दलितको माग- हामीलाई हिन्दु मान्छौ भने पूजा गर्न देउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

-अनिल तिवारी

वीरगञ्ज । ‘हामी पनि हिन्दु हौ भने प्रवेश गर्न दिनु पर्यो, छुवाछुतको कुरा हटाउनु पर्यो, सविधानमा पूजा गर्ने अधिकार दिएको छ भने दिनु पर्यो, छैन भने छैन भन्न पर्यो, हाम्रो माग यति मात्र हो।’

वीरगञ्ज महानगरपालिका- १७ अलौको उमाशंकर रामको भनाइ हो यो। गाउँमै हुन लागेको महायज्ञमा आफूहरू भाग लिन नदिने भएपछ उमाशंकरले भन्नुभयो, ‘सबैले हामीलाई हिन्दु भन्ने तर सँगै पूजा गर्न नदिने, हामी कस्तो हिन्दु हो ?’

सोमबारदेखि मुलुककै एतिहासिक गाँउ अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा सहभागी हुन नदिने भएपछि दलितहरू आन्दोलित छन्। उनीहरूको आन्दोलनको मुख्य माग हिन्दु धर्मका अरु जातजाति सरह आफुहरूले पूजा गर्न पाउनु पर्दछ। गाउँमा हुन गइरुहेको सप्तचन्डी महायज्ञको मुल आयोजन समितिमा राख्नुका साथै पूजाको वेदिमा दलितहरूलाई पनि बसेर पूजा गर्न पाउनु पर्ने माग राख्दै दलितहरू जिल्लाको सदरमुकाम बिरगन्जमा छुवाछुत र भेदभावको बिरोधमा नाराबाजी समेत गरेका छन।

गाउँको बिहेबारी, कथामटकोरमा तासा (एक प्रकारको बाजा) बजाउँदै आएका रामहरूले सोमबारदेखि सबै सामुदायिक कामहरू समेत बहिष्कार गर्दै आन्दोलन अगाडी बढाएका छन्। बहिष्कार आन्दोलनसँगै गाउँमा हुने कथित “उपल्लो” जातको बिहेबारी कथामटकोरमा अहिले तासाको साटो टिन बजाएर काम चलाउन बाध्य भएका छन्।

अलौमा १ सय ३ घर चमार र दुसाद जातीका दलितहरू रहेका छन्। यी दुबै समुदायका दलितहरूलाई महायज्ञ मुलआयोजक समितिले छुवाछुतको विभेद गर्दै महायज्ञमा पूजाबाट रोक लगाएको छ। पूजामा प्रवेश निषेध गरिपछि उनीहरूको आन्दोलन क्रमिक रुपमा अगाडी बढदै गएको छ।

वीरगञ्जमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइदैन , हिन्दूको शोषण हिन्दूले नै गर्न पाइदैन , हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर’ जस्ता नारा नाराबाजी पनि गरेका थिए।

गाउँमा चैत ८ गते देखि शप्तचण्डी महायज्ञको आयोजन हुँदैछ। तर विगत जस्तै यस पटक पनि आयोजन समितले जातिय भेदभाव कायम राखेको छ। पूजामा सहभागी हुन बन्देज लगाइएको छ। पूजामा पनि प्रवेश गर्न रोक लगाइए पछि आफुहरू आन्दोलित भएको स्थानिय दलितहरूको भनाइ रहेको छ।

महायज्ञमा प्रवेशसँगै साथै पूजापाठ गर्नका लागि एक महिना देखि दलितहरू गाउँ समुदायमा आवाज उठाउदै आएका थिए। तर गाउँका हिन्दु अगुवाहरू सकारात्मक नभएपछि सोमबार देखि सडकमै ओर्लिनु पर्ने बाध्यता सिर्जना भएको दलित नेता खुबलाल महराले जानकारी दिनुभयो।

ADVERTISEMENT

महायज्ञ आयोजनाको तिथि तोकिएसँगै पूजाको रितिरिवाज अनुसार पूजा स्थलमा झन्डा गाडिएको दिन देखि सबै गाउँले साकाहारी खानपान सुरु गरेका छन्। गाउको बजारमा पनि माछा–मासु बिक्रिमा रोक लगाइएको छ। घरमा मासु ल्याउन वा खानेलाई १० हजार रूपैयाँ दण्डित गर्ने उर्दी जारी गरिएको छ। हिन्दु मात्र होइन महायज्ञको आयोजनले मुस्लिम समुदाय पनि हर्षित छन्। महायज्ञको सफल आयोजनाका लागि सबै होस्टेमा हैसे गरिरहेका छन्। तयारी पनि तीब्र गतिमा भइरहेको छ।

आफुहरूले तन, मन, धन सबै साथ यो महायज्ञमा सहयोग गरिहेको मुस्लिम समुदायका नइम मिया शेषको भनाइ रहेको छ।

तर हिन्दुधर्मकै दलित समुदायलाई भने सहभागी हुन दिइएको छैन। दलित समुदाय समान सहभागीताको लागी आन्दोलनमा ओर्लिनु पर्ने बाध्यता दुःख कुरा भएको स्थानिय युवाहरूको एक समूहको भनाइ पनि रहेको छ। समय परिवर्तन भएकोले एकाइसो सताब्दीमा पनि जातिय भेदभाव गलत रहेको स्थानिय नेपाली कांग्रेसका युवा नेता पोषण लामिछाने भनाइ रहेको छ।

महायज्ञका लागि अन्य ६ वटा टोल बाट चन्दा लिए पनि दलित समुदायबाट चन्दा लिने क्रममै रहेको पूजा समितिले बताएको छ। महायज्ञको मुल आयोजन समिति गठन हुने समय दलितबाट कोइ पनि सहभागी नभएकोले समितिमा नराखिएको उपाध्यक्ष हरिनारायण यादव भनाइ थियो। तर यज्ञको पूजाको झन्डा गाडिएको दिन दलित समुदायका बृद्ध योगी बाबाबाट पूजा गराइएको उहाँ दाबी थियो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले भने यो विषय आपसी छलफलका माध्यमले सुल्झाउनु पर्ने बताउनुहुन्छ। तर महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरूलाई कारबाही हुनु पर्ने आफ्नो चाहना भएपनि यज्ञलाई सफलता साथ पूरा गर्न समाजको पनि कुरा लागु गर्नु पर्ने त्यतिकै बाध्यता रहेका वडा अध्यक्ष क्षेत्रीको भनाइ छ। वडाध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले भन्नुभयो,‘व्यक्तिगत रुपमा म छुवाछुतको बिरोधी हु,म सबै धर्म र जातका व्यक्तिहरूको घरमा खानु देखि पूजापाठमा सहभागी हुने गर्दछु, तर गाउँमा हुन लागेको महायज्ञमा समाजले गरेको निर्णयको बिरोध गर्न कठिन छ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या सुल्झाइने बताउनु भयो। कुनै पनि समुदायसंग छुवाछुत र जातीय विभेद गर्न नपाइने उहाँको भनाइ थियो।

 

श्रोत :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज