काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच परिणाम आफ्नो पक्षमा पार्न तीव्र कोसिस भइरहेको छ ।
मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई राजनीतिक दाउपेचको विषय बनाएका छन् । नेपाली कांग्रेस माओवादी केन्द्रलाई विश्वासमा लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार विजयी गराउने हरसम्भव प्रयत्न गरिरहेको छ ।
सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमाले सरकार गठनको बेला पुस १० गते भएको सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने अडानमा छ । पुस १० गते सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने र प्रधानमन्त्री माओवादीले लिने सहमति भएको बताइन्छ ।
माओवादी केन्द्र भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार सञ्चालनको सहजता र प्रधानमन्त्रीको कार्यकालको सुनिश्चितता खोजिरहेको छ ।
यसका लागि प्रधानमन्त्री प्रचण्डले निरन्तर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको वकालत गरिरहनु भएको छ । राष्ट्रपतिको निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा एमाले र नेपाली कांग्रेसबीच माओवादी केन्द्रलाई मनाउन मोलमोलाई चलिरहेको छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई समर्थन गरे प्रधानमन्त्रीको पाँच वर्षे पूर्ण कार्यकाल प्रचण्डलाई नै स्वीकार्ने संकेत दिएको छ ।
राष्ट्रपतिमा कांग्रेसलाई सघाए पूरै पाँच वर्ष प्रचण्ड प्रधानमन्त्री : डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारूढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि पाँच वर्ष नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर अघि बढ्ने बताउनुभएको हो । वर्तमान परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने दाबी गर्दै प्रवक्ता डा.महतले भन्नुभयो, ‘संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो । राष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ । संविधानको रक्षाका पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनुपर्छ । गठबन्धनमा खास गरेर नेकपा माओवादी केन्द्र र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यसबेला संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो । उहाँहरूले नै त्यो कुरा अघि सार्नुभएको हो ।’ राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण विषय भएको जिकिर गर्दै प्रवक्ता महतले संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको बताउँदै भन्नुभयो, ‘एमाले पार्टी सहमत नभइराख्दा कहाँ उभिने भन्ने कुरा प्रधानमन्त्रीज्यूले निक्र्योल गर्नुपर्छ । त्यस्तो अवस्था आयो भने उहाँ त्यसको लागि तयार हुनुपर्छ । राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ ।’ प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको समेत स्पष्ट पार्दै भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सत्ता तलमाथि हुने वा प्रचण्डजीको सरकार तलमाथि हुने अवस्थामा कांग्रेसले साथ दिन्छ । नेतृत्व तहमा छलफल भइरहेको छ । परिस्थिति अनुकूल बन्दै छ ।’
केही दृश्यले झस्कायो, राष्ट्रपतिको अडानबाट पछि हट्न सकिँदैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन सुरु भएको भन्दै त्यसलाई रोक्न गरेको आग्रहको जवाफमा प्रधानमन्त्रीले केही घटनाक्रमले सचेत गराएको बताउँदै भन्नुभयो, ‘राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन । केही घटनाक्रमले मलाई झस्काएको छ ।’ फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र साहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएको घटनालाई स्मरण गर्दै अध्यक्ष केसीले प्रचण्डसँगको भेटमा भन्नुभयो, ‘अस्ति झापामा दुर्गा प्रसाईंले पूर्वराजा लगेर कार्यक्रम गरे, तपाईहरूलाई थाहै छ । भोलिपल्ट तिनै दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि भेटेछन् । आशीर्वाद नै लिएको जस्तो । यो घटनाले मलाई के महसुस भइरहेको छ भने, राष्ट्रपतिमा अडान छोड्नुहुन्न ।’
राष्ट्रपति रबर स्ट्याम्प बनाउनु हुँदैन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब हुने राष्ट्रपति रबर स्ट्याम्प हुन नहुने अडान राख्नुभएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएर फर्किएपछि प्रतिक्रिया दिँदै अध्यक्ष केसीले राष्ट्रपति रबर स्ट्याम्प बनाउन नहुने बताउनुभएको हो । अध्यक्ष केसीले विगतका राष्ट्रपति रबर स्ट्याम्प हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको जिकिर गर्दै भन्नुभयो, ‘लोकतन्त्र खतरामा प¥यो । धर्म निरपेक्षता संकटमा प¥यो राजावादी सलबलाउन थाले । संघीयताले मुलुक डुब्न थाल्यो भनेर प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन गएका थियौँ । अब राष्ट्रपति बनाउँदा रबर स्ट्याम्प जस्तो बनाउनु हुँदैन । मुलुक जनता सोच्ने खालको नेतालाई बनाउनुपर्छ भनेर आफ्ना कुरा राख्यौँ ।’
राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुँदैनौँ : महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस नहुने बताउनुभएको छ । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा माओवादीले साझा व्यक्तिको खोजी गरी रहेको समेत जानकारी दिँदै उपाध्यक्ष महराले भन्नुभयो, ‘हाम्रो पार्टीको धारणा राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुनुहुँदैन भन्ने हो । सबैको सहमतिमा राष्ट्रिय सहमति कायम हुनुपर्छ । प्रधानमन्त्रीको जसरी विश्वासको मत लिने क्रममा राष्ट्रिय सहमति भयो राष्ट्रपतिमा पनि सबैको सहमति खोजेका छौँ ।’ गत पुस १० गतेको सहमतिका विषयमा आफूहरूलाई थाहा नभएको महराको भनाइ छ ।
कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गर्नुभएको छ । राष्ट्रपतिमा एमाले र कांग्रेसले दाबी गरिरहेका बेला नेता सिंहले भन्नुभयो, ‘राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ ।
सहमतिबाटै राष्ट्रपति चयन हुन्छ : मन्त्री किराँती
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिबाट चयन हुने दाबी गर्नुभएको छ । राष्ट्रपति देशको एकताको प्रतीक भएकाले राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्दै किराँतीले भन्नुभयो, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो । सबैको स्वीकार्य हुने, राष्ट्रिय सहमति बन्ने बाटोबाट राष्ट्रपति निर्वाचन हुनेमा ढुक्क हुनुस् । अहिलेको गठबन्धन फेरिने र कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउने भनी आएका समाचारमा सत्यता छैन ।’
बालकोटमा ओली–प्रचण्ड भेट
राष्ट्रपति निर्वाचनको लागि मनोनयनको दिन नजिकिँदै गर्दा नेकपा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट बाक्लिन थालेको छ । सत्तारूढ दलबीच राष्ट्रपतिको विषयमा सहमति नजुटिरहेका बेला शुक्रबार दिउँसो ओलीलाई भेट्न प्रचण्ड बालकोट पुग्नुभएको हो । १० पुसयता प्रचण्ड र ओलीबीच योसहित १९ भेट भइसकेका छन् । तर, राष्ट्रपति चुनावलाई लिएर सहमतिभन्दा उहाँहरूबीच आशंका बढेको छ । तर पनि राष्ट्रपतिमा केन्द्रित रहेर छलफल हुने क्रम रोकिएको भने छैन । शुक्रबार ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आफूहरू एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने संक्षिप्त प्रतिक्रिया दिनुभएको छ । बिहीबार र बुधबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । हरेक पटकका छलफलमा ओलीले पूर्व–सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडान राख्दै आउनुभएको छ । तर, प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने अडानमा देखिनुभएको छ । शुक्रबार भएको छलफलमा पनि दुवै नेता आ–आफ्नो अडानमा कायमै रहेको स्रोतको भनाइ छ । एमाले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति बिर्सेर कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै सशंकित बनेको छ ।
बिजुक्छे र पौडेलबीच छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गर्नुभएको छ । मुलुकको वर्तमान राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुई शीर्ष नेताबीच छलफल भएको भेटमा सहभागी नेपाल तरुण दलका पूर्व–अध्यक्ष एवं भक्तपुरका कांग्रेस नेता विनोद कायस्थले जानकारी दिनुभयो । फागुन २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा वरिष्ठ नेता पौडेलको चर्चा छ । गत माघ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिजुक्छेसँग भेटवार्ता गर्नुभएको थियो । चाँगुनारायण मन्दिर दर्शनपछि राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेको निवासमै पुगेर भेट गरेपछि राष्ट्रपतिका रूपमा बिजुक्छेको नाम पनि चर्चामा आउन थालेको छ । पौडेलले बिजुक्छेसँग यही चर्चा र कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा साथ सहयोग जुटाउने सम्बन्धमा कुराकानी भएको बताइएको छ ।
संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर संघीयता खारेजी, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा जनमोर्चाका अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री र केन्द्रीय सदस्य घनश्याम न्यौपाने पुग्नुभएको थियो । पार्टी महासचिव मनोज भट्टले गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर १३ बुँदे ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । ज्ञापनपत्रमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवाद तथा सिआइएद्वारा सञ्चालित व्यक्तिलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन तपाईंको सरकारमाथि दबाब परिरहेको छ । त्यसका बाबजुद त्यसप्रकार अवाञ्छित व्यक्तिलाई गृहमन्त्रीको पदजस्तो संवेदनशील जिम्मेवारी नदिन तपाईंले देखाएको अडानको पनि हाम्रो दलले प्रशंसा गर्दछ र त्यसका लागि तपाईं र तपाईंको सरकारलाई धन्यवाद दिन चाहन्छौँ । देशको राष्ट्रियतमाथि गम्भीर खतरा छ । कालापानीसहितको भूभागलाई संसद्भित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलले नेपालको नक्सामा सामेल गर्ने प्रस्ताव पारित गरी त्यसलाई समर्थन गरे पनि अहिलेसम्म उक्त भूभाग भारतीय सेनाको कब्जामा छ ।’ नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमाथि आधारित भए पनि त्यसविपरीत अमेरिकासँग एमसिसी सम्झौता भएकोले सम्झौता खारेजका लागि अविलम्ब पहल गर्न माग गरिएको छ ।
‘राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले राष्ट्रियताको विषयमा कसैसँग सम्झौता नगर्ने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशनसमेत दिनुभएको छ । जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता