नवराज शिवाकोटी/हिटा
दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १० जिल्लामा प्रदेशको एकीकृत सेवाकेन्द्र खोल्ने बताउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
संघीय संरचनामा देश गएपछि कतिपय प्रदेश स्तरीय कार्यालयहरू अन्य जिल्लामा स्थानान्तरण भएका कारण संघीयतामा जनताका लागि सेवासुविधा लिन महँगो परेको गुनासो आएकाले आगामी आर्थिक वर्षबाट प्रदेशका १० जिल्लामा एकीकृत सेवा कार्यालय खोलिने बताउनुभयो । काठमाडौं उपत्यकाभित्र भने तीन जिल्ला हेर्नगरी एउटै सेवा केन्द्र राखिने उहाँको भनाइ थियो । एकीकृत सेवा कार्यालय खुलेपछि सामान्य कामका लागि पनि अर्को जिल्ला धाउनुपर्ने समस्याको अन्त्य हुने मुख्य मन्त्रीले बताउनुभयो । पत्रकारहरूलाई सामाजिक सुरक्षाकोषमा सहभागिता जनाउन आग्रह गर्दै उहाँले पेसाकर्मीहरूका लागि यो अति आवश्यक रहेको बताउनुभयो । लोकतन्त्र तथा गणतन्त्रको संस्थागत विकासमा पत्रकारहरूको ठूलो योगदान रहेको उक्त अवसरमा उहाँले बताउनुभएको थियो ।
यसैगरी, साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाराम श्रेष्ठले पत्रकार दुर्घटना बिमा कार्यक्रमलाई अगाडि बढाइने बताउनुभयो । अनलाईन सञ्चारमाध्यमका समस्या समाधान गर्न गृहकार्य भइरहेको उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विकासका योजना निर्माण गर्दा मिडियालाई पनि सहभागी बनाउन आग्रह गर्नुभयो । पत्रकारले कसैको देवत्वकरण गर्ने वा कसैलाई खुइल्याउने काम नगरी पिछडिएका वर्ग र क्षेत्रका समस्या उजागर गर्नेतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । साधारणसभाको उद्घाटन समारोह नेपाल पत्रकार संघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाको सभापतित्वमा समपन्न भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts