सुगम इलाम भित्रको दुर्गम गाउँको व्यथा, पिठ्युँमा भारी थाप्लोमा नाम्लोकै भर

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 9 mins

इलाम । पूर्वमा मावा खोला र पश्चिम नुनसरी खोलाको मध्यभागको डाँडामा बसेको गाउँ हो फुङ्नाम । समथर भूभाग मोरङको मधुमल्ला हुँदै उकालो उक्लिएपछि चुरेकोे चुली, पाखा हुँदै खनिएको बाटोको यात्रापछि पुगिन्छ फुङ्नाम । इलामको पश्चिमी क्षेत्रमा अवस्थित सो गाउँ सबिकको साकफारा गाविस र हालको चुलाचुली गाउँपालिका-६ मा रहेको छ । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर भनिने साबिकको सिंगोे साकफारा गाविस अहिले चुलाचुलीको एउटा वडामा सीमित बनेको छ । भूगोलका हिसाबले समेत जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढा र विकट मानिन्छ यो क्षेत्र । दुःखले हिउँदमा मोटर गुड्ने सो सडकमा बर्खामा ठप्प हुन्छ । त्यस गाउँसम्मको यात्रा गर्दा आङ नै सिरिंग हुने सो सडक चुरेको पहाडको टुप्पोबाट खोलिएको छ ।

सडकको दुवै भागका फेदमा दुई खोला बग्ने गर्दछन् । यसैले पनि सो सडकको यात्रा निकै जोखिमपूर्ण रहेको छ । बर्खाको समयमा यही बाटो पाँचदेखि आठ घण्टा पैदल हिँडेपछि इलामको पश्चिम क्षेत्र साकफाराको दुर्गम भूगोल पुगिन्छ । लामो समय यता एमाले नेता सुवासचन्द्र नेम्बाङले पटकपटक निर्वाचन जितेको क्षेत्र नम्बर २ पर्ने यस क्षेत्रका नागरिकले सडकको सास्ती भोग्दै आएका छन् । विकासको पूर्वाधारहरूले जिल्लाकै पछि परेको क्षेत्रका रूपामा समेत लिइने गरेको पाइन्छ । भूगोलको कारण टाढा र पातलो बस्ती रहेकाले पनि यस क्षेत्रको अन्य क्षेत्रमा जसरी विकासले गति पाउन सकेको छैन ।

साकफारामा पर्यटकीय सम्भावना पनि उत्तिकै
जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित उत्तर र दक्षिण फैलिएको साकफारा तराईको समथर भू–भागबाट पहाडको अग्लो भूभागसम्म फैलिएको छ । मिक्लाचोङसँगै जोडिएको मध्य हावापानी रहेको भूगोल, त्यसमा चारैतिर उच्च पहाडी थुम्का र खोला, अम्रिसो र अलैँचीका लागिसमेत उतिकै अनुकूल मानिने क्षेत्र । मिश्रित समुदायको बसोबास रहेको साकफारामा पश्चिमबाट धेमे र पूर्वबाट लुकुवा पहिरो अनि दक्षिणबाट बुबा खोलाको बहने गर्दछन् । जातीय विभेद नरहेको यस समुदायमा विवाहको हिसाबले समान देखिन्छ ।

चारैतिर पहाडको फेदीमा देखिने फुङ्नाम र आसेटार गाउँ तीनतिरकै पहिरोबाट जोखिम अवस्थामा समेत रहेको पाइन्छ । सो क्षेत्रका बासिन्दाको मोरङको मधुमल्ला बजार नै मुख्य बजारमा पर्छ । घण्टौँको चुली डाँडाका बाटो हुँदै आवश्यक उपभोग्य वस्तु किनमेल गर्न मधुमल्ला नै झर्नु स्थिति रहेको स्थानीय दीपक श्रेष्ठले बताउनुभएको छ । यति मात्र नभएर बिरामी हुँदा समयमै उपचार नपाएर कैयौँले ज्यानसमेत गुमाउनु परेको उहाँको भनाइ छ । बर्खामा सो क्षेत्रका नागरिकको पालिकाको केन्द्रदेखि जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ । यसैले पनि यो क्षेत्रलाई यहाँका स्थानीयले सुगम जिल्लाको दुर्गम गाउँ भन्ने गरेको स्थानीयको भनाइ छ ।

ADVERTISEMENT

गोरेटोदेखि बाटोसम्म
मधुमल्ला, तोरिबारी, फुङ्नाम हुँदै रवि सडक २०२६ सालमा शिलान्यास गरेको बाटो २०२९ सालमा सिक्रे ठाउँसम्म ट्र्याक खोलिएको बताइएको छ । धेरै कष्टका साथ केही वर्षअघि मात्र तोरीबारीदेखि पाँचथर दारे गौणा सिमानासम्म करिब ३० किमि दूरी रहेको बाटोको ट्र्याक जोड्न सफल भएको स्थानीय दीपक श्रेष्ठको भनाइ छ । श्रेष्ठ भन्नुहुन्छ, ‘हामीलाई ऊर्जा बढेको छ, गाडी कुदाएर यस ठाउँको विकास होस्, उत्साहको अनुभूति र गौरव महसुस भएजस्तो लागेको छ ।’

पीडा जस्ताको त्यस्तै
पिठ्युँमा भारी थाप्लोमा नाम्लोको भरमा पैदल आउन जान दोहोरो भारी दुई दिन लाग्ने उकालो, ओरालो र खोलाको बाटो हुँदै, चारदेखि सात पुस्ताले जीवन संघर्ष गरेका फुङ्नाम र आसेटारका रैथानेहरू भन्छन्, ‘पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ टाँडीको साखरे हुँदै, पूर्वबाट मावा खोलाखोलै पैदल हिँडेर मधुमल्ला बजार कुचो, अदुवालगायत उत्पादन बेच्न पुर्‍याउनुपर्ने अनि फर्किंदा खाने नुन, तेल, चामल लगायतको भारी लिएर फर्किनु पर्दाको बाध्यता केही हटे पनि दीर्घकालीन सडक नबन्दा हिउँदमा सहजको अनुभूति हुने गरे पनि बर्खामा उही पीडा दोहोरिने गरेको स्थानीयको दुःखेसो छ । राजनीतिक पौज नभएको ग्रामीण ठाउँमा बाटो बनाउने सपना अझै बाँकी नै रहेको अर्का स्थानीय दुर्गा नेपाली बताउनुहुन्छ । साकफारा, फुङ्नाम, आसेटारको जनता कम्मर कसेर लागेको बाटो सबैभन्दा छोटो दूरीमा जनतालाई सेवा दिने बाटो हो, पर्यटकीय क्षेत्र मिक्लाचोङ छुट्ने बाटो कुनै पुल बिना पाँचथरको सिमानासम्म पुग्नसक्ने बाटो भए पनि नेताहरूले चासो नदेखाएको उहाँकोे गुनासो रहेको छ ।

वडाध्यक्ष दिलकुमार राईले वडाको भूगोल अन्यभन्दा ठूलो र अप्ठ्यारो भएकाले यस वडामा सडकको समस्या रहेको बताउनुभयो । उहाँले बारमासे सडक नहुँदा औषधि उपचारदेखि खाद्यान्न सामग्री ढुवानी गर्न समस्या हुने गरेको बताउनुभयो । राइका अनुसार थोरै रकमबाट यस क्षेत्रमा सडक विस्तार गर्न सम्भव नभएकाले केन्द्र सरकारको भर पर्नुपर्ने तर केन्द्रमा पुगेका नेताले वास्ता नगर्दा समस्या भइरहेको बताउनुभयो । राईले भन्नुभयो, यस क्षेत्रबाट निर्वाचित भएर देश हाँक्ने उच्च पदमा समेत पुग्नुभएको छ नेता तर गाउँको हालत वर्षौंदेखि उस्तै छ । पटकपटक जितेर गए पनि गाउँको विकासमा खासै पहल नगरेको राईको भनाइ छ । यो क्षेत्र इलामको संघीय निर्वाचन क्षेत्र नं २ मा पर्दछ जहाँबाट लामो समयदेखि पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिरहनु भएको छ । यता, गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाको अन्य वडाका सडक विस्तारको काम भइसकेको भए पनि वडा नं ६ मा अन्यको तुलनामा हुन नसकेको बताउनुभएको छ । उहाँले आफू निर्वाचित भएको छोटो समय मात्र भएकाले उक्त क्षेत्रमा काम हुन बाँकी रहेको बताउनुभयो । केरुङले आफू उक्त क्षेत्रको विकासका लागिपरेको बताउँदै पालिकाको र केन्द्रीय सरकारको बजेट माग गरी बारमासे सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज