सरकारी कार्यालयकै लापरवाहीः मान्दैनन् नगरपालिकाको कानुन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले नयाँ कार्यालय भवन बनाउँदै छ । यस कार्यालयको मुख्य काम भवन संहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर कार्यालयकै भवन नगरपालिकाबाट नक्सा पास नगराई चार तला ठड्याइ सकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन ।

बागलुङ बजारमा अन्य कार्यालय तथा निजी घरहरु धमाधम तीव्र रुपमा निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवन संहिताअनुसार निर्माण गर्नु पर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनहरु भवन संहिता विपरित निर्माण भएको पाइएको छ । कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसारनै भवन निर्माण गरि रहेको जिकिर गर्नुहुन्छ ।

प्रमुख श्रेष्ठ भन्नुहुन्छ- “हाम्रै इन्जिनियरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ, भवनको सबै डकुमेन्ट बनेको छ, सबै ठाउँबाट स्विकृत भएको छ, यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ, भवन निर्माण संहिता र आफ्नै मापदण्ड अनुसार बनाएको हुँदा नक्सा पास गरिएन, यसलाई इस्यु बनाउनु पर्ने आवश्यक छैन ।”

श्रेष्ठले नक्सा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउनुहुन्छ । आफै नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरुलाई दोष लगाउनु उचित नभएको स्थानीय बताउँछन् । बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्सा पास गर्नु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

इन्जिनियर गिरीले सघन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एक पटक पनि जानकारी नगराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- “सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनु पर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्ड अनुसार गर्नु पर्छ, उहाँहरुले अरुलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो ।”

गिरीले कुनै पनि घर भवन बनाउँदा नक्सा पास गरेर मात्रै जग खन्नु पर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्सा पास नगरेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई संचालनमा आएको छ ।

बागलुङ नगरपालिकाले पाँच तलभन्दा माथि भवन बनाउन नपाइने नियम बनाएको छ । तर पछिल्लो समय नियम विपरित तलाहरु थप्ने बढ्दै गएको इन्जिनियर गिरी बताउनुहुन्छ । बजार क्षेत्रमा अहिले करिब १०० घर भवनहरु मापदण्ड विपरित रहेका छन् । उनीहरुलाई नियमानुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा चार हजार घरले नक्सा पास गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज