रुपन्देही । बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको रुपमा पोर्क फेस्टिवललाई लिईएको छ ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको मेलामा पोर्क फेस्टिवल सहित कृषिमा आधुनिक प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल तथा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने मेलाको बारेमा जानकारी गराउन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला मुल समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
गैरनाफामुलक यो मेलामा ५० वटा स्टल रहने छने भने २५ हजार जना अवलोकन कर्ताले अवलोकन गर्ने लक्ष्य लिईएको छ । कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको बताउनु भयो । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने छ । खाने प्रबृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मेलामा १३ वटा स्टल पोर्क फेस्टिवलको लागि छुट्याईएको छ । जसमा ९ प्रकारका चाईनिज सहित बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सुर्यवंसीले जानकारी गराउनु भयो ।
त्यस्तै कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यसैगरी ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रदर्शन गरिने कृषि मेला समन्वय समितिका संयोजक बसन्तप्रसाद ढकालले बताउनु भयो ।
मेलामा कृषि, खाद्य प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कृषि सेवा, फलफूलका बिरुवा तथा जानकारी, मत्स्य तथा पशुपालन सम्बन्धि जानकारी एवं परामर्श प्रदान गर्ने छन् । कृषिको व्यवसायिक विकासको लागि मन्त्रालयले निजी क्षेत्रसंग सहकार्य गरेर मेला आयोजना गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लोकराज भुसालले बताउनु भयो ।
कृषिमा व्यवसायीकरण, प्रबिधिको पहुंचमा बृद्धि तथा कृषक स्तरमा सूचना तथा जानकारी पु¥याउनुको साथै नीतिगत सुधारको लागि पहल स्वरुप बिभिन्न बिषयगत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनु भयो ।
मुलुकको आर्थिक विकासको प्रमुख आधार मानिने कृषि क्षेत्रको विकासका लागि यस्ता मेला फलदायी हुने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । उहाँले यो मेलामा सञ्चारजगतको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराउनु भयो ।
कृषि मेला सञ्चालनको लागि तयारीका कामहरु अन्तिम चरणमा पुगेको संघकी कार्यसमिति सदस्य तथा प्रचारप्रसार समितिकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो ।
संघले आयोजना गरेको यो एघारौं संस्करणको कृषि मेला हो । यस विचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलता पूर्वक सम्पन्न गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराउनु भयो ।
नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा