डडेल्धुरा । गरौं योग रहौं निरोग भन्ने नाराका साथ अमरगढी नगरपालिका-५ सेलागाउँमा सात दिवसिय योग विज्ञान शिविर संञ्चालन भएको छ ।
बिभिन्न शारिरीक समस्या तथा रोगब्याधिले ग्रस्त नगरबासी नागरिकलाई मानसिक रुपले, शारिरीक रुपले स्वस्थ एवं सचेतनायुक्त बनाउनुका साथै सामाजिक सदभाव एकता विकास गर्न धर्म संस्कृतिको रक्षा गर्दै मानविय जीवनशैलीमा रुपान्तरणका लागि योग आवश्यक भएकोले योगको अवधारणालाई गाउँघरसम्म पनि बिस्तार गर्न शिविर संचालन गरिएको हो ।
सात दिवसिय उक्त शिविरमा मुख्य योग प्रशिक्षकको रुपमा पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोबिन्द खडायत र प्रशिक्षक प्रकाश पाठक तथा लिला बिष्ट रहनु भएको थियो । महिला प्रशिक्षक बिष्टले योगमा आम नागरिकलाई आकर्षित र उत्प्रेरित गर्ने कविता पनि बाचन गर्नु भएको थियो ।
मुख्य प्रशिक्षक खडायतले योग अभ्यासलाई जीवन पद्धती बनाउनु पर्ने र नियमित गरेमा बिभिन्न जोखिमपूर्ण रोगबाट पनि मुक्ति पाईने बताउनुभयाे ।
योगयुक्त समाज, रोगमुक्त समाज निर्माणका लागि अवस्थी परिवार समाजको आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा नगरवासीलाई स्वस्थ र चित्तबृति विकासका लागि चैत्र २ गते देखि ८ गते सम्म एक हप्ते योग विज्ञान शिविर संचालन भएको आयोजक संस्थाका अध्यक्ष समाजसेवी यज्ञराज अवस्थीले जानकारी दिनुभयाे ।
उहाँले भने योग सिमित क्षेत्रमा मात्र नभई ग्रमीण समुदायसम्म बिस्तार र विकास गरि आम नागरिकको जीवनलाई दिनचर्या बनाउनु पर्ने धारणा राख्दै शिविरबाट लाभ दिन सके मानविय जीवनमा परिवर्तन देखिने बताउनुभयाे ।
योग विज्ञान शिविरमा बिशेष गरि सधैभरि चुलोचौको र कृषिकर्मलगायत घरायसी काममा व्यस्त रहने महिलाहरु योग शिविरमा अभ्यास गर्न आउन पाए पछि हर्षित र लाभान्वित पनि भएका छन ।






