म्याग्दी । जीवनको उर्वर नौ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख गुमाउनुभएका म्याग्दीका एक युवाले गाउँमा नै फर्केर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका-२ खबराका ३४ वर्षीय कर्णबहादुर खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो ।
चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो । खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीनवटा घडेरी जोड्नुभएको थियो । खाडी मुलुकबाट फर्केपछि अझ बढी कमाउने लोभमा उहाँले तीनवटै घडेरी बेचेर अमेरिकाका लागि प्रयास गर्नुभयो । तर, प्रयास सफल भएन । बोर्डरबाटै फर्कनुपर्यो । अमेरिका हिँड्नुभएका कर्णबहादुरलाई मेक्सिकोमा पुगेपछि समस्या सुरु भयो । त्यहाँबाट तीनपटकसम्म अमेरिका छिर्ने उहाँको प्रयास असफल भयो । त्यसपछि उहाँ आफ्नै गाउँ फर्किनुभयो र सुरु गर्नुभयो बाख्रा पालन व्यवसाय । ‘म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्यो अनि त्यहीँबाट फर्काइदियो,’ उहाँले भन्नुभयो, ‘राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।’
गैरकानुनीरूपमा मेक्सिको हुँदै अमेरिका छिर्न लाग्दा उहाँ पक्राउ पर्नुभएको हो । त्यहीँबाट नै उहाँलाई नेपाल फर्काइयो । अमेरिकाको सुन्दर सपना देख्दा ८० लाख रुपैयाँ सकियो । तर, रित्तो हात फर्कनुपर्योे ।
सुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर, यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर, उहाँ हार्नुभएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रा पालन गर्न थाल्नुभयो । खड्काले सात लाख बैंकमार्फत् ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी १५ लाखको लगानीमा बाख्रा पालन व्यवसाय थाल्नुभयो । दिप्सन कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सुरु गरेको व्यवसायमा अहिले ४० वटा लोकल र बोयर क्रस जातका बाख्रा छन् ।
अमेरिका जाने रहरमा त्यति धेरै पैसा गुमे पनि खड्काको आशा भने मरेको छैन । गाउँमा नै पौरख गरेर अमेरिका जाने लहडमा गुमेको पैसा कमाउने र आफ्नै माटोमा केही गरेर देखाउने दृढ इच्छाशक्ति लिएर उहाँ व्यवसायमा खटिरहनुभएको छ । खड्काले भन्नुभयो, ‘पैसा नै सबैैथोक हो जस्तो लाग्थ्यो तर त्यस्तो होइन रैछ, आत्मसन्तुष्टि र पारिवारिक खुसीले जीवनमा धेरै महत्व राख्दोरहेछ, यो कुरा मैले गाउँमा फर्केर पशुपालन व्यवसाय सुरु गरेपछि थाहा पाएँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता