गुल्मीमा २८ मेट्रिक टन कफी उत्पादन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा कुल क्षेत्रफलको करीब ७० प्रतिशत कफीका बोट फलेका छन् । गुल्मीमा आर्थिक आर्थिक वर्ष २०७८/०७९ मा २२५ हेक्टर क्षेत्रमा कफी खेती गरिएको थियो । जसबाट २८ मेट्रिक टन कफी उत्पादन भएको थियो । त्यस आर्थिक वर्षमा १७ सय ४० कृषकहरूले कफी खेती गरेका हुन् ।

आर्थिक वर्ष ०७९÷८० मा कफी २४१ हेक्टर क्षेत्रफलमा छ । जसबाट ३० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । कफी खेती गर्ने कृषकहरू पनि बढेर १८ सय पाँच पुगेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । यस जिल्लामा कफी उत्पादनका पकेट क्षेत्रहरू मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा कफी लगाइएको छ । ठूला बगैँचा नभए पनि जिल्लाका अन्य स्थानहरू मालिका, मदाने, इस्मा, धुर्कोट, रेसुंगा, गुल्मीदरबार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा समेत कफी खेती गरिएको छ । यस जिल्लामा ठूला कफी बगैँचा नरहेको तर कफी खेती छरिएको छ ।

चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कफीको उत्पादन वृद्धिका लागि कफी बगैँचा सुदृढीकरणमा सहयोग गरेको छ । यस्तै, गुल्मीको रेसुंगा नगरपालिका-८ का मनोज पाण्डे र सरोज बेलबासेले लगाएको आँपचौरको पिपलारूखमा दुई सय रोपनी जग्गामा स्थापना गरेका बगैँचाका लागि जग्गा भाडा उपलब्ध गराउने, कफी बगैँचाको स्थलगत भ्रमण, कफी खेतीमा संलग्न व्यावसायिक कृषकहरू, उद्यमीहरू बीचको प्रत्यक्ष छलफलसमेत गरेको छ ।

ADVERTISEMENT

नेपालमा वि.सं.१९९५ सालतिर गुल्मी आँपचौर निवासी हिरा गिरीले बर्माबाट कफी बिउ ल्याई आँपचौरमा रोपेर सुरु गरेको भए पनि यस जिल्लामा कफीको सोचेजति कफी क्षेत्र विस्तार तथा उत्पादन वृद्धि हुन सकेको छैन । छहारी व्यवस्थापन नगरी लहडका भरमा कफी लगाउँदा सेतो गवारोको प्रकोप बढी देखिएको र साथमा रोगको समेत समस्या देखिएका कारण अपेक्षित रूपमा कफीको उत्पादन वृद्धि हुन नसकेको भण्डारीले बताउनुभयो ।

विरुवाको उचित व्यवस्थापन नहुँदा तुसारोका कारण ६० प्रतिशतभन्दा बढी नयाँ विरुवा मरेका, विरुवा रोपणमा मात्र सबैको जोड बढी देखिएको समेत उहाँले बताउनुभयो । सरकारी निकायबाट विरुवा रोपणका लागि मात्र सहयोग केन्द्रित रहेको छ । लगाइएको तीन वर्षपछि उत्पादन दिने र विरुवा जोगाउन पनि कठिन हुने हुँदा तुलनात्मक रूपमा नाफा हुने अर्को कृषि उद्यम रोज्न कृषकहरूले थालेका कारण पनि अपेक्षित रूपमा उत्पादनमा वृद्धि नभएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र गुल्मी आगामी वर्षको कार्यक्रम कफी कृषकहरूको बगैँचामै पुगेर कृषकहरूको आवश्यकता पहिचान गरेर मात्र कार्यक्रम तय गर्नेछ । नमुना कार्यक्रमहरू देखाइनेछ । कफी गुल्मीको पहिचान, गुल्मीको गौरव भएकाले यसको उत्पादन वृद्धिका लागि सबै पक्ष लाग्नुपर्ने भण्डारीले बताउनुभयो । गुल्मीमा उत्पादन भएको कफी बजारीकरण जिल्ला कफी सहकारी संघ र बलेटक्सार कफी सहकारी संघले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज