म्याग्दी । हालैमात्र भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा राम र सीताको मूर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट लगिएका देव शिला उत्खनन् गरिएको ठाउँमा प्रशस्तै शिलाहरु छन् ।
ती शिलाहरु निकै महत्वपूर्ण शिला रहेछन् भन्नेकुरा पनि सबैलाई थाहा भइसकेको छ । तर,ती शिलाहरुलाई फोडेर ढुङ्गा गिट्टी बनाउन भने अझै रोकिएको छैन ।
अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक श्रापित स्त्री अहिल्या ढुंगा भएकी थिइन् र भगवान श्रीरामको स्पर्शमात्रले उनले पुनः आफ्नो स्वरूपलाई प्राप्त गरेकी थिइन् भन्ने धार्मिक मान्यता छ ।
कालीगण्डकीको एउटा शिला करोडाैं वर्षको प्रतीक्षापश्चात् भगवानश्रीराम बन्न गइरहेको छ । तर, त्यही कालीगण्डकी नदीमा रहेका त्यति नै महत्व भएका अन्य शिलाहरु बजार संरक्षण, तटबन्ध निर्माणलगाएत अन्य विकास निर्माणका बहानामा धमाधम फोडिदै गएकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
बेनी-जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी-गलेश्वर सडकखण्डमा काम गरिरहेको निर्माण ब्यवसायीले कालिगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ ।
हजारौं बर्षदेखि नदीमा जमेर बसिसकेको ढुंगालाई मेसिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारी, पर्खाल नाली, पहिरो रोकथाममा प्रयोग गरिरहेको छ ।
गएको माघ ८ गते बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी-गलेश्वर सडक स्तरोन्नतिको शिलन्यास गर्दा सडक निर्माणस्थलभित्र पर्ने कालिगण्डकी नदीका ढुङ्गा निकाल्न र फोड्न नपाइने बताउनुभएकाे थियाे । तर,सडक निर्माणको जिम्मा लिएको जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले सम्झौता र मापदण्ड बिपरित कालीगण्डकीका विशाल शिलाहरु निकालेर फोडेको र नदीको दोहन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
निर्माण ब्यवसायीले सडक विस्तारमा नदीले धार परिवर्त नगर्ने गरी अनुमति लिएर आसपासका साना ढुंगा प्रयोग गर्ने अनुमति दिइएपनि रातीको समयमा नदीमै स्काभेटरले ढुंगा निकाल्ने गरेको गुनासो आएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा बेनी नगरपालिकाका मेयर सुरत केसीले निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीलाई सचेत गराउनुभएकाे छ ।
“कालिगण्डकीको ढुंगा जथाभावी निकाल्न पाइदैन, हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ” मेयर केसीले भन्नुभयाे ।
मेयर केसीले निर्माण कम्पनीलाई सहज काम गर्ने बातावरण बनाउने बताउँदै कुनै बाहनामा काम रोक्न आउनेलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै संरचना बनाउन अन्यत्रबाट ढुंगा ल्याएर काम गर्न समेत सुझाव दिनुभयाे ।
केही दिन अगाडी भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने भगवान राम र सीताको मूर्ति बनाउनका लागि निर्माणधिन सडकखण्डबाटै दुईवटा शिला लगिएकाले शिला उत्खनन् आसपासका क्षेत्रमा समेत सचेत भएर काम गर्न मेयर केसीले अनुरोध गर्नुभएकाे छ ।
त्यस्तै सडक निर्माणलाई गुणस्तरीय बनाउन ल्याब परीक्षणको प्रक्रियालाई आगामी दिनमा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा मुचुल्का बनाएर काम गर्न समेत प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निर्देशन दिनुभएकाे छ ।
दुई किलोमिटर १ सय २ मिटर सडक कालोपत्रे गर्नका लागि मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट/पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४ सय ३६ रुपैयाँ ठेक्का लिएको थियो । ७ सय २० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित १७ पुसमा सम्झौता गरेको थियो । उक्त जेभीका सञ्चालक सुवासचन्द्र कार्कीले समयभित्रै काम गर्ने योजनासहित करिब ६० जना मजदुर, ३ वटा डोजरलगायतको मेसिन लिएर काम धमाधम काम भइरहेको छ ।
नेपालमै उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणमा काम गर्ने ठेकेदारले नदीलाई डाइभर्सनको बहानामा दोहन गर्ने गरेका छन् । स्काभेटरको प्रयोग गरी नदीको गर्भ खनिरहेको पाइएकाले कडा निगरानी राख्न गरिएको अनुरोधलाई समेत सरकारी निकायले चासो देखाएको छैन् । कालिगण्डकी नियन्त्रण र बेनीबजार संरक्षणको ठेक्का पाएका निर्माण ब्यवसायीले बाहिरबाट ल्याउँदा महंगो हुने भएकाले लुकिछिपी नदी नै दोहन गर्ने गरेका छन् ।
बेनीबजारको माथिल्लो क्षेत्रमा तिब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा हरेक बर्ष कराडौं खर्चिएर निर्माण गरिएको तटबन्धनलाई नै क्षती पुग्ने गरेको छ । नदीको छेउछाउ र बीच भागमा रहेका ठूल्ठूला ढुङ्गा फुटालेर तटबन्धनमा प्रयोग गर्दा म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी जेसीज आसपासका क्षेत्रमा नदी कटानले जोखिम बनेपछि अहिले धमाधम नयाँ संरचना बनाउने काम भइरहेको स्थानीय रामजीप्रसाद सुबेदीले बताउनुभयाे ।
“जोखिम न्यूनिकरणका लागि धेरैपटक सरोकारवाला निकायसँग पुगियो, ठेकेदारको काम गर्ने शैली र सरकारी निकायको बेवास्ताले सधै एउटै समस्या भोग्नुपरेको छ” सुबेदीले भन्नुभयाे ।
ग्याविनजाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने प्रावधानले नदी कटानलाई सघाइरहेको छ । “नदीमा रहेका ढुङ्गाले नदीकोनदीको तीब्र बहावलाई रोक्न सघाउँछन्,नदीको छेउछाउ र बिच भागमा रहेका ठूला-ठूला ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्छ” पूर्वाधार कार्यालयका प्राविधिक रमेश पौडेलले बताउनुभयाे । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने प्राविधिकहरुको भनाइ छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts