आस्थाको प्रश्न गर्न सजिलो रहेनछ

डा. नारायण चालिसे
Read Time = 11 mins

निर्वाचनको समयमा अरू सबै कुरा गौण छन् अहिले । जनचासो जे विषयमा छ त्यतैतिर ढल्किनु लेखकीय बाध्यता पनि हो । त्यसमाथि अहिले नलेखे कहिले लेख्ने ? हामीले नलेखे कसले लेख्ने ? यो अर्को प्रश्न हो तर के लेख्ने ? र किन लेख्ने ? भन्ने प्रश्न झनै जटिल छ अहिले । राजनीति, विचार र आस्था फरक फरक कुरा हुन् । राजनीतिमा भरोसा गर्दा आस्थामा सम्झौता गर्नु परे पनि अन्यथा मान्नु हुँदैन यो समयको माग हो भन्ने व्याख्यात्मक टिप्पणीसहित आएको यसपटकको स्थानीय निर्वाचनले धेरैको मनमा विस्मात् ल्याएको छ ।

राजनीतिलाई राष्ट्रिय आवश्यकता मान्दा देखापरेको यो अन्योल र यसले धेरै प्रकारका बेथितिलाई अन्त्य गर्नेछ भन्ने गठबन्धन विचार रहे पनि यसले अरू धेरै प्रकारका विकृतिलाई प्रश्रय दिइरहेको कुरालाई किमार्थ बिर्सन मिल्दैन । खास गरी सत्तालाई केन्द्रमा राखेर अमुक व्यक्ति वा प्रवृत्तिलाई राष्ट्रको साँचो सुम्पिने अभियानसँग जोडिएको यो गठजोडको निहितार्थ जति सजिलो गरी व्याख्या भएको छ त्यो त्यति सरल छैन । स्वच्छ र पवित्र पनि छ जस्तो लाग्दैन । विश्वासको कुरा न हो, भरोसा टुटेको यथार्थलाई लुकाउन खोजे पनि लुकिरहेको छैन । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भनिएको कुरा पूर्णतः चरितार्थ भएको छ ।

जे जस्तो सम्झौता गर्न पनि पछि नपर्ने यो प्रवृत्तिको नैतिक दायरा त्यति फराकिलो छ जस्तो लाग्दैन । न त कुनै सैद्धान्तिक आधार नै रहेको छ । वर्षौंदेखि राजनीतिक आस्था र विचार लिएर जनताको विश्वास जितेर आएका राजनीतिक दलहरू अहिले सत्ताको दलदलमा फसेका छन् र आफूहरूले गरेको निर्णयलाई राष्ट्रिय आवश्यकता हो भन्ने फजुल तर्क दिइरहेका छन् । यतिसम्म पनि ठीकै थियो जुन व्यक्ति वर्षौंदेखि राजनीतिक आस्थाका आधारमा कुनै पार्टीको समर्थक बनेर आएको थियो र आज त्यही व्यक्तिलाई अनावश्यक, अराजनीतिक, असैद्धान्तिक इत्यादि अभियोग लगाएर उसलाई आफ्नो मूल्य र मान्यताभन्दा भिन्न बाटोमा हिँड्न दबाब दिइरहेका मात्रै छैनन् त्यसो नगर्नुलाई अपराध हो भन्न भ्याएका छन् ।

राजनीतिको यति विकृत रूप अन्यत्र बिरलै देख्न पाइएला । आवरणमा देखिएका कुरा केही बुझिए नेपथ्यमा भइरहेको अभ्यास सबै कुरा देश र जनतालाई थाहा छैन । केही सीमित व्यक्तिहरूले सार्वभौम जनतामाथि गरेको यो मिठो षड्यन्त्रको मूल्य यी राजनीतिक पार्टीका नेतृत्वले कुनै दिन त अवश्य चुकाउनु पर्ला तर समय त्यतिखेरसम्म धेरै अगाडि गइसकेको हुन सक्छ । के अब हामीले आफ्नो आस्था र विचारको मियो उखेलेर यसरी नै लुछाचुँडीमा रमेका यिनै व्यक्ति र प्रवृत्तिको सिँढी बनिरहनु अबको हाम्रो नियति र बाध्यता रहिरहने हो त ?

आफ्ना सबै खाले हथकण्डाहरू समाप्त भएर रित्तिएकालाई बोकेर हिँड्ने अनि तिनैका करिया बनेर गलत व्यक्तिहरूलाई सत्तारोहण गराइरहने असैद्धान्तिक, विचारहीन, झुण्डका समर्थक बनेर हिँड्नु नै कुनै राजनीतिक पार्टी र सिद्धान्तप्रति आस्थावान् बन्नु हो भने किन चाहियो आस्था र विचार ? किन चाहियो मूल्य र मान्यताका कुरा ? के यस पटक चुनावमा अमुक व्यक्ति वा प्रवृत्तिले चुनाव नजित्दा देशमा आएको लोकतान्त्रिक गणतन्त्र नै समाप्त हुने हो वा मुलुक गम्भीर मोडमा पुग्ने नै हो त ? अहिलेसम्म के त्यस्तो अभूतपूर्व काम भएका छन् र ती समाप्त हुँदैछन् ? जनताले के नै त्यस्तो अनमोल खजाना हात पारेका छन् जुन वस्तु यस पटक चुनावमा भने जस्तो नहुँदा समाप्त भएर जानेछ ?

भयो यति धेरै मूर्ख बनाउने कुरा अब नगरौं । आफ्ना स्वार्थपूर्ण कर्मलाई वैधानिकता दिएर सत्ताको चास्नीमा आकण्ठ डुबिरहन पाऊँ भन्ने फिराद पत्रमा हस्ताक्षर गर्न सायद जनता त्यति बाध्य छैनन् । गुम्ने वस्तु धेरै नभएपछि र पाइन्छ भन्ने पनि त्यति आश नभएपछिको अवस्था त्यति प्रिय छैन र बाध्यकारी त्यसैले छैन । चुनावमा गठबन्धन हुनु कार्यगत एकता हुनु सर्वथा गलत कुरामात्रै होइन । तर जे जसरी र जे जस्तो स्वार्थले वशीभूत भएर जनता निराश भएको अवस्थामा यो नाटकको रिहल्सल भइरहेको छ त्यो जनमुखी छैन र देश र जनताको हितमा पनि छैन ।

ताक परे तिवारी नत्र गोतामे भन्ने हाम्रो नेपाली उखानझैँ जे जस्तो मौका र परिस्थिति आइलाग्छ तिमी त्यस्तै बन भनेर दिइएको निर्देशन र गरिएको व्याख्याले अहिले जनमानसमा ठूलो अन्योल र द्वन्द्व सिर्जना भएको छ । राजनीति कुनै सिद्धान्त र विचारको भरमा नभएर सत्ता र शक्तिको संघर्षमा गरिने स्वार्थपूर्ण गतिविधि हो भनेर भनियो भने बरू केही सजिलो होला ।

यो विचार बाहिर आउने समयसम्म जनमत बाकसमा बन्द भइसकेको हुनेछ । गठबन्धनलगायत अन्य पार्टीका जनप्रतिनिधिको भविष्य केही दिनमा बाहिर आउला । जित्नेले जित्लान् हार्नेले हार्लान् । अहिले घरआँगनमा बाँडिएका सपना बिपनाको पर्खाइमा रहलान् । अघिल्लो पाँच वर्षसम्म ती सपनाका पेटाराहरू खोलिने सम्भावना कुरेर पर्खिएलान् । त्यसपछि अर्काथरि सपनाहरूको जन्म हुनेछ । हामी जो विचारको अग्निमा रापिएकालाई ती सबै भ्रमका पुलिन्दामा हिजो पनि विश्वास थिएन र आज पनि रहेको छैन ।

असजिलो यतिमात्र हो आफ्नो आस्था र विचारलाई कुन कुनामा लगेर थन्क्याऔँ र बुख्याँचा अनुहारमा कसरी उभिने प्रयत्न गरिरहौं ? हामीलाई सिकाइएका र हामीले पढेका सिद्धान्तका पुस्तकहरूमाथिको यो अविश्वासको भारी कहाँ पुगेर बिसाऔं ? सत्य लेख्दा र सत्यभन्दा डराउनुपर्ने यो विसम समयमा सत्य बोलेर शूली चढ्ने गणतन्त्रमा परिआएको कुरा भोगौँला तर नैतिक धरातलबाट धेरै तल झरेर गरिने यो नाटकको पात्र बन्न हामीलाई मञ्जुर छैन भन्ने कुरा सायद यसै मञ्चबाट भन्नुपर्छ ।

ये यथामां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् भनेर कृष्णले उहिल्यै गल्ती गरिसकेका रहेछन् । जुन भक्तले मलाई जसरी भजन गर्छन् मैले तिनीहरूलाई त्यसै गरी भजन गर्छु । किनभने सबै भक्तले सबै प्रकारले मेरै मार्गलाई अनुसरण गर्छन् । कति ठूलो अहङ्कार रहेछ कृष्णमा । मैले जसरी पनि भक्तलाई मेरै अनुकूल पार्न सक्छु भन्ने । आज ठीक त्यही कुराको अभ्यास भइरहेको छ । सबै नेताहरूले आफूलाई श्रीकृष्ण मानेका छन् अनि सबै जनतालाई उनीहरूले आफ्नै बाटोमा ल्याउन खोज्दै छन् । आजका राजनीतिज्ञ कृष्णको मार्गका अनुयायी ठानेको यो समयको कथा अलि फरक हुँदै गएको छ ।

कृष्णको कोटिमा उभिएका नेता र भक्तको दर्जामा उभिएका जनताका बीच आज ठूलै अन्तर छ । न आजका कृष्ण कृष्णजस्ता लाग्छन् न आजका भक्तहरू भक्तजस्ता लाग्छन् । इतिहासको पुनर्पठन फरक किसिमले भएको छ आज । ठाउँ ठाउँमा आजभक्तहरू गुरुभक्तिमा लीन हुनुको सट्टा बागी अनुहार लिएर उभिएका छन् । गुरुको गुरुतामा चुनौती थपिएको छ । आजका श्रीकृष्णहरू भक्तहरूलाई बलिमा चढाएर आफ्नो गुरुता प्रदर्शन गर्न लागि परेका छन् । समयको यो अन्तराल, भक्तिको यो नयाँ रूप, गुरु द्रोणाचार्यको एकलव्यीय न्याय अनि गुरु दक्षिणाको यो नौलो उपहार सबै सबैले भरिपूर्ण यो समयमा निर्वाचनभन्दा बाहिर बसेर केही लेख्न सक्ने कुरै भएन ।

हाम्रा श्रीकृष्णहरू यसरी नै एकलव्यका बुढी औँला गुरुदक्षिणा मागिरहने द्रोणाचार्यहरूकै समर्थक बनिरहने हो भने कुनै दिन श्रीकृष्णप्रतिको आस्था पनि घटेर जानेछ । के आममानिस जस्तै भएर बस्न श्रीकृष्णलाई मञ्जुर छ ? भनेर आजका एकलव्यहरूले सोध्ने यक्ष प्रश्नको चित्त बुझ्दो उत्तर श्रीकृष्ण वा द्रोणाचार्यसँग छ ? सबैलाई चेतना भया । बागी हुनु फगत् चुनावमा अलग्गै बाकस थाप्नुमात्र होइन आस्थाको अवसान हुनु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 खुसी खुसी
0 अचम्मित अचम्मित
0 दुःखी दुःखी
0 उत्साहित उत्साहित
0 आक्रोशित आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?