो,’ उहाँले भन्नुभयो, ‘अब खेती गर्न पनि मन लाग्दैन, हरेक वर्ष एउटै समस्या हुन्छ तर सरकार गम्भीर हुँदैन ।’

तुलसीपुर–७ श्रीगैँकी माया रिजालले पनि दिनभर लाइनमा बसेर दुई नम्बर मलमात्रै पाएको बताउनुभयो । ‘दुई क्विन्टल मल आवश्यक हो ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म २ नम्बर मल पाइयो, अब कहिले आउला र मल ?’ दाङमा करिब ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

ADVERTISEMENT

यस वर्ष पानी समयमै नपरेका कारण खेती कम पनि हुन सक्ने अनुमान गरिएको सूचना अधिकारी सिंहले बताउनुभयो । ‘अझै स्थानीय तहबाट धानखेती भएको विवरण आउन बाँकी रहेको छ, अहिले पनि धमाधम रोपाइँ भइरहेको छैन,’ उहाँले भन्नुभयो, ‘अधिकांश ठाउँमा धानखेती आकाशे पानीको भरमा हुने भएकाले पनि वर्षाको अभाव किसानले खेप्न बाध्य भएका छन् ।’

आधा मात्रै मल आपूर्ति

दाङमा असार १५ लाग्दै गर्दा अहिलेसम्म रासायनिक मलको माग आधा पनि पूरा हुन सकेको छैन । रासायनिक मलको बिक्रीवितरण गर्ने अनुमति पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार जिल्लामा मागको करिब ५० प्रतिशतमात्रै आपूर्ति भएको छ । जिल्लामा करिब १० हजार मेट्रिकटन युरिया मलको आवश्यकता देखिए पनि मागको करिब आधामात्रै आपूर्ति भएको हो ।

युरिया घोराहीमा अहिलेसम्म आठ सय मेट्रिकटन, तुलसीपरमा एक हजार पाँच सय, लमहीमा सात सय मेट्रिकटन मल आपूर्ति भएको सम्बन्धित शाखा प्रमुखले जनाएका छन् । तुलसीपुरसहित पश्चिम क्षेत्रका लागि तीन हजार पाँच सय मेट्रिकटन युरिया आवश्यक भए पनि आधा पनि आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर शाखाले तुलसीपुरसहित पश्चिम दाङका चार पालिका र सल्यानमा मल आपूर्ति गर्ने गरेको छ । घोराही शाखाका प्रमुख टोपबहादुर गौतमका अनुसार १५०० मेट्रिकटन युरिया मल आवश्यक पर्दछ ।

यस्तै लमही क्षेत्रमा लमही नगरपालिकासहित चार पालिकामा दुई हजार मेट्रिकटन युरिया आवश्यक पर्ने शाखा प्रमुख घनश्याम कहारले बताउनुभयो । ‘मागको करिब आधा पनि आपूर्ति गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘केन्द्रदेखि नै समस्या हो, यसमा हामीले केही गर्न मिल्दैन ।’साल्ट टेड्रिङ कर्पोरेसन दाङले पनि ३० प्रतिशत मल बिक्रीवितरण गर्ने गरेको छ । जिल्लाका लागि आवश्यक युरिया मल १०/१२ दिनमा आइपुग्ने प्रमुख रामबाबु गुप्ताले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *