कैलालीमा पनि मापसे कक्षा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । कैलाली जिल्ला ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने चालकलाई जरिवानासँगै ट्राफिक कक्षा पनि अनिवार्य गर्न थालेको छ । जथाभावी सडक काट्ने, लेन अनुशासन पालन नगर्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई जरिवानासँगै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम लागू गरिएको छ ।

सचेतनात्मक कार्यक्रम सञ्चालन गरेर दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले पहिलो चरणमा दुईवटा कसुरमा एक घण्टा कक्षा सुरु गरिएको हो । यस्तो प्रावधान ट्राफिक प्रहरीले उपत्यकामा लागू गरेको छ भने सुदूरपश्चिममै कैलालीमा पहिलोपटक अनुशासन पालनासम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन हुन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य ट्राफिक युनिटले ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति रोक्न हरेक हप्ता शुक्रबार एक घण्टाको ट्राफिक सचेतना कक्षा चलाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभयो ।

ADVERTISEMENT

गत सोमबारदेखि जिल्ला ट्राफिक प्रहरीले लेन अनुशासन पालन नगर्ने र मापसे गरेर सवारी हाँक्ने १५ जनालाई ट्राफिक सचेतना कक्षा दिएको छ । ‘हामीले ट्राफिक प्रहरीले गर्नुपर्ने नियमित कामअन्तर्गत ट्राफिक व्यवस्थापनमा काम गरिरहेको अवस्था हो,’ उहाँले भन्नुभयो, ‘गत सोमबारदेखि मापसे गरेर सवारी चलाउने र लेन अनुशासन पालन नगर्ने सवारी चालकहरूलाई एक घण्टाको ट्राफिक सचेतना कक्षा दिन सुरु गरेका छौँ ।’ धनगढीमा सबैभन्दा बढी ६ लेन सडकमा ट्राफिक नियमको उल्लंघन हुने गरेको ट्राफिक प्रहरीले बताएको छ ।

चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियमबारे जानकारी गराउन, सडक सभ्यता अभिवृद्धि गराउन र सडकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको कैलाली ट्राफिक प्रहरी प्रमुख जोहारीले बताउनुभयो । लेन अनुशासन पालन नगर्दा सवारी आवागमनमा बाधा पुग्ने, दुर्घटनाको जोखिम बढ्ने, सडक अस्तव्यस्त हुने, अन्य आवश्यक सवारी साधनहरूलाई पनि जाममा बस्नुपर्ने अवस्था आउने भएकाले लेन अनुशासनको पालन गर्नु हरेक नागरिकको कर्तव्य भएको ट्राफिक प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज