दाङ । दाङका सामुदायिक वन समूहहरूले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्छन् । दाङका पहाडी क्षेत्रहरूमा रहेका सामुदायिक वन समूहहरूले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षण तथा गाउँका लागि खानेपानी तथा सामाजिक कार्यमा लगाउने गरेका छन् ।
बंगलाचुली गाउँपालिका-८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहा मगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उहाँका अनुसार वन समूहबाट दीपमाला रोजिन टर्पिन्टाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रुपैयाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ । वन समूहका सचिव गाहा मगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करिब साढे २२ हजार केजी सल्लाको खोटो बिक्री गरेको छ ।
‘जंगलमा रहेका रूखहरूबाट कम्पनीले प्रतिकेजी १२ रुपैयाँका दरले सल्लाको खोटो खरिद गरेको राजस्व तिर्ने गरेको छ,’ सचिव गाहा मगरले भन्नुभयो, ‘वन समूहले अनुमति दिएपछि कम्पनीले मानिस लगाएर जंगलमा खोटो संकलन गर्ने गर्दछ ।’ खोटोमात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने उहाँ बताउनुहुन्छ । ‘रूखबाट कम्तीमा पनि १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ तर आगोले भेटेमा रूखै मर्ने सम्भावना हुने गर्दछ,’ उहाँले भन्नुभयो, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट बचाउन भने ध्यान दिनुपर्छ ।’
यसैगरी वडा नं. ८ कै गोगनपानी सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आर्थिक आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहा मगर बताउनुहुन्छ । उहाँका अनुसार सल्लाको रूखबाट वैशाख-जेठ महिनादेखि मंसिर–पुस महिनासम्म खोटो संकलन गर्ने गरिन्छ । ‘चिसो मौसममा कम खोटो आउने गरेका कारण गर्मी मौसममा खोटो संकलन हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘खासगरी जिल्लामा सल्लाको खोटो संकलन करिब ६ देखि ७ महिनासम्म हुन्छ ।’ उहाँका अनुसार वडा नं. ८ बाट ओखलढुंगा, गोगनपानी र दैलेढुंगा गरी तीनवटा सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुने गरेको छ ।
बंगलाचुली वडा नं. ८ का यी तीनवटा वन समूहहरू उदाहरणका रूपमा रहे पनि जिल्लामा दशवटा सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन हुने गरेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीले बताउनुभयो । केसीका अनुसार दशवटा वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार २७ रुपैयाँको ७८ हजार २५६ केजी सल्लाको खोटो निकासी भएको छ । उहाँका अनुसार वन खरिद गर्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकेजी १२ रुपैयाँ र निकासी कर प्रतिकेजी १२ रुपैयाँ तिर्ने गरेको छ । ‘जिल्लाका करिब १० वटा वन समूहबाट वार्षिकरूपमा सल्लाको खोटो बाहिर निकासी हुने गरेको छ,’ डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारीसमेत रहनुभएका केसीले भन्नुभयो, ‘जसअन्तर्गत यस वर्ष दशवटा वन समूहबाट ७८ हजार केजी सल्लाको खोटो निकासी भएको छ ।’ विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा खोटो प्रयोग हुने गरेको छ ।
तर, सामुदायिक वन समूहहरूले बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्न थालेपछि गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने चिन्ता स्थानीयको छ । जंगलमा रूखको बोक्रा ताछेर खोटो निकाल्नाले पछिल्लो समय सल्लाका रूखहरू मर्न थालेका छन् । खोटोमात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । रूखबाट आम्दानी लिने वन समूहकै मानिसले सल्लालाई आगोबाट बचाउन ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय दाङले बताएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts